भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

0Shares

भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

थाङमिचागु डटकम संवाददाता

२० असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी ६२ वर्षीय बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न बिहीबार अदालतमा हाजिर गराएको थियो ।

त्यसक्रममा अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए ।

झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर गएको शुक्रबार नेपाल ल्याएको थियो ।

पहिले अनुसन्धान हुँदा ठेगाना नखुलेको भन्दै अनुसन्धान नगरिएका झा पक्राउ परेपछि यो घटनामा दोस्रो चरणको अनुसन्धान सुरु भएको प्रहरी अधिकृतहरू बताउँछन् ।

झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहको नेक्सससम्म पुग्न सकिने विश्वास अनुसन्धान अधिकृतहरूको छ । छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।

प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका छन् ।

केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ । उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको केसीले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *