नातिको प्रश्न.?

0Shares

थाङ्मीचागु डटकम भदौ १२ गते ।

नातिको प्रश्न.?

बाजे म तिमीलाई यौटा प्रश्न गर्छु नरिसाऊ है।

प्रश्न गर्दैमा, अराजक, असभ्य, विधर्मी, पाखे त भन्ने छैनौ नि?

किनकि म नाति, तिमी जत्रै भैसकेँ अब।

नातिले बाजेलाई प्रश्न गर्न पाउनुपर्छ।

बाजे,

तिमी बाजे देखिन म कहिलेसम्म नाति बन्नु पर्ने?

तिमी सुर बन्न म कहिलेसम्म असुर बन्नु पर्ने?

तिमी देवता बनिन म कहिलेसम्म म्लेक्ष बनिनु पर्ने?

तिमी देव बनिन म कहिलेसम्म दानव बनिनु पर्ने?

तिमी उच्च देखिन म कहिलेसम्म निच बन्नु पर्ने?

तिमी छुत बन्न म कहिलेसम्म अछुत बनिनु पर्ने?

तिमी शासक बन्न म कहिलेसम्म शासित बनिनु पर्ने?

तिमी चोखो देखिन म कहिलेसम्म जुठो बनिनु पर्ने?

तिमी सभ्य देखिन म कहिलेसम्म असभ्य बनिनु पर्ने?

तिमी शिक्षित देखिन म कहिलेसम्म अशिक्षित बनिनु पर्ने?

तिमी राम्रो देखिन म कहिलेसम्म नराम्रो भईदिनु पर्ने?

तिमी राष्ट्रिय बन्न म कहिलेसम्म अराष्ट्रीय बन्दिनु पर्ने?

तिमी धर्मी ठहरिन म कहिलेसम्म विधर्मी हुनु पर्ने?

तिमी काजी बनिन हामी कहिलसम्म पाजी बन्दिनु पर्ने?

तिम्रो धर्म राष्ट्रीय हुने हाम्रो धर्म कहिलेसम्म अराष्ट्रिय हुनुपर्ने?

तिमीले आफ्नो संस्कृत भाषा जाने-बोले महाविद्वान ठहरिने,

हामीले आफ्नो भाषा जाने-बोले जङ्गली, असभ्य ठहरिने?

तिमी सुसंस्कारी हुन हामी कहिलेसम्म कुसंस्कारी बन्दिनुपर्ने?

आखिर कहिलेसम्म यस्तो हुनु पर्ने हो बाजे?

तिमीले अरुको चेलिबेटी बिगारेर बच्चा जन्मे
त्यसलाई तिमी “खस” वा “खषेत्री” भन्छौ।
आफ्नै सन्तानको त तिमी दर्जा घटाउँछौ, खसाल्छौ
अनि हाम्रा बारेमा त झन के के सोच्दा हौ, है बाजे?

हिजो कसैले तिम्रो विरुद्धमा आवाज उठाए
जातको विल्ला भिराएर शासन गर्थ्यौ।
हामी उच्च जात, तँ निच, अछुत, शुद्र भन्थ्यौ।
तैँले छोएको पानी चल्दैन भन्थ्यौ, भन्दैछौ।
हामी जन्मेकै शासन गर्नलाई,
यो हाम्रो पूर्वजन्मको फल हो भन्थ्यौ
किनकि तिम्रो हातमा चाणक्य नीति थियो, वेद थियो, गायत्री मन्त्र थियो।
आज तिम्रा काला कर्तुत खुलिसके, त्यसैले
आज कसैले तिम्रो विरुद्धमा आवाज उठाए
आफ्नो मौलिक हक अधिकारको कुरा गरे
धर्मको विल्ला भिराएर शासन गर्न खोज्छौ
तिम्रा कुरा नमान्ने जति सबै विधर्मी हुन्छन
डलरे हुन्छन, अराजक हुन्छन, अपराधी हुन्छन
किनकि आज तिम्रो हातमा देशको संविधान छ।
तिमी त्यही संविधान समातेर शासन गर्दैछौ आज।

बाजे के तिमीलाई थाहा छ यो भूगोलको इतिहाँस?
तिमी ककसियाबाट आउनुभन्दा पहिला पनि यहाँ सभ्य समाज थियो
मेसोपोटामियाको सभ्यता पढेकै हौला?
सिन्धु घाँटीको सभ्यता पढेकै हौला?
ह्वाङ्हो नदीको सभ्यता पढेका छौ कि छैनौ?
चाइनाको ग्रेटवाल ती नै असभ्य जातिले न बनाएका हुन।
बाबेलका धरहरा ती नै असभ्य जातिले न खडा गरेका हुन।
ती नै राक्षस रावणले पुष्प विमान बनाए।
आखिर तिमीलेचाहिँ के खडा गर्यौ बाजे, विद्वान ठहरिन?
तिम्रो देवी देवताको प्रतिस्थापन हुनुभन्दा
पहिला र पछी पनि यहाँ ईश्वरहरू थिए, छन।
एसियालाई पुग्ने ईश्वरहरू यहीँ थिए र छन पनि।
येशू ख्रिष्ट एसियामा नै जन्मे, अल्लाह एसियाकै हुन।
गौतम बुद्ध एशियाकै हुन, कन्फ्युसियस धर्म एसियाकै हो।
सिन्तो धर्म एसियाकै हो, तावो धर्म एसियाकै हो।
शिख धर्म एसियाकै हो, जैन धर्म एशियाकै हो।
बोन धर्म एशियाकै हो, प्रकृति पुजक धर्म एशियाकै हो।
फगत तिमीले एउटा थप धर्म ल्यायौ
र सबैमाथि आफ्नो वर्चस्व थुपार्यौ।
तैपनि हामी चुपचाप बसिदियौँ।
यो भूमि पहिलादेखि नै पवित्र थियो।
यहाँका वासिन्दा सभ्य थिए, यहाँ शान्ती थियो।
तिमी आयौ र पो अपवित्र विचार फैलायौ।
कलह मचायौ, महाभारतमा १००० वर्षको जातीय द्वन्द मचायौ।
अशान्ती फैलायौ, तिम्रो हिँसालाई बुद्धले रोके।
किनकि तिमी यहाँ शासक भन्न आएका थियौ।
आखिर यस्तो द्वेष कहिलेसम्म फैलाउने हो बाजे?

बाजे अर्को एउटा प्रश्न गर्छु है।
तिमीले खाएको खाना राष्ट्रिय हुने,
तिमीले लगाएको नाना राष्ट्रिय हुने,
तिमीले गाएको गाना राष्ट्रिय हुने,
तिम्रा समर्थक सुसंस्कारी हुने,
तिम्रो कुरा नमान्ने सबै कुसंस्कारी हुने,
तिमीले बोलेको भाषा देववाणी हुने,
तिमीले मानेको धर्म राष्ट्रिय हुने,
तिम्रो विचार राष्ट्रिय हुने,
तिमीले पुजेको गाई राष्ट्रिय हुने,
तिमीले पुजेको पिपल राष्ट्रिय हुने,
तिम्रो मठ-मन्दिर राष्ट्रिय हुने,
तिमीले मानेको सिम्रिक रङ राष्ट्रिय हुने,
तिम्रो वंशको निशानी झण्डा राष्ट्रिय हुने,
तिम्रो पैतालाको छाप राष्ट्रिय चिन्ह हुने
तिमीले बोलेको भाषा राष्ट्रिय हुने,
तिम्रो संस्कार सबै राष्ट्रिय हुने,
अनि, अरुकोचाहिँ सबै अराष्ट्रिय हुने?
अरुले खाएको खाना अराष्ट्रिय हुने,
अरुले लगाएको नाना अराष्ट्रिय हुने,
अरुले बोलेको भाषा गाई खाने भाषा हुने,
अरुले मानेको धर्म अराष्ट्रिय हुने?
तिमी धर्मी अरु सबै विधर्मी हुने?
तिम्रो धर्म मान्ने देशी हुने, अरु धर्म मान्ने विदेशी हुने?
आखिर यस्तो कहिलेसम्म हुने हो बाजे?

बाजे तिमीलाई थाहा छ?
क्रान्ति त्यतिकै जन्मदैन भनेर?
जब दमन हुन्छ, शोषण हुन्छ, विभेद हुन्छ
तब त्यहाँ क्रान्ति हुन्छ, आन्दोलन हुन्छ
अनि तिमीले गरेका आन्दोलन सबै राष्ट्रिय
अरुले गरेका आन्दोलन कहिलेसम्म अराष्ट्रिय हुने बाजे?
तिमीलाई विज्ञानको चालसम्बन्धि तेस्रो नियम थाहै होला?
हरेक क्रियामा बराबर तर विपरित प्रतिक्रिया
तिमी कसैलाई जति दबाउँछौ नि बाजे
उसले पनि आफू माथि उफ्रिनलाई त्यति नै चाप पैदा गर्छ।
त्यसैले सद्भाव कायम गर्न जान्नु पर्छ है बाजे।

तिमीले गाईलाई पुज्छौ, पुज।
गाईलाई तिम्रो आस्थाअनुसार जे-जे भन्छौ भन।
त्यो तिम्रो स्वतन्त्रताको कुरा हो।
तर खानेलाई खान दिनुपर्छ।
किनकि त्यो उसको अर्को आस्था हो।
तिम्रो आस्थामा बञ्चित गर्दा तिमीलाई जति चोट पर्छ नि बाजे
उसको आस्थामा बञ्चित गर्दा उसलाई पनि त्यति नै चोट पर्छ
हिजो तिमीले गाई खाँदासम्म भोजनको लागि सर्वत्तोम थियो
आज तिमीले खान छोडेसी, के अरुले पनि छोड्नु पर्ने हो र?
तिमीले टुप्पी पाले अरुले नि पाल्नुपर्ने, तिमीले खौरे, अरुले नि खौरनु पर्ने हो र?
तिम्रो सँस्कारमा गौमेध हवण नगरेसम्म शुद्ध हुँदैन थियो
आज अरुको सँस्कारमा पनि त्यस्तै होला नि
यो कुराको हेक्का त राख्नु पर्ने होला नि, हैन र बाजे?
तिमीले मानेसम्म ती गाई राष्ट्रीय जनावर हुने,
तिमीले नमानेको जति सबै अराष्ट्रिय जनावर हुन्छ र?
के पशु पनि राष्ट्रिय र अराष्ट्रीय हुन्छ र बाजे?
हाम्रा राष्ट्रभित्र भएका सबै जनावर राष्ट्रिय जनावर हुन।
सबै जात-जाति राष्ट्रीय जात-जाति हुन।
सबै भाषा राष्ट्रिय भाषा हुन, सबै धर्म राष्ट्रीय धर्म हुन।
सबै रङ्ग राष्ट्रीय रङ्ग हुन, सबैको झण्डा राष्ट्रिय झण्डा हुन।
सबैको पोशाक राष्ट्रिय पोशाक हुन, सबै पंक्षी राष्ट्रीय पंक्षी हुन।
सबै फूल राष्ट्रीय फूल हुन।
यहाँ कुन फूलचाहिँ अराष्ट्रीय देख्यौ बाजे?

  • हामी त शान्ति, सदभाव, शहिष्णुता चाहाने समुदाय हो।
  • के तिमी यी सब चाहान्छौ? यदि चाहान्छौ भने,
  • अब संविधानको पुनर्व्याख्या हुनुपर्छ, गरिनुपर्छ।
  • राष्ट्रिय जनावर फेरिनु पर्छ,
  • झण्डाको पुनर्व्याख्या गरिनुपर्छ,
  • धर्मनिरपेक्षताको पुनर्व्याख्या गरिनुपर्छ,
  • राष्ट्रिय पोशाक फेरिनु पर्छ।
  • राष्ट्रिय खानाको पुनर्व्याख्या गरिनुपर्छ, हुनुपर्छ।
  • किनकि यहाँका राष्ट्रिय जति सबै तिम्रै छन।
  • फेरि तिमीलाई नै चित्त बुझ्दैन किन हो बाजे?
  • अब यदि समावेशिता, सहिष्णुता हुनुपर्छ भने
  • राष्ट्रिय खाना नेवारी होस, थकाली होस।
  • राष्ट्रिय पोशाक सबै जातिको भेषभुषाबाट एक-एकओटा लिएर बनाऊँ।
  • कसैको टोपी लिऊँ, कसैको कमिज
  • कसैको इस्टकोट लिऊँ, कसैको गम्छा
  • कसैको जुत्ता लिऊँ, कसैको मोजा
  • कसैको इँजार लिऊँ, कसैको पञ्जा
  • लिऊँ न सबै भेषभुषाबाट एक-एकओटा
  • अनि पो विभेदको अन्त्य हुन्छ
  • कसैको पटुकि लिऊँ, कसैको चोली
  • कसैको कछड लिऊँ, कसैको पाटासी
  • कसैको बर्की लिऊँ, कसैको भाङ्ग्रा
  • कसैको सिलाम साक्मा लिऊँ, कसैको लोङ्या
  • बनाऊँ नयाँ राष्ट्रिय पोशाक,
  • गरून त्यहाँ राउटेले गर्व, गरून त्यहाँ बाहुनले गर्व,
  • गरून त्यहाँ शिल्पीले गर्व, गरुन त्यहाँ मूलवासीले गर्व।
  • गरून न त्यहाँ मधेशबासीले गर्व।
  • गरुन, हिन्दु, बुद्धिष्ट, इस्लाम, इसाई, किराती, बोन सबैले गर्व।
  • अनि पो हुन्छ त “एउटै थुङ्गा फूलका हामी एउटै माला नेपाली”
  • नत्र त समावेशिता, धर्मनिरपेक्षता, सहिष्णुता भन्ने नै कहाँ रह्यो र बाजे?
  • संविधानको साटो चाणक्य नीति ल्याएर शाशन गरे भै गो नि?
  • ———————-रमेश थामी ‘छड्केसलाम’————–

Leave a Reply

Your email address will not be published. Required fields are marked *