नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

0Shares

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

थाङमिचागु डटकम संवाददाता

नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै एमालेबाट सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने पार्टीको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी दिने भएको हो।

एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती छन्।

यसअघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको थियो। हिजो बेलुका बसेको सचिवालय बैठकले निर्णय गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको थियो। त्यही अनुसार एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो। 

केहीबेरमा प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट हटेको जानकारी दिने प्रमुख सचेतक बर्तौलाले बताए। 

सत्तारूढ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्छ। तर यस्तो प्रक्रिया समर्थन फिर्ताको सूचना संसदलाई दिएपछि मात्र सुरू हुन्छ। अर्थात् एमालेले संसदलाई समर्थन फिर्ताको औपचारिक जानकारी गराएको तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *