करण केसीको ह्याट्रिक विकेट, नेपाल फाइनलमा

0Shares

 पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ ।

ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र डेब्यूटान्ट खेलाडी आदिल अन्सारी र बलिङतर्फ करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी-२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक विकेट हो ।

सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकपमा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको यो ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल हो । ऐतिहासिक खेलमा नेपालले शानदार जित हात पार्दै एक खेल अगावै श्रृंखलाको फाइनलमा समेत स्थान बनायो ।

नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

लगातार तीन खेल हारेको पीएनजीको भने फाइनल पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । पीएनजीले शुक्रबार मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने सम्भावना कायम राख्न पीएनजीले मलेसियालाई हरानुपर्नेछ । नेपालले लिगको अन्तिम खेल शनिवार मलेसियासँग खेल्नेछ ।

नेपालली बलरले उत्कृष्ट प्रदर्शन गर्दा २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा १६६ रनमा अलआउट भयो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए । यस्तै टोनी उराले ४३ र सेस बाउले २५ रन जोडे ।

नयाँ बल बलिङ गरेका करण केसीले उत्कृष्ट बलिङ गर्दा लक्ष्य पछ्याउने क्रममा पीएनजीले दुवै ओपनरलाई व्यक्तिगत एक रनमा गुमायो । लेगा सिएकालाई पहिलो ओभरमा करण केसीले आसिफ शेखबाट क्याचआउट गराए ।

यो विकेटसँगै करणले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । यस्तै तेस्रो ओभरमा कप्तान असद भालालाई पनि करणले सोमपाल कामीबाट क्याचआउट गराउँदा पीएनजीले १३ ओभरमा २ विकेट गुमायो ।

त्यसपछि चार्ल्स अमिनी र टोनी उराले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे । सोमपाल कामीले यो साझेदारी तोड्दै दुवैलाई आउट गरे ।

सोमपालले १२औं ओभरामा ४३ रन बनाएका उरालाई आउट गरे । त्यसपछि १४औं ओभरमा अमिनीलाई आउट गरे । दुवैलाई कुशल भुर्तेलबाट क्याचआउट गराए । अमिनीले ४७ बल खेल्दै ९ चौका प्रहार गरे ।

त्यसपछि नोर्मन भानुअ र सेस बाउले पीएनजीको इनिङ्सलाई अघि बढाएका थिए । तर १८औं ओभरमा अविनाश बोहराले दुवैलाई आउट गरेपछि पीएनजीले १५८ रनमा ६ विकेट गुमायो ।

अविनाशले १७ रन बनाएका भानुअलाई उक्त ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए भने तेस्रो ओभरमा बाउलाई बोल्ड गरे ।

रिले हेकुरे ७ रन बनाएर १९औं ओभरको अन्तिम बलमा बउट भए । उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले करण केसीबाट क्याचआउट गराए ।

यस्तै अन्तिम ओभरमा करणले ह्याट्रिक विकेट लिए । उनले उक्त ओभरको दोस्रो २ रन बनाएका चाड सपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । यस्तै तेस्रो बलमा सिमोन अटाइलाई बोल्ड गरे । चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्रबाट क्याचआउट गराए ।

बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । सोमपाल कामी र अविनाश बोहराले ४ ओभरमा समान ३४ रन खर्चेर २-२ विकेट लिए । यस्तै कप्तान सन्दीपले १ विकेट लिन ४ ओभरमा ३७ रन खर्चिए ।

त्यसअघि दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेपछि नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले ३३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । यसै खेलबाट टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले आक्रमक ब्याटिङ गर्दै ३१ रन बनाए । उनले ११ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्रले १९औं ओभरको अन्तिम बलमा आउट हनुअघि ४ ओभर ४ बलमा आदिल अन्सारीसँग मिलेर ७६ रनको साझेदारी गरेका थिए । यस्तै रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जोडे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । तर सातौं ओभरको दोस्रो बलमै उक्त साझेदारी तोडियो । कुशल भुर्तेल २० बलमा १७ रन बनाएर आउट भए ।

आसिफ शेख दशौं ओभरमा आउट भए । आसिफले २९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । त्यसपछि रोहित पौडेल र दीपेन्द्रले नेपालको इनिङ्स अघि बढाए ।

तेस्रो विकेटका लागि दीपेन्द्र र रोहितले ५१ रनको साझेदारी गरे । रोहितले २३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए ।

चौथो विकेटका लागि दीपेन्द्र र आदिल अन्सारीले ७६ रनको साझेदारी गरे । दीपेन्द्र १९औं र आदिल २०औं ओभरमा आउट भए । १९औं ओभरमा ३२ रन जोडेको नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ४ रन मात्र जोडेको थियो ।

बलिङमा पीएनजीका कबुअ मोरेअले ३, रिले हेकुरेले २ नोर्मन भानुअले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *