कांग्रेसभित्रै भएको आन्तरिक विवादका कारण मन्त्रीमण्डलमा सहभागी हुन केही दिन लाग्ने देखिएको हो । 

0Shares

कांग्रेसभित्रै भएको आन्तरिक विवादका कारण मन्त्रीमण्डलमा सहभागी हुन केही दिन लाग्ने देखिएको हो । 

थाङ्मीचागु डटकम संवाददाता
शुक्रबार, ११ साउन २०८१
विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुन केही दिन लाग्ने देखिएको छ । कांग्रेसभित्रै भएको आन्तरिक विवादका कारण मन्त्रीमण्डलमा सहभागी हुन केही दिन लाग्ने देखिएको हो । 

प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरुले आजै राजीनामा दिने तयारी गरेका छन् । साथै माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । माओवादी सरकारबाट बाहिरिने भएसँगै सरकारमा जान कांग्रेसलाई बाटो खुलेको छ । 

सरकारमा माओवादीले भौतिक पूर्वाधार मन्त्रालयमा गणेशप्रसाद उप्रेती, स्वास्थ्य मन्त्रालयमा राजेन्द्रकुमार कार्की र पर्यटन वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर लिएर सहभागी भएको थियो । थप एकजना बन्दना झाँगर पर्यटन वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री छन् । 

माओवादी बाहिरिने भएसँगै सो पार्टीले लिएको तीन वटा मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय लिएर सरकारमा आउन कांग्रेसलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आग्रह गरिसकेका छन् । 

‘हाम्रो (कांग्रेस–एमालेको) करिब–करिब सहमति भइसकेको छ । कांग्रेसभित्रै कुरा मिल्न बाँकी छ । भागबण्डा टुंगो लागिसकेको जस्तै हो । आलोपालो सहमति हुन्छ,’ कांग्रेस संसदीय दलका नेता उद्धब थापाले भने,  ‘मन्त्रालयमा ४ वटा कांग्रेसले लिने भन्ने कुरा भएको छ । कुन–कुन मन्त्रालय भन्ने कुराको टुंगो भने लागिसकेको छैन । त्यो पनि एउटा छलफल गर्ने वित्तिकै टुंगो लाग्छ । नमिलेको भनेको हाम्रै पार्टीभित्र हो ।’

संविधानको धारा १६८ (५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी बाहिरिएर कांग्रेस सरकारमा सहभागी हुने भएसँगै मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस र जसपाको गरी ६९ सांसदको समर्थन हुने भएको छ ।

कोशी प्रदेशनेपाली कांग्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *