एमालेलाई ०८४ कुर्नु नपरेको

0Shares

एमालेलाई ०८४ कुर्नु नपरेको

थाङमिचागु डटकम संवाददाता

२५ असार, काठमाडौं । नेपाली कांग्रेससँग पहिलो दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी गतिविधि थप बाक्लो बनाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यको सहमति गरेको भोलिपल्टै, १८ असारमा ओलीले सचिवालय बैठक राखेका थिए । त्यहाँ देउवासँग जुटेको सहमति र प्रधानमन्त्री प्रचण्डसँग सम्बन्ध तोड्नुपर्ने कारणबारे ब्रिफिङ गरेका थिए ।

त्यही बैठकबाट प्रचण्डलाई पदबाट राजीनामा दिन एमालेले आह्वान गरेको थियो । प्रचण्डले भने संसदको सामना गर्ने निर्णय लिएपछि १९ असारमै एमालेले समर्थन फिर्ता लिएको छ । एमाले बाहिरिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि समर्थन फिर्ता लिएको छ ।

एमाले र जसपा बाहिरिएकाले अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले २८ असारमा संसदमा विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्नेछ । अर्थात् तीन वर्षपछि ओली फेरि मुलुकको नेतृत्व गर्ने तयारीमा छन् । ‘हामी त एकल बहुमतको सरकार बनाउने उद्देश्यसहित मिसन–०८४ को संकल्पमा थियौं, तर मुलुकमा उत्पन्न परिस्थितिका कारण एमालेले नेतृत्व लिनुपरेको हो’, एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरे भन्छन् ।

तीन वर्ष अगाडि, २८ असार २०७८ मा सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै ओली पदमुक्त भएर बालकोट फर्किएका थिए । त्यसबेला ओलीले जनादेश लिएर फेरि सिंहदरबार फर्कने घोषणा गरेका थिए ।

तर ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर भाग लिएको २०७९ मंसिरको चुनावमा एमाले दोस्रो दलमा खुम्चियो । २०७४ सालको चुनाव भन्दा ४२ सिट कम जित्दै ७९ सिटमा पार्टी खुम्चिएपछि एमालेले मिसन–०८४ को संकल्प लिएको थियो ।

त्यो संकल्पबारे एमाले पंक्ति प्रष्ट थियो– आगामी संसदीय चुनाव–०८४ मा एकल बहुमत ल्याउने र सरकारको नेतृत्व गर्ने ।

किनकी राजनीतिक पृष्ठभूमि पनि संसदको यही कार्यकालमा प्रधानमन्त्री बन्ने सम्भावना कमजोर थियो । त्यसैले एमालेले ०८४ मा एकल बहुमत ल्याउने लक्ष्यका साथ संगठन निर्माणलाई प्राथमिकतामा राख्यो । जसको थालनी २०७९ फागुनदेखि चलेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानबाट भएको थियो ।

मिसन ग्रासरुटलाई एमालेले समस्या पहिचान गर्ने उद्देश्यले सञ्चालन गरेको थियो । सम्पूर्ण पार्टी पंक्ति त्यो अभियानमा खटिएको थियो । र, त्यही अभियानबाट प्राप्त सुझाव कार्यान्वयन गर्न २०८० असारदेखि एक वर्ष विशेष अभियान सुरु भयो ।

व्यापक जिम्मेवारी हेरफेरसहित फरक भूगोलमा नेताहरु परिचालित भएर सञ्चालित अभियान अहिले पनि चलिरहेकै छ । ‘हामी एक वर्षे अभियानको अन्तिम चरणमा छौं । यो अवधिमा एमाले इतिहासमै पहिलोपटक व्यवस्थित बनेको निष्कर्ष छ’, अर्का पोलिट्ब्यूरो सदस्य विशाल भट्टराई भन्छन् ।

गुमेको लय फर्काउने मात्र नभएर अहिलेको समयअनुसार चल्ने संगठन बनाउन सकेको उनको दाबी छ । ‘सदस्यता नवीकरण र अभिलेख फेरि लयमा आएको छ, संगठनहरु व्यवस्थित भएका छन्’, भट्टराई भन्छन्, ‘जनसंगठनहरुदेखि भूगोलका तल्ला कमिटीहरुमा समेत निर्वाचित नेतृत्व आएका छन् ।’

मिसन–०८४ कै अभियान अन्तर्गत राखेर एमालेले यो अवधिमा प्रदेशदेखि वडासम्मको अधिवेशन गरेको छ । अधिकांश प्रदेशको नेतृत्व प्रतिनिधिहरुको मत विभाजनबाट भयो ।

लगभग सबै जनसंगठनमा नयाँ नेतृत्व आयो । ‘अधिकांश जिल्ला अधिवेशनहरुबाट नयाँ नेतृत्व आएको देखिन्छ’, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी भन्छन् ।

एमालेले मिसन–०८४ सँगै जोडेर मध्यपहाडी संकल्प यात्रा गरेको थियो भने मधेश केन्द्रित अर्को यात्राको तयारी गरिरहेको छ । यी सबै गतिविधि एमालेले आगामी चुनावबाट एकल बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने उद्देश्यले नै गरिरहेको छ ।

मध्यपहाडी संकल्प यात्राका क्रममा पोखरामा केपी शर्मा ओली ।
सकेसम्म धेरै कार्यक्रममा स्वयं ओली सहभागी हुनुले पनि आगामी चुनावलाई एमालेले प्राथमिकता दिएको सहज बुझ्न सकिन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *