पोखरामा स्कुल बस दुर्घटना  प्राविधिक खराबी तीव्र गति र चालकको लापरवाहीलाई सम्भावित कारण मानियो

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाहीलाई सम्भावित कारणका रूपमा औँल्याइएको छ।

दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले गठन गरेको समितिले प्राविधिक, मानवीय तथा सडक पूर्वाधारसम्बन्धी पक्षको अध्ययन गरी नगरप्रमुखसमक्ष प्रतिवेदन पेस गरेको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिले भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन विभिन्न सुधारका उपायसमेत सिफारिस गरेको छ।

गत असोज २३ गते ग २ ख १७४७ नम्बरको स्कुल बस माझठानाबाट विद्यार्थी लिएर कालिकातर्फ जाने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो। उक्त दुर्घटनामा पाँच विद्यार्थीसहित ६ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।

समितिले बसको ब्रेक प्रणाली, स्टेरिङ, सस्पेन्सन तथा टायरको अवस्थालाई सम्भावित प्राविधिक कारणका रूपमा उल्लेख गरेको छ। बसको मर्मत अभिलेख नियमित रूपमा अद्यावधिक नभएको र नवीकरण भए पनि अनिवार्य प्राविधिक जाँचपास (फिटनेस टेस्ट) नगरिएको प्रतिवेदनमा उल्लेख छ।

दुर्घटनापछि गरिएको प्राविधिक परीक्षणमा स्पष्ट खराबी फेला नपरे पनि प्राविधिक समस्या र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने समितिको आकलन छ। समितिका संयोजक सुवेदीका अनुसार चालकले बस चलाइरहेका बेला अचानक अगाडि कालो वस्तु देखिएपछि बस अनियन्त्रित भएको बयान दिएका छन्। यद्यपि, दुर्घटनास्थलको भौगोलिक अवस्था, सडकको बनोट, दृश्यता र सम्भावित अवरोधबारे थप विश्लेषण आवश्यक रहेको समितिले जनाएको छ।

प्रतिवेदनमा सडक किनारमा सुरक्षा बार तथा गार्डरेलजस्ता संरचनाको अभावले दुर्घटनाको जोखिम बढाएको उल्लेख छ। बस करिब २०० मिटर तल खसेकाले सडकको अवस्था र भिरको उचाइले दुर्घटनाको गम्भीरता बढाएको समितिको निष्कर्ष छ।

बसको स्वामित्व र सञ्चालन व्यवस्थामा समेत सुधार आवश्यक रहेको समितिले औँल्याएको छ। दुर्घटनामा परेको बस श्रद्धा भण्डारीको नाममा दर्ता रहेको र विद्यालयसँग भाडामा सञ्चालन गर्ने सम्झौता भएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

विद्यालयको प्रत्यक्ष नियन्त्रणबाहिर रहेका सवारीसाधन प्रयोग गर्दा जोखिम बढ्न सक्ने भन्दै समितिले निर्धारित मापदण्ड पूरा गरेका र नियमित प्राविधिक जाँचपास भएका सवारीसाधन मात्र प्रयोग गर्न सुझाव दिएको छ।

त्यस्तै, विद्यालयका सवारीसाधनको नियमित प्राविधिक परीक्षण, चालक तथा परिचालकको योग्यता र स्वास्थ्य परीक्षण, आवश्यक सुरक्षा उपकरण, बिमा व्यवस्था तथा स्कुल बस सञ्चालनसम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्न समितिले सिफारिस गरेको छ।

विद्यालयमा प्रयोग हुने सवारीसाधनको नियमित अनुगमन र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न सके आगामी दिनमा यस्ता दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ।

थाङमिचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *