लामाबगर–फलाक नाका सञ्चालन गर्न माग, दोलखाको आर्थिक विकासमा नयाँ सम्भावनाको अपेक्षा ।।

0Shares

लामाबगर–फलाक नाका सञ्चालन गर्न माग, दोलखाको आर्थिक विकासमा नयाँ सम्भावनाको अपेक्षा

१७ नोभेम्बर २०२६, मंगलबार संवाददाता : थाङ्मीचागु डटकम

दोलखा। दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित नेपाल–चीन सीमाको फलाक नाका सञ्चालनमा ल्याउन माग गरिएको छ। नाका सञ्चालनमा आए दोलखासहित समग्र देशको व्यापार, पर्यटन र आर्थिक विकासमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।

नेपाली कम्युनिस्ट पार्टी दोलखाले लामाबगर–फलाक नाकालाई वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा विकास गर्नुपर्ने माग अघि सारेको छ।

पार्टीका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले नाका सञ्चालनको आवश्यकता, सम्भावना र पूर्वाधार विकासका विषय समेटिएको अवधारणापत्र प्रस्तुत गरेका छन्।

अवधारणापत्रमा सिङ्गटी–लामाबगर सडक स्तरोन्नति, सीमा क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण, भन्सार कार्यालय स्थापना तथा नेपाल–चीनबीच कूटनीतिक पहल गर्नुपर्ने विषय समेटिएका छन्।

तातोपानी र रसुवागढी नाकामा प्राकृतिक विपद्का कारण व्यापारिक आवागमन प्रभावित हुने गरेको अवस्थामा लामाबगर–फलाक नाका सञ्चालनले वैकल्पिक व्यापारिक मार्ग उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ।

नाका सञ्चालन भए दोलखाका स्थानीय उत्पादनले चिनियाँ बजारसम्म पहुँच पाउने, रोजगारी सिर्जना हुने र बिगु क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने विश्वास गरिएको छ।

स्थानीयवासीले लामाबगर–फलाक नाका सञ्चालनका लागि नेपाल सरकार र सम्बन्धित निकायले आवश्यक कूटनीतिक तथा प्राविधिक प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *