सुनुवार सेवा समाजद्वारा ६ विद्यार्थीलाई ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान ।।।
2026-11-17मानव बेचबिखन विधेयक परिमार्जन गर्न सांसदहरूको माग, ‘वेश्यागमन’ शब्द हटाउन सुझाव ।।।
2026-11-17
सुनुवार सेवा समाजद्वारा ६ विद्यार्थीलाई ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान ।।।
सुनुवार सेवा समाजद्वारा ६ विद्यार्थीलाई ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान
काठमाडौं, २ मंसिर।
सुनुवार सेवा समाजले सुनुवार समुदायका जेहेन्दार तथा आर्थिक रूपमा विपन्न ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।
समाजको केन्द्रीय समितिद्वारा मंगलबार काठमाडौंको कोटेश्वरस्थित कार्यालयमा आयोजित कार्यक्रममा मानबहादुर–विष्णुमाया सुनुवार स्मृति शैक्षिक कोषमार्फत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो।
आयोजकका अनुसार छात्रवृत्ति प्राप्त गर्ने प्रत्येक विद्यार्थीलाई १५ हजार रुपैयाँका दरले कुल ९० हजार रुपैयाँ वितरण गरिएको छ।
छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तेस्रो वर्षमा अध्ययनरत मकवानपुरकी मुना सिकारी सुनुवार तथा स्नातक तहमा अध्ययनरत ओखलढुंगाका प्रशान्त सुनुवार, रामेछापका सानु सुनुवार, गंगा सुनुवार, जमुना सुनुवार र सुप्रिया सुनुवार रहेका छन्।
मानबहादुर–विष्णुमाया सुनुवारको स्मृतिमा स्थापना गरिएको उक्त शैक्षिक कोषले सुनुवार समुदायका विद्यार्थीको शैक्षिक विकास र उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा समाजका पूर्वअध्यक्ष मनप्रसाद सुनुवारले समुदायका जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बताए। उनले शिक्षा नै समुदायको विकास र रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गरे।
समाजका सल्लाहकार तथा संस्थापक प्रेम सुनुवारले विद्यार्थीहरू देश र समुदायको भविष्य भएकाले उनीहरूको शैक्षिक यात्रामा समाजले निरन्तर सहयोग गर्दै आएको बताए। उनले छात्रवृत्ति प्राप्त विद्यार्थीलाई समयको सदुपयोग गर्दै अध्ययनमा केन्द्रित हुन आग्रह गरे।
समाजका अध्यक्ष अमृत सुनुवारले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शैक्षिक कोषले समुदायको शैक्षिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले स्वर्गीय मानबहादुर–विष्णुमाया सुनुवारका छोरा तथा गोर्खा सैनिक भक्तमान सुनुवारको योगदानको समेत चर्चा गरे।
अध्यक्ष अमृत सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन पूजारी पदमबहादुर सुनुवारले सुनुवार परम्पराअनुसार गरेका थिए।
कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त रथी राजेन्द्र सुनुवार, समाजका संस्थापक तथा सल्लाहकार प्रेम सुनुवार, पूर्वअध्यक्ष मनप्रसाद सुनुवार, अध्यक्ष अमृत सुनुवारलगायतको उपस्थिति रहेको थियो।
सुनुवार सेवा समाजले समुदायका विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गर्ने तथा आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।




