लघुवित्त कर्मचारी छनोट, सरुवा र बढुवामा राष्ट्र बैंकले तोक्यो मापदण्ड

0Shares

लघुवित्त कर्मचारी छनोट, सरुवा र बढुवामा राष्ट्र बैंकले तोक्यो मापदण्ड

थाङमिचागु डटकम संवाददाता

१३ साउन, काठमाडौंं । नेपाल राष्ट्र बैंकले लघुवित्तका कर्मचारी छनोट, सरुवा र बढुवा, पदस्थापन र मूल्यांकनमा मापदण्ड तोकेको छ ।

लघुवित्त कर्मचारीको क्षमता र उनीहरूले ऋणीलाई गर्ने व्यवहारमा प्रश्न उठेपछि केन्द्रीय बैंकले कर्मचारी सम्बन्धी मापदण्ड नै तोकिदिएको हो ।

राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘शाखा व्यवस्थापक वा त्यसभन्दा माथिको कर्मचारी भर्ना गर्दा उक्त कर्मचारीको विगतको पृष्ठभूमि विश्लेषण गरेरमात्र नियुक्त गर्नुपर्ने तथा निश्चित तालिम एवम् कार्यानुभवका आधारमा मात्र पदोन्नति र जिम्मेवारी दिनुपर्ने छ,’ संशोधित निर्देशिकामा छ, ‘लघुवित्तले ‘नो योर इम्प्लोई’ को प्रयोग सम्बन्धी व्यवस्था गर्नुपर्ने छ ।’

यस्तै लघुवित्तले कर्मचारी छनोट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिम लगायत सम्बन्धित सर्टिफिकेसन कोर्स लिएको भए त्यस्तो विशेष योग्यतालाई समेत आधारका रूपमा लिन निर्देशन दिएको छ ।

संस्थाले व्यवस्थापकीय तहका कर्मचारीलाई स्पष्ट कार्यविवरण उपलब्ध गराउनुपर्ने र त्यसको मूल्यांकन समय–समयमा गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

लघुवित्त संस्थाले सञ्चालकहरूलाई लघुवित्तको आधारभूत र सैद्धान्तिक विषय समेटी आफ्ना सबै सञ्चालकलाई आवश्यकता अनुसार अभिमुखीकरण/पुनर्ताजगी गराउने व्यवस्था मिलाउन सक्ने भएको छ ।

‘संस्थाले आफ्नो सञ्चालकहरूको तीन पुस्ते सहित लगत विवरण तथा सञ्चालकहरूको एकाघर परिवारको विवरण तयार गरी अद्यावधिक गरी राख्नुपर्ने छ,’ केन्द्रीय बैंकले संशोधन गरेको निर्देशिकामा छ, ‘लघुवित्त वित्तीय संस्थाले वार्षिक रूपमा संस्थागत सुशासन प्रतिवेदन तयार गरी सार्वजनिक जानकारीका लागि आफ्नो वेबसाइटमा राख्नुपर्ने छ ।’

लघुवित्त राष्ट्र बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *