गाउँ जोगाउन लगाइएको पर्खाल भत्कियो, ताल गाउँ बाढीको जोखिममा

0Shares

गाउँ जोगाउन लगाइएको पर्खाल भत्कियो, ताल गाउँ बाढीको जोखिममा

थाङमिचागु डटकम संवाददाता

०७८ मा मनाङको ताल गाउँमा मर्स्याङ्दीमा आएको बाढीले पुर्‍याएको क्षति । फाइल फोटो ।
२५ असार, मनाङ । अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पुर्‍याएको छ । नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको मेसिनरी पर्खाल आज बिहान भत्किएको छ ।

मर्स्याङ्दी किनारमा रहेको उक्त गाउँमा २०७८ जेठ १४, २९ र असार १ मा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो । बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो । उक्त पर्खाल लगाएको तीन वर्षपछि आज भत्किएको हो ।

उक्त क्षेत्रमा मर्स्याङ्दी नदीको बाढीको वेग सिधा पर्ने र प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।  मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले गाउँको माथिल्लो क्षेत्र तथा गाउँमा बाढी पस्ने ठाउँमा लगाइएको पर्खाल भत्किएको जानकारी दिए ।

लामिछानेका अनुसार नदीको बहाव बढेमा पर्खालमा अझ बढी क्षति पुग्नसक्ने जोखिम छ । ‘पहिला जोखिमबाट गाउँलाई जोगाउनु प्रमुख थियो । त्यसैले तत्कालका लागि पक्की बनाउने गरी बेस बनाउन सकेनौँ अहिले पर्खाल भत्किन पुगेको छ’, उनले भने ।

अहिलेको जोखिमलाई रोक्ने र बस्तीलाई सुरक्षित बनाउन स्थानीय तथा प्रहरीको सहयोगमा पर्खाल मर्मतको काम भइरहेको प्रजिअ लामिछानेले बताए । मनसुनको सुरुआतमा नै क्षति व्यहोरेको मनाङमा वर्षा बढी भएमा अझै उक्त क्षेत्र अझै जोखिम बढ्नसक्ने उनको भनाइ छ ।

अझै खुलेन बेँशीसहर–चामे बाटो

असार १७ गते अविरल वर्षा भएपछि १८ गते चामे गाउँपालिका–१ तिमाङ झरनामा बाढीसँगै आएको ढुङ्गा तथा गेग्रानले मोटरेवल पुलमा क्षति पुगेको थियो । मोटरेवल पुलमा क्षति भएपछि पूर्णरुपमा डुम्रे–बेँशीसहर–चामे सडक अवरुद्ध छ ।

त्यस्तै लघु जलविद्युत् नजिकैको तिमाङ खोलाले काठेपुल बगाउँदा आवतजावत गर्ने एक मात्र सडक अवरुद्ध छ । यहाँको मोटरेवल पुल तथा काठेपुल भत्किँदा तल्लो मनाङका स्थानीय सदरमुकाम आवतजावत गर्नसक्ने अवस्था नरहेको प्रजिअ लामिछानेले बताए ।

‘वर्षा कम र झरनाको बाढी कम भएपछि मात्रै मर्मत तथा निर्माण थाल्ने अवस्था छ । यसको मर्मत तथा निर्माणका लागि चाइना कम्पनीले सहयोग गर्ने मौखिक प्रतिबद्धता जनाएको छ’, उनले भने । मौसममा सुधार भएपछि काम सुरु गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *