रवि लामिछानेमाथि खनिए मुकुल

0Shares

रवि लामिछानेमाथि खनिए मुकुल
राहदानी र सहकारी ठगीमा पार्टीभित्रैबाट छानबिन गर्न माग

थाङमिचागु डटकम संवाददाता

२६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने बताए ।

करिब ४५ मिनेट एकतर्फी बोलेका र अन्तिममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिई हिँडेका मुकुलले विगतमा आफूले रवि लामिछानेको हरेक कदमको बचाउ गर्ने गरेको र पछिल्लो समय सम्बन्ध बिग्रेको पनि खुलाए ।

सरकारको आलोचना गरेपछि सम्बन्ध बिग्रियो

ढकालले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएकाहरुको समीक्षा गर्नुपर्ने विषय उठाएपछि लामिछानेसँग विवाद भएको बताए ।

‘मूल विवाद भनेको सरकारले काम गर्न सकेन, अक्षम हुनुभयो, यो अक्षमता किन हो, जनताका अगाडि आत्मआलोचना गरेर अगाडि बढौं, हामीले चाहदाचाहँदै पनि केही कुराहरु भएनन्, कर्मचारीतन्त्रले दिएनदेखि धेरै कुरा छ, सबै कुरा खुलमखुला भनौं, लाइभ गरौं अब पारदर्शी बनौं भन्दा उहाँले गृह मन्त्रालयले जति काम त कसैले गरेको छैन, यो देशको सबैभन्दा सफल गृहमन्त्रीका रुपमा आफू उपस्थित भएको छु भन्ने दाबी गर्नुभयो, त्यो दाबी मलाई चित्त बुझेन’, ढकालले भने ।

आफूले पहिलो पटक रवि लामिछानेलाई प्रश्न गर्दा कारबाही भएको भन्दै उनले भने, ‘उहाँले जुन व्यवहार देखाउनुभयो, त्यो सबैका सामु स्पष्टै छ ।’

पार्टी सुधारको आवश्यकता रहेको औंल्याएपछि सभापति लामिछानेले आफू निकटका व्यक्तिहरु परिचालित गरेको उनले आरोप लगाए । सहकोषाध्यक्ष दीपक बोहरा, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य ज्वाला संग्रौला लगायतलाई सभापति लामिछानेले आफूविरुद्ध परिचालन गरेको आरोप लगाए । ‘मुकुल ढकाल रवि लामिछानेको विरुद्धमा गयो भन्ने भाष्य बनाइयो । सभापतिलाई भेट्न आग्रह गरें मान्नुभएन’ ढकालले भने ।

लामिछानेमाथि पार्टीभित्रै छानबिन हुनुपर्छ

ढकालले राहदानी र सहकारी ठगी प्रकरणमा लामिछानेमाथि पार्टीभित्रैबाट छानबिन हुनुपर्ने बताए । गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले सहकारी प्रकरणमा लामिछानेमाथि छानबिन हुनुपर्ने राय दिएको भन्दै उनले रास्वपाले पनि सर्वोच्चको आदेश अनुसार छानबिन गर्नुपर्ने बताए ।

‘हिजोको दिनसम्म कुनै जाहेरी उजुरी परेको छैन भन्ने दाबी थियो, हामीले स्वीकार गरेका थियौं, अहिले सम्मानित अदालतले भनिसकेको अवस्थामा अब पार्टीभित्रबाट पनि छानबिन समिति बन्ने कि नबन्ने ? सर्वोच्चको आदेश अनुसार पार्टी भित्रबाट स्वतन्त्र उच्चस्तरीय छानबिन हुनुपर्‍यो’, उनले भने ।

लामिछानेमाथि दोहोरो राहदानीका विषयमा पनि पार्टीभित्रबाट छानबिन हुनुपर्ने उनको भनाइ छ । ‘पासपोर्टमा दोषी भए उहाँले कहिले पनि चुनाव लड्न पाउनुहुन्न, यो पार्टीको जीवनसँग जोडिएको विषय हो, त्यसैले यसमा छानबिन हुनुपर्छ’, उनले भने ।

रविलाई प्रचण्ड, ओली र देउवा शैली मनपर्छ

मुकुलले सभापति लामिछानेमा पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मन पर्न थालेको बताए ।

उनीहरुको शैली मन पर्ने व्यक्तिलाई आफ्नो शैली बालापन लाग्नु स्वभाविक भएको बताए ।

पार्टी बैठकमा देखाएको व्यवहारलाई बालापन भन्नेले २० असारमा बालुवाटार सभापति रवि लामिछाने र अरु मन्त्रीहरुले देखाएको शैली हेर्नुपर्ने बताए । त्यस दिन रास्वपाका मन्त्रीहरुको राजीनामा बुझाउन सभापति लामिछाने, उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार बालुवाटार पुगेका थिए । तर राजीनामा नदिई फर्किनुलाई मुकुलले बालापनको संज्ञा दिए । ‘प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने मान्छेलाई मुकुल ढकालको शैली बालापन लाग्न सक्छ । बालापन लागोस् मलाई मतलब छैन’, ढकालले भने ।

‘प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने मान्छेलाई मुकुल ढकालको शैली बालापन लाग्न सक्छ । बालापन लागोस् मलाई मतलब छैन’ मुकुल ढकाल
सभापति लामिछाने अझैपनि सरकारमा टिकिराख्न सकिन्छ कि भनेर राजीनामा नदिई बसेको ढकालको निष्कर्ष छ । संविधानको धारा ७६ उपधारा ३ को सरकार बन्ने र उक्त सरकारमा जान पाइएला भन्ने अपेक्षा सभापति लामिछाने रहेको उनले बताए । ढकालले भने, ‘देउवाको नेतृत्वमा ३ अनुसार सरकार बन्ला र सुटुक्क जान पाइएला भनेर बस्नुभएको छ ।’

सभापति लामिछानेले आफूले कहिल्यै गल्ती नगर्ने भाष्य रास्वपाभित्र सिर्जना गर्न खोजेको बताए । ग्यालेक्सी टीभीमा छँदा भएको सहकारीको रकम अपचलनमा अध्यक्ष जीबी राईलाई दोषी देखाएको र रास्वपाभित्र महामन्त्रीलाई दोषी देखाएको उनले बताए ।

डीपीको हिसाब किताब अपारदर्शी

पार्टीभित्र आर्थिक अनुशासनको विषयमा पनि विगतमा आफू चुप लागेको ढकालले बताए । पार्टी घोषणा गर्दा निश्चित अवधिमा पार्टीको हिसाब किताब सार्वजनिक गर्ने भनिएको तर त्यस अनुसार काम नभएको उनले बताए ।

आर्थिक व्यवस्थापनको जिम्मा उपसभापति डीपी अर्यालको रहेको आफूले बेला बेलामा कुरा गर्दा ऋण छ भन्ने गरिएको बताए । ऋण लिन केन्द्रीय समितिको निर्णय चाहिने भए पनि त्यसलाई पालना नगरिएको र अहिलेसम्म हिसाब नदेखाएको उनको भनाइ छ ।

‘साथीहरुले दिएको पैसा पार्टीमा जम्मा नगरी सिधै आफ्नो खल्तीमा राख्ने काम गर्नुभयो, ऋण तिर्नुपर्छ भन्नुभयो’, ढकालले उपसभापति अर्यालबारे भने ।

पुनरावेदन निवेदन नदिने

ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही वैधानिक नभएको बताए । केन्द्रीय समितिले गत बुधबार निलम्बनको निर्णय गर्दा आफूलाई स्पष्टीकरणको मौका नदिएको भन्दै उनले यो अवैधानिक भएको बताए ।

आफू अझै महामन्त्रीको कुर्सीमा बस्न सक्ने भन्दै उनले तर यो राजनीतिक विषय भएकाले राजनीतिक ढंगले नै स्वीकार गर्ने जिकिर गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई रबि क्लबले हाइज्याक गरेको उनले आरोप लगाए । अनुशासन आयोगको कार्यशैलीलाई लिएर आफूले प्रश्न उठाउँदा त्यही निकायले स्पष्टीकरण सोध्नु प्रतिशोधपूर्ण व्यवहार भएको ढकालको जिकिर छ । ढकालले दाबी गरे, ‘रास्वपाबाट मलाई महामन्त्री हटाइएको छैन । रबि क्लबबाट हटाइएको हो ।’

मंगलबारको केन्द्रीय समिति बैठकले मुकुललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउनुका साथै कारबाहीको निर्णयमा पुनरावेदन दिन ३५ दिनको समय दिएको छ ।

बुधबार पत्रकार सम्मेलनमा ढकालले पुनरावेदन दिने वा नदिनेबारे केही बोलेनन् । अनलाइनखबरसँग कुरा गर्दै उनले पार्टीले गरेको कारबाही अवैधानिक भएकाले पुनरावेदन नदिने बताए ।

मुकुलले आफ्नो आगामी यात्राबारे जनतासँग नै छलफल गर्ने भन्दै प्रस्ताव यात्रा गर्ने बताएका छन् ।

रवि काठमाडौंको मेयरमा उठ्न डराए

ढकालले रविसँग कालीकोटको रास्कोट अस्पताल बनाउने क्रममा सहकार्य सुरु भएको बताए । सञ्चारकर्मीका रुपमा रविको लोकप्रियतालाई उपयोग गर्ने गरी कालीकोटमा अस्पताल खोल्न सहयोग मागेको उनले बताए । ‘उहाँलाई जनताको अपार समर्थन देखेपछि सिधा कुरा जनतासँगमा गएर रविलाई भेटेर तपाईको नाम बेचेर यो अस्पताल बनाउँछु भनेँ’, उनले भने ।

अस्पताल निर्माण सकिएलगत्तै दुई जनाको सल्लाहमा पार्टी गठन गरेको उनले बताए । पार्टी निर्माणको पहिलो बैठकमा लामिछाने र आफूसँगै डीपी अर्याल, विपिन आचार्य, खुश्बु सरकार श्रेष्ठ र निकिता पौडेल लामिछाने सहभागी रहेको उनले बताए ।

काठमाडौंको मेयरको उम्मेदवारमा लामिछाने उठ्ने गरी तयारीको खाका आफूले कोरेपनि उनी उठ्न हिम्मत नगरेको ढकालले सुनाए ।

लामिछानेले मेयरमा उठ्न आँट नगरेपछि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई अप्रत्यक्ष रुपमा सहयोग गरिएको ढकालको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *