नेपालीको आयु थोरै भएकाले बृद्ध भत्ताको उमेर घटाइएको हो’

0Shares

अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताए। शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिदैं अर्थमन्त्री शर्माले १५ औं आवधिक योजनामा औसत आयु ६९ वर्ष रहेको भन्दै त्यसैकारण सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका हुन्।

उनले भने, ‘नेपालको १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष नेपालको औसत आयु ६९ वर्ष छ। एउटा तल्लो वर्ग छ। उसको आयु कम नै हुने गरेको छ। त्यसलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको हो।’

यस्तै मन्त्री शर्माले यसवर्ष मलका लागि बजेटको अभाव हुन नदिने बताए। उनले भने, ‘१५ अर्ब थप बजेट विनियोजन गरिएको छ। आगामी वर्ष मल अभाव हुन दिदैनौं।’ पेट्रोलको विकल्पमा क्लीन इनर्जीलाई बढुवा दिने सरकारको योजना रहेको बताए। गरिबीमा रहेका व्यक्तिहरुलाई रोजगारी दिने, उद्यमशीलता बनाइने बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउन कृषि उत्पादनसंग जोड्ने सरकारको तयारी रहेको बताए। ८ लाख गरिबलाई गरिबीको रेखामुनिबाट बाहिर ल्याउने, आयात प्रतिस्थापन गर्न उपभोग्य वस्तु उत्पादनमा बृद्धि गर्ने र आयातमा क्रमश: कटौती गरिने बताए।

अर्थमन्त्री शर्माले भने, ‘यहाँ कुनैपनि संस्थानहरुलाई बिक्री गर्ने, लिलाम गर्ने भनिएको छैन। त्यसको मुल्याकंन गरेर सञ्चालन गर्नुपर्छ। सञ्चालन गर्नका लागि सरकारको स्वामित्वमा राखेर कसरी सञ्चालन गर्न सकिन्छ।

कसरी व्यवस्थापकिय ढंगले सकिन्छ वा सरकार आफैले सक्छ कुन विधिमा जाने भन्ने नै हो।’ यस्तै अर्थमन्त्री शर्माले बजेटमा यसअघिका योजना नकाटिएको पनि बताए। अन्नपूर्ण पोस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *