विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी तीव्र सुझावका आधारमा अन्तिम रूप दिने तयारी

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा
काठमाडौं, कात्तिक १२।

लामो समयदेखि प्रतीक्षामा रहेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार पार्ने कामलाई शिक्षा तथा खेलकुद मन्त्रालयले तीव्रता दिएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ मा सङ्घीय संसद्मा पेस गर्ने गरी प्राथमिकतामा राखेका १६६ वटा विधेयकमध्ये विद्यालय शिक्षा विधेयक पनि परेको छ। विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा विधेयकलाई अन्तिम रूप दिने तयारी मन्त्रालयले गरिरहेको छ।

मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार संसद्मा बुझाइएको वार्षिक कार्यतालिकाअनुसार विधेयक तर्जुमाका लागि आवश्यक काम भइरहेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, मन्त्रीका सल्लाहकार तथा मन्त्रालयका प्रतिनिधिहरूले विभिन्न प्रदेशमा आयोजित छलफलमार्फत विधेयकसम्बन्धी सुझाव सङ्कलन गरेका छन्।

संविधानको कार्यान्वयन तथा सङ्घीयता अनुकूल विद्यालय शिक्षा प्रणाली विकास गर्न यो विधेयकलाई महत्त्वपूर्ण मानिएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ मा संसद्मा पेस गर्ने सूचीमा शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित नौवटा विधेयक समावेश गरेको छ।

विधायन ऐन, २०८१ अनुसार प्रत्येक आर्थिक वर्षमा संसद्मा पेस गरिने विधेयकहरूको सूचीसहित वार्षिक कार्यतालिका असार मसान्तभित्र सङ्घीय संसद्मा पठाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार गत असार २४ र २५ गते सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी चालु आर्थिक वर्षका लागि विधेयकहरूको प्राथमिकता निर्धारण गरिएको थियो।

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीले गति लिएसँगै यसको अन्तिम स्वरूप, विद्यालय शिक्षा प्रणालीमा पर्ने प्रभाव तथा सङ्घीय संरचनाअनुसार शिक्षाको व्यवस्थापन कसरी गरिनेछ भन्ने विषयमा सरोकारवालाको चासो बढ्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *