विवाद निरूपण गर्ने नेम्वाङको शैली अनुसरणयोग्य छ : राष्ट्रिय सभा अध्यक्ष ।

0Shares

विवाद निरूपण गर्ने नेम्वाङको शैली अनुसरणयोग्य छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । उनले २०६२/०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्‌मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रुपमा उनको तत्त्वदायी अनुकरणीय भूमिका रहेको उल्लेख गर्दै उनले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधि सदस्य नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १:३० बजे भएको अप्रत्याशित निधनले मर्माहत भएको छु । २०६२/०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्‌मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रुपमा उहाँले खेलेको तत्त्वदायी अनुकरणीय भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहनेछ‚’ उनले लेखेका छन् ।
संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख नेम्वाङको काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा मंगलबार बिहान हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको हो ।

सुझबुझपूर्ण ढंगबाट सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने नेम्वाङको शैली सबैका लागि अनुसरणयोग्य रहेको समेत बताएका छन् ।

‘नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका थियो । उहाँको सुझबुझपूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुसरणयोग्य छ‚’ उनले लेखेका छन्‚ ‘उहाँको निधनले नेपालको संसद्‌ले एक अनुभवी, असल र लोकप्रिय सांसद् एवं संसदको पूर्वनेता गुमाएको छ । राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमानदार नेता गुमाएको छ । दुःखको यस घडीमा नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

नेम्वाङको पार्थीव शरीर आज मंगलबार दिनभर पार्टी कार्यालयमा राखिने र भोलि बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । नेम्वाङको निधनबारे जानकारी लिन एमालेसहित विभिन्न दलका नेताहरु अस्पताल पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *