राराको नीलो आँखामा सात दिन : एउटा अविस्मरणीय यात्रा ।।।
2026-10-26आगलागीपीडित परिवारलाई कालिञ्चोक ९ वडा कार्यालयको राहत
2026-10-25
राराको नीलो आँखामा सात दिन : एउटा अविस्मरणीय यात्रा ।।।
राराको नीलो आँखामा सात दिन : एउटा अविस्मरणीय यात्रा
नियात्रा | अमन एकल रामकृष्ण पाण्डे
प्रकाशन मिति : २०८३ कात्तिक ९ गते, सोमबार
रारा पुग्ने सपना बोकेर सात दिनसम्म मोटरसाइकलमा हजारौँ घुम्ती, कच्ची तथा पक्की सडक, कर्णालीका खोँच र हिमाली बस्तीहरू पार गर्दाको अनुभव आफैँमा अविस्मरणीय छ। यो केवल एउटा तालसम्म पुग्ने यात्रा थिएन, बरु प्रकृति, मानवीय आत्मीयता, जीवनका कठिनाइ र पारिवारिक सम्झनासँग जोडिएको अनुभूतिको यात्रा थियो।
दशैँको अष्टमीका दिन घरबाट सुरु भएको यो यात्रामा राराको नीलो पानी, मुर्मा टपको सूर्योदय, बाटोमा भेटिएकी आमाले दिएको स्याउ, अपरिचित मानिसहरूको आत्मीयता र राराको किनारमा साथीहरूले लगाइदिएको दशैँको टीकाले विशेष अर्थ बोकेका छन्।
पहिलो दिन : दशैँको अष्टमीदेखि यात्राको पहिलो रातसम्म
अष्टमीको बिहान थियो। आकाशमा घाम अझै राम्ररी खुलेको थिएन। रातको शीतले आँगन चिसै थियो। घरआँगनमा दशैँको चहलपहल सुरु भइसकेको थियो—कतै अष्टमी पूजाको तयारी, कतै नयाँ कपडा मिलाउने हतारो त कतै टाढाबाट आएका आफन्तका आवाज। हावामा दशैँको छुट्टै सुगन्ध थियो।
दशैँ घरघरमा भित्रिँदै थियो, तर मेरो मनमा भने एउटा खाली ठाउँ थियो। गत वर्ष हजुरआमाको स्वर्गारोहण भएकाले यस वर्ष उहाँको हातबाट टीका लगाउने अवसर थिएन। त्यो अभाव मनको कुनै कुनामा बोकेर म यात्रामा निस्किएको थिएँ।
दशैँ आउँदा सधैँ सबैभन्दा पहिले सम्झना आउने अनुहार हजुरआमाकै हुन्थ्यो। उहाँको हातमा टीका हुन्थ्यो। निधारमा रातो टीका र अक्षता लगाइदिँदा उहाँका औँलाको स्पर्शसँगै एउटा आशीर्वाद पनि टाँसिएर आउँथ्यो। तर यसपालि त्यो हात थिएन।
घर उही थियो, दशैँ उही थियो, आँगन उही थियो—केवल उहाँ हुनुहुन्नथ्यो।
सायद त्यसैले पनि मन कतै टाढा जान खोजिरहेको थियो।
बाहिर मोटरसाइकल तयार थियो। झोलाहरू बाँधिसकिएका थिए। ज्याकेट लगाएँ, हेल्मेट हातमा लिएँ र एकछिन चुपचाप उभिएँ। मोटरसाइकल स्टार्ट गरेँ। इन्जिनको आवाजले बिहानको मौनता चिरेर निस्कियो।
गल्छीबाट अगाडि बढ्दै गर्दा पछाडि छुट्दै गएको घर, सडकछेउका पसल, बिहानको चिसो हावा र बिस्तारै खुल्दै गरेको आकाशलाई हेर्दै लाग्यो—अब म केवल ठाउँ बदल्न निस्किएको होइन, केही समयका लागि आफूलाई नै भेट्न निस्किएको थिएँ।
गन्तव्य थियो—रारा ताल!
तर त्यो नाम उच्चारण गर्दा मनमा तालको तस्वीरभन्दा पहिले बाटोको तस्वीर आउँथ्यो। लामो सडक, अनगिन्ती घुम्ती, पहाडमाथि टाँसिएका बस्ती, कर्णालीको गहिरो खोँच, धुलो र ढुंगाले भरिएका बाटा, अपरिचित गाउँहरू अनि ती सबै पार गरेपछि हिमालको काखमा नीलो भएर बसेको रारा।
गल्छी पछाडि छुट्यो। धादिङका पहाडहरू अगाडि आए। कतै सडक चर्किएको थियो, कतै धुलो उडिरहेको थियो। मोटरसाइकलका पाङ्ग्राले सडकको प्रत्येक असमानता महसुस गरिरहेका थिए। बिहानको चिसो विस्तारै हराउँदै गयो र घामले सडक तताउन थाल्यो।
चितवनतर्फ झर्दै जाँदा भूगोल फेरियो। पहाडको काखबाट तराईको फराकिलो मैदानतिर झरियो। बाटोछेउका खेत, बजार र बस्तीहरू पछाडि दौडिएजस्ता देखिन्थे। नारायणगढ कटेर गैँडाकोट र कावासोती हुँदै फेरि दाउन्नेको उकालो आयो। पहाड चढ्दै गर्दा हावाले अनुहारमा अर्कै किसिमको चिसोपन ल्यायो।
दाउन्नेमा खाना खाँदा पनि मन भने बाटोमै थियो—आज कहाँ पुगिएला? राति कहाँ बास पाइएला? अर्को दिन कस्तो सडक भेटिएला?
यस्ता प्रश्नको कुनै निश्चित उत्तर थिएन। यात्राको सबैभन्दा सुन्दर कुरा पनि सायद यही थियो—अर्को मोडपछाडि के छ भन्ने थाहा नहुनु।
पूर्व–पश्चिम महेन्द्र राजमार्गमा काम भइरहेको खबर पाएपछि भुमही पुगेर बाटो फेरियो। रामग्रामतर्फ मोडियौँ। लुम्बिनीको शान्त भूगोल पार गर्दै लबनी, पकनी र बहादुरगञ्ज हुँदै चनौटातिर बढ्यौँ।
दिन ढल्दै थियो। अमिलियामा पुगेर खाजा खायौँ। त्यसपछि तुलसीपुरतर्फ मोडियौँ। जङ्गलबीच सडकको स्वर फेरिँदै थियो। भञ्ज्याङ पुगेर ओरालो लागेपछि कतै तराई त कतै पहाडको झल्को दिँदै बाटो तुलसीपुर, पुरन्धरा र काल्चे हुँदै अगाडि बढ्यो।
साँझको सुनौलो प्रकाश पहाडका धारमा अड्किएको थियो। बस्तीका पसलहरूमा बत्ती बल्न थालेका थिए। मोटरसाइकलको हेडलाइटले अँध्यारो सडकलाई सानो घेराभित्र उज्यालो बनाउँदै थियो।
बोटेचौर पुग्दा रात परिसकेको थियो। घडीले आठ बजाइसकेको थियो। होटल खोज्न थाल्यौँ।
सात दिनको यो यात्रामा कुनै पनि रातका लागि हामीले पहिले नै होटल बुक गरेका थिएनौँ। साँझ जहाँ पुगिन्थ्यो, त्यहीँ बस्ने ठाउँ खोजिन्थ्यो। कहिलेकाहीँ होटल सजिलै भेटिन्थ्यो, कहिलेकाहीँ थकित शरीर बोकेर एउटा कोठाको खोजीमा बजारका गल्ली चहार्नुपर्थ्यो।
त्यो पहिलो रात पनि त्यस्तै भयो।
कोठामा पुगेपछि हेल्मेट खोलेँ। दिनभरको धुलोले अनुहार भारी भएको थियो। शरीर थाकेको थियो। तर आँखा बन्द गर्दा पनि सडक नै देखिन्थ्यो—गल्छी, धादिङ, चितवन, दाउन्ने, भुमही, लुम्बिनी, चनौटा, अमिलिया र तुलसीपुर हुँदै बोटेचौरसम्मको लामो यात्रा।
त्यो रात सुत्नुअघि एउटा कुरा मात्र मनमा आयो—देशका धेरै घरमा दशैँको उल्लास थियो, म भने रारातर्फ जाने बाटोको पहिलो रातमा थिएँ।
मलाई अझै थाहा थिएन—केही दिनपछि यही यात्राको बीचमा राराको नीलो पानीको किनारमा, रारा र हिमाललाई साक्षी राखेर साथीहरूले निधारमा दशैँको टीका लगाइदिनेछन्। त्यही टीकाले हजुरआमाको सम्झना फेरि ताजा बनाउनेछ र मेरा नयन रसाउनेछन्।
त्यो क्षणमा मैले बुझ्नेछु—कहिलेकाहीँ घरबाट टाढा निस्किएको यात्राले नै मनलाई घरसँग अझ गहिरोसँग जोडेर फर्काउँदो रहेछ।
दोस्रो दिन : कर्णालीको स्वर
बिहान बोटेचौरको चिसो हावाले निद्रा खोल्यो। अघिल्लो दिनको थकान शरीरमा बाँकी नै थियो, तर अगाडिको बाटोले फेरि बोलाइरहेको थियो। झोला बाँध्यौँ, मोटरसाइकल स्टार्ट गर्यौँ र बोटेचौरबाट सुर्खेतको वीरेन्द्रनगरतर्फ लाग्यौँ।
वीरेन्द्रनगर पुग्दा बिहानको बजार विस्तारै जाग्दै थियो। खाजा खाएर फेरि बाटो समात्यौँ।
बड्डीचौरमा यज्ञ सरसँग भेट भयो। यात्राको बीचमा पहिल्यै चिनजान भएको मान्छेको अनुहार देख्दा अपरिचित बाटो पनि एकाएक आफ्नैजस्तो लाग्दो रहेछ। केहीबेरको कुराकानीपछि दैलेखतर्फ लाग्यौँ।
दैलेखतिर पुग्दा सडकको रूप फेरिएको थियो। धेरै ठाउँमा ग्राभेल र ढुंगा थिए। मोटरसाइकलका पाङ्ग्राले धुलो उडाउँथे, कहिले ढुंगामाथि चिप्लिन खोज्थे। तर वरिपरि देखिने पहाड र बस्तीले थकानलाई मनभित्र पस्न दिँदैनथे।
तल्लो डुंगेश्वर हुँदै कर्णालीको किनारमा रहेको टुनिबगर पुगेर विश्राम गर्यौँ। झोलुङ्गे पुलबाट कर्णाली तरेर अछाममा पाइला राख्यौँ। केही तस्बिर खिचेपछि टुनिबगर बजारमै सामान्य छाप्रो जस्तो देखिने होटलमा खाना खायौँ। त्यहाँको खाना निकै स्वादिलो थियो। खाना खुवाउने दिदीको मीठो बोली र आत्मीय व्यवहार मनमा लिएर अगाडि बढ्यौँ।
खिड्कीज्यूला र राकम कर्णाली हुँदै बाटो कर्णालीको साथमा हिँड्न थाल्यो।
गहिरो खोँचको तल कर्णाली बगिरहेको थियो। कतै नदी नीलो देखिन्थ्यो, कतै चट्टानसँग ठोक्किँदै सेतो फिँज निकाल्थ्यो। माथि हामी सडकमा थियौँ, तल कर्णाली आफ्नै वेगमा।
कहिलेकाहीँ लाग्थ्यो—हामी यात्रा गरिरहेका छैनौँ, नदीलाई पछ्याइरहेका छौँ।
एकातिर विशाल पहाड, अर्कोतिर गहिरो खोँचमा आफ्नै लयमा बगिरहेको कर्णाली। नदीको पानी कहिले टाढा देखिन्थ्यो, कहिले सडकसँगै दौडिएजस्तो लाग्थ्यो।
सुर्खेतको तुलनामा दैलेखतिर सडक धेरै ठाउँमा कच्ची थियो। धुलो, ढुंगा र घुम्तीबीच मोटरसाइकल चलाउँदै जाँदा कालिकोटको पचाल झरना जाने मोडमा पुगेर रोकियौँ। त्यहाँबाट झन्डै एक घण्टाको यात्रामा पचाल झरना पुग्न सकिने जानकारी पाएपछि कालिकोटको मान्मतर्फ लाग्यौँ।
कतै सडक सहज थियो, कतै उकालो र घुम्तीले परीक्षा लिन्थ्यो। मान्म बजारमा केही समय रोकिएपछि नाग्मतर्फ बढ्यौँ। पहाडका काखमा साना–साना बस्तीहरू देखिन थाले। कतै आँगनमा भेडाका बथान थिए, कतै स्याउका बोटका पात झरिसकेका थिए। हिमाली हावाको चिसोपन विस्तारै शरीरभित्र पस्दै थियो। कञ्चन खोलानालाले यात्रालाई दृश्यहरूको लामो शृङ्खलामा बदलिरहेका थिए।
सूर्यास्त भएको धेरै बेर भइसकेको थियो। नाग्म बजार पुग्नुअघि एउटा दुर्घटना भयो। सामान्य चोटपटक लागेकाले केहीबेर यात्रा रोक्नुपर्यो।
त्यही क्रममा गणेश उपाध्याय सरसँग भेट भयो। उहाँलाई बजार कति टाढा छ भनेर सोध्यौँ। उहाँले नजिकै रहेको बताउँदै हिँड्न आग्रह गर्नुभयो। परिस्थिति सम्हालेर फेरि अगाडि बढ्यौँ।
संयोगवश, राति एउटै होटलमा बास बसियो। उहाँले यात्रा र बाटोबारे धेरै जानकारी दिनुभयो। बिहान सँगै जाने र बाटो देखाइदिने प्रस्ताव पनि राख्नुभयो। उहाँको आत्मीयताप्रति आभार व्यक्त गर्दै त्यो रात नाग्ममा विश्राम गर्यौँ।
मार्सी धानको भात र च्याङ्ग्राको मासु निकै स्वाद मानेर खाइयो। लामो दिनको थकान, कर्णालीको साथ र अपरिचित ठाउँमा भेटिएको आत्मीयताले दोस्रो दिनको यात्रा सम्झनलायक बन्यो।
तेस्रो दिन : बाटोमा भेटिएकी आमा, सल्लेरीसम्म बाइक, त्यसपछि पैदल
नाग्म बजारबाट अगाडि बढ्दै गर्दा पानीको तिर्खाले सताइरहेको थियो। बाटोमा पानीको धारा भेटियो। त्यहीँ अन्दाजी ५५–६० वर्षकी एक आमासँग भेट भयो।
उहाँसँग त्यहाँको वस्तुस्थिति र दैनिक जीवनबारे कुराकानी भयो। छुट्ने बेलामा उहाँले झन्डै डेढ किलो स्याउ हामीलाई दिनुभयो।
पैसा दिन खोज्यौँ, तर उहाँले लिन मान्नुभएन।
त्यो स्याउको स्वादभन्दा ठूलो कुरा थियो—अपरिचित यात्रुलाई आफ्नै मान्छेजस्तो सम्झने उहाँको मन।
दुर्गम पहाडमा भेटिएको त्यो सानो आतिथ्य मेरो यात्राको ठूलो सम्झना बन्यो। फर्किंदा यही बाटो आउने र उहाँलाई फेरि भेट्ने आशा मनमा थियो। तर यात्राले अन्ततः अर्को दिशा समात्यो। फेरि भेट हुन सकेन।
कहिलेकाहीँ यात्रामा मानिसहरू केही क्षणका लागि भेटिन्छन्, तर सम्झनामा धेरै लामो समयसम्म बस्छन्। त्यो आमाको हातबाट आएको स्याउ मेरो यात्राको सबैभन्दा मीठो स्वादमध्ये एउटा बन्यो।
हामी अगाडि बढ्दै थियौँ। गणेश उपाध्याय सर पनि भेटिनुभयो र उहाँसँगै यात्रा अघि बढ्यो। यात्राकै क्रममा उहाँको घर पनि बाटोमै भेटियो। उहाँको परिवारले दिएको माया र सम्मानले अपरिचित ठाउँमा पनि आफ्नै घरको अनुभूति गरायो।
छुट्ने बेलामा गणेश सरले आफ्नो सम्पर्क नम्बर दिनुभयो। केही अप्ठ्यारो परे सम्झिन आग्रह गर्दै उहाँले ढुक्क हुन भन्नुभयो। उहाँको त्यो भरोसाले मन छोयो।
जीवनका विभिन्न यात्रामा धेरै यात्री भेटिन्छन्, तर सम्बन्धभन्दा अपनत्व ठूलो बनाउने मानिसहरू निकै कम भेटिन्छन्। गणेश सर र उहाँको परिवारले दिएको आत्मीयता यात्राको अविस्मरणीय पाटो बन्यो।
उहाँहरूसँग बिदाइका हात हल्लाउँदै हामी अगाडि बढ्यौँ।
मुगुको बाटोले अब आफ्नो वास्तविक स्वरूप देखाउन थालेको थियो। पक्की सडकको भरोसा सकिएको थियो। ढुंगा, धुलो, खाल्डा र उकालोले मोटरसाइकलको गति घटाउँदै लगे। तर जति बाटो कठिन हुँदै गयो, वरिपरिको दृश्य उति नै सुन्दर हुँदै गयो।
हिमालको काखमा टाँसिएका बस्ती, स्याउका बोट, मझौला तथा ठूला सल्लाका रूख, पात झरेका वनस्पति, चट्टानमुनिबाट निस्किएका निर्मल खोला, डाँडाका भिरालो पाखामा चरिरहेका भेडाका बथान र टाढा नीलो आकाशमा हराउँदै गएका पहाडका तहहरूले यात्रालाई अविस्मरणीय बनाइरहेका थिए।
बड्की, मालिका, बोता र पिना हुँदै सल्लेरी पुगेर मोटरसाइकल पार्क गर्यौँ।
अब मोटरसाइकलको इन्जिन बन्द भयो र पैतालाले यात्रा समात्यो।
रारा जाने क्रममा नेपाली सेनाको चेकपोस्टमा प्रवेश दर्ता गर्यौँ। दिनभरको मोटरसाइकल यात्राले शरीर थकित भए पनि मनमा एउटै उत्सुकता थियो—कहिले रारालाई आफ्नै आँखाले स्पर्श गर्न पाउँला?
यात्रा गर्न कठिन हुनेहरूका लागि घोडाको सुविधा पनि रहेछ। तर हामीले पैदल नै जाने निर्णय गर्यौँ।
झन्डै एक घण्टाको पैदल यात्रापछि रूखहरूबीचबाट नीलो रङको विशाल जलराशि देखियो।
रारा ताल!
लामो बाटो, धुलो, थकान र अनगिन्ती घुम्तीपछि पहिलोपटक त्यो नीलो पानी देख्दा केहीबेर शब्द नै आएनन्। मनमा अपार खुसी छायो। साँझ पर्नै लाग्दा राराको नीलो सौन्दर्यलाई नजिकबाट नियाल्न पाउँदा दिनभरको थकान बिर्सिएँ।
तर हाम्रो यात्रा अझै सकिएको थिएन। भोलिपल्टको सूर्योदय हेर्ने उद्देश्यले रारा तालबाट मुर्मा टपतर्फ उकालो लाग्यौँ।
उकालो कठोर थियो। उचाइ बढ्दै जाँदा हिँड्न गाह्रो हुँदै गयो। अक्सिजनको कमी महसुस गर्दै केही साथीहरू बीचबीचमा रोकिएर सास सम्हालिरहेका थिए। करिब तीन घण्टाको उकालोपछि मुर्मा टपस्थित रिसोर्ट पुग्यौँ।
त्यो रात असाध्यै चिसो थियो। तातो खाना खाँदै आगोको रापमा बस्यौँ। रिसोर्टका मालिक बाले आफ्नो जवानी, तत्कालीन अवस्थाको संघर्ष र मुगुबाट कोहलपुर पुग्न ३५–४० दिन लाग्ने समयका कथा सुनाउनुभयो। उहाँका कुरा सुन्दा दुर्गम भूगोलमा जीवन बिताउनुको कठिनाइ महसुस भयो।
बाले गाउनुभएको स्वागत गीत सुन्दै त्यो दिनको विश्राम गर्यौँ।
चौथो दिन : मुर्मा टपको सूर्योदय
बिहानै उठेर करिब २० मिनेट हिँड्दै मुर्मा टपको माथिल्लो भागमा पुग्यौँ। साथीहरू पनि बिस्तारै पछ्याउँदै थिए। धेरैलाई हिँड्न गाह्रो भइरहेको थियो, तर सबैजना विस्तारै माथि आइपुगे।
पूर्वतिर फिक्का उज्यालो देखिन थाल्यो। हामी चुपचाप उभियौँ।
बिस्तारै आकाशको रङ बदलियो। पहिले खरानीजस्तो, त्यसपछि हल्का सुनौलो। अनि एकाएक सूर्यको किरण हिमालका धारमा पर्यो।
तल रारा तालले उज्यालो समात्यो। नीलो पानी सुनौलो प्रकाशमा चम्कियो। त्यो बेला रारा नीलो ऐनाजस्तै देखिन्थ्यो। वरिपरिका डाँडाकाँडा बिस्तारै स्पष्ट हुँदै गए।
त्यो दृश्यलाई क्यामेराले कैद गर्न सक्थ्यो, तर त्यसको सम्पूर्ण अनुभूति सायद कुनै तस्बिरले समेट्न सक्दैन।
हामीले नेपालको झन्डा निकालेर तस्बिर खिच्यौँ। मुर्मा टपबाट रारा तालसँगै जुम्ला, कालिकोट, मुगु र वरिपरिका हिमाली भूभागका डाँडाकाँडा देखिन्थे। मौसम खुलेको बेला टाढाका हिमाली शृङ्खलासमेत दृश्यमा थपिन्थे।
पश्चिमतर्फ सैपाल हिमाल र पूर्वतर्फ कान्जिरोवा हिमालका साथै टाढाका हिमाली भूभाग र तिब्बती पठारतर्फका दृश्य नियाल्दा स्वर्ग भनेको यतै हो कि जस्तो लाग्यो।
ती मनोरम दृश्यलाई नियाल्दै नेपालको झन्डा हातमा लिएर तस्बिर खिच्दा मनभित्र अनौठो गर्व जाग्यो। हिमाल र रारालाई साक्षी राखेर आफ्नै देशको झन्डासँग उभिन पाउनु आफूलाई भाग्यमानी ठान्ने पर्याप्त कारण थियो।
त्यहीँ पोखरा, भक्तपुर, स्याङ्जा र सुर्खेतबाट आएका हामीजस्तै यात्रुहरूसँग आत्मीय परिचय भयो। पारिलो घामको स्पर्शसँगै केही समय बिताएपछि मुर्मा टपस्थित रिसोर्टमा फर्कियौँ। ब्रेकफास्ट गरेर झोला बोकी करिब दुई घण्टाको ओरालोपछि रारा तालको किनारमा आइपुग्यौँ।
राराको काखमा दशैँको टीका
क्यालेन्डरमा दशैँ थियो, तर मेरो मनमा यस वर्ष दशैँको खुसी अधुरो थियो। हजुरआमाको स्वर्गारोहणपछि उहाँको हातबाट टीका लगाउने इच्छा सदाका लागि अधुरो बनेको थियो।
तर रारा तालको किनारमा यात्राका साथीहरूले टीका लगाइदिए।
साथीहरूको निधारमा टीका थियो, अगाडि रारा थियो, टाढा हिमाल थिए र मनमा हजुरआमाको सम्झना।
त्यो क्षणले दशैँलाई मेरो जीवनमा एउटा नयाँ अर्थ दियो। घरबाट टाढा भए पनि आफ्ना मानिसको माया कहाँ टाढा हुँदो रहेछ र?
हजुरआमाको हातबाट टीका लगाउने अवसर फर्केर आउने थिएन। तर साथीहरूको आत्मीयताले त्यो रिक्ततालाई केहीबेर भए पनि मायाले भरिदियो। राराको नीलो पानीलाई साक्षी राखेर लगाइएको त्यो टीका मेरो जीवनको अविस्मरणीय क्षण बन्यो।
चौध जना र एउटा डुंगा
रारा तालमा डुंगा चढ्न करिब एक घण्टा प्रतीक्षा गर्नुपर्यो। अन्ततः डुंगा आयो र हामी चौध जना त्यसमा सवार भयौँ।
डुंगा नीलो पानी चिर्दै अघि बढ्यो। कोही फोटो खिच्दै थिए, कोही भिडियो बनाउँदै थिए त कोही तालका बारेमा कुरा गर्दै थिए। हाँसो र कुराकानीले डुंगा गुन्जिएको थियो।
तालको वरिपरिको सौन्दर्य समेटिने गरी फोटो र भिडियो खिच्यौँ। केही समयका लागि हामी पर्यटक मात्र थिएनौँ—राराको नीलो संसारभित्रका साक्षी बनेका थियौँ।
झन्डै ४५ मिनेट डुंगामा यात्रा गरेपछि किनारमा फर्कियौँ। त्यहाँ पनि केही तस्बिर र भिडियो खिच्यौँ। त्यसपछि करिब एक घण्टा पैदल हिँडेर सल्लेरी आइपुग्यौँ।
फर्किने क्रममा नेपाली सेनाको चेकपोस्टमा पुनः नाम दर्ता गराएर रारा क्षेत्रबाट बाहिर निस्कियौँ। सल्लेरी बजारमा खाना खायौँ। अब फर्किनु थियो। यात्राको साथी बनेको मोटरसाइकल तयार पारेर झोला बाँध्यौँ र पुनः यात्रामा निस्कियौँ।
मुगुको बाटो र मानिसको मन
सल्लेरी बजारबाट झन्डै सात किलोमिटर यात्रा गरेपछि मुगुको गमगढी बजारतर्फ मोडियौँ। रमणीय भूगोलमा अवस्थित गमगढी बजारको अवलोकन गर्दै तल्लो बाटो समात्यौँ।
केही ठाउँमा सडक राम्रो भए पनि धेरैजसो बिग्रिएको थियो। कतै मोटरसाइकल धकेल्दै त कतै पछाडि बस्ने साथीलाई झारेर कठिन बाटो पार गर्दै अगाडि बढ्यौँ।
जसोतसो मूल बाटोमा पुग्यौँ, जहाँ रारा राष्ट्रिय निकुञ्जको चेकपोस्ट थियो। त्यहाँ पनि आवश्यक नाम दर्ता गराएर अघि बढ्यौँ। फर्किने क्रममा निकुञ्जको प्रवेश क्षेत्रमा पनि पुनः नाम दर्ता गरायौँ।
भुलभुले पुगेपछि सागर कठायत सरलाई सम्पर्क गर्यौँ। उहाँ नजिकै हुनुहुँदो रहेछ। उहाँको मावलीमा भेट भयो। उहाँका मामासँग पनि परिचय भयो।
मामाले आफ्नै घरमा बसेर जान निकै आग्रह गर्नुभयो। यात्राका क्रममा आएको त्यो आत्मीय निम्तो मन छुने खालको थियो। तर त्यस रात जुम्लाको खलंगा बजार पुग्ने योजना बनिसकेको थियो। त्यसैले उहाँहरूलाई धन्यवाद दिँदै बिदा भएर अगाडि बढ्यौँ।
भुलभुलेदेखि खलंगा : अँध्यारो बाटोको परीक्षा
भुलभुलेबाट खलंगातर्फ लाग्दा यात्रा झन् कठिन हुँदै गयो। बाटो त थियो, तर रातमा त्यो सडक नामको मात्र सडकजस्तो लाग्थ्यो।
न घर, न पसल, न मानिस, न पानी, न बत्ती—कतै उज्यालो थिएन।
भोक र प्यासले सताइरहेको थियो। मोटरसाइकलको यात्रा निकै कष्टकर बन्यो। कतिपय ठाउँमा बाइक चलाउनुभन्दा धकेल्नु सजिलो लाग्थ्यो।
यही क्रममा अरू केही यात्रु भेटिए। उनीहरूको मोटरसाइकलको क्लच प्लेट बिग्रिएको रहेछ। जङ्गलको बीचमा उनीहरू बिचल्लीमा थिए। आफूले सक्ने सहयोग गर्न मन भए पनि परिस्थिति र समयको सीमाले चाहेजति सहयोग गर्न सकिएन।
त्यो रात हामीले अँध्यारो, भोक, प्यास र थकानसँगै बाटो काट्यौँ। अन्ततः जुम्लाको सदरमुकाम खलंगा पुग्दा रात निकै ढलिसकेको थियो। होटल खोजेर बास बस्यौँ।
त्यो रात निद्रा मात्र थिएन, थकानसँगको सम्झौता पनि थियो।
राजधानीभन्दा टाढा रहेका मुगु, जुम्ला र कालिकोटका भूगोल, मानिस र जीवनका कथालाई सम्झिँदै आफूलाई कर्णालीको कथाभित्र समेट्ने एउटा पृथक यात्रा थियो त्यो। यही अनुभूति मनमा बोकेर रात बिताएँ।
पाँचौँ दिन : जुम्लाबाट सुर्खेत
खलंगाबाट बिहानै यात्रा सुरु भयो। जुम्लाको खलंगादेखि नाग्मसम्मको सडक तुलनात्मक रूपमा पक्की र सहज थियो।
नाग्म बजारमा खाजा खायौँ। त्यसपछि मान्म बजार पुगेर केरा र सुन्तला किनेर खायौँ। लामो यात्रामा यस्ता साना कुराले पनि शरीरमा नयाँ ऊर्जा भरिदिँदा रहेछन्।
जति हिँडे पनि नसकिनेजस्ता लामा बाटाहरू पार गर्दै खिड्कीज्यूला र तल्लो डुंगेश्वर हुँदै टुनिबगर बजार पुग्यौँ। त्यहाँ खाना खाएपछि सुर्खेतको वीरेन्द्रनगरतर्फ झर्यौँ।
कर्णालीको किनार अब फर्किने दिशामा थियो। यात्रा एक बिन्दुमा पुगेर फर्किरहेको थियो। हामी यात्रीहरू पनि फर्किरहेका थियौँ।
जुन दृश्यहरू आउँदा नयाँ लागेका थिए, तिनै दृश्य फर्किँदा परिचित भइसकेका थिए। बाटो उही थियो, तर मनमा त्यसको अर्थ बदलिएको थियो।
बड्डीचौर हुँदै वीरेन्द्रनगर आइपुग्दा साँझ परिसकेको थिएन। त्यसैले सम्भव भएसम्म केही ठाउँ घुम्नुपर्छ भन्ने लाग्यो। रिमरिम साँझ पर्दै गर्दा वीरेन्द्रनगरस्थित चर्चित बुलबुले तालको अवलोकन गर्यौँ।
राराको विशालता देखेर फर्किएको मन अर्को तालको किनारमा उभिँदा पनि पानीसँग जोडिएको प्रकृतिको आफ्नै भाषा सुनिरहेको थियो।
सानैमा सुनेको ‘सुर्खेत बुलबुल ताल’ गीत त्यही तालको किनारमा बसेर गुनगुनाउँदै गर्दा साँझ पर्यो।
सुर्खेतमा छुटेको एउटा भेट
वीरेन्द्रनगरमा राजीव सन्यासी दाजुलाई भेट्ने इच्छा थियो। उहाँसँग पहिल्यै चिनजान थियो। झन्डै तीन वर्ष सँगै सहकार्य गरेका हामी भेट्न नपाउँदा निकै खल्लो महसुस भयो।
फोनमा सम्पर्क गर्दा उहाँ अप्ठ्यारो परिस्थितिमा हुनुहुँदो रहेछ। भेट्ने बाचा भए पनि अन्तिम क्षणमा भेट हुन सकेन।
यात्राले कहिलेकाहीँ भेटहरू दिन्छ, कहिलेकाहीँ अधुरा भेटका सम्झना।
राजीव दाजुसँगको त्यो भेट हुन नसकेको क्षण पनि यात्राको अधुरो सम्झनामध्ये एउटा बन्यो।
छैटौँ दिन : सुर्खेतदेखि नारायणगढ
सुर्खेतबाट बिहानै यात्रा सुरु भयो। बिहानको पहिलो गन्तव्य काक्रेबिहार थियो। त्यहाँको अवलोकन गरेर फर्किएपछि कोहलपुरतर्फ लाग्ने योजना बनायौँ।
बाटैमा पर्ने देउती बज्यैको मन्दिरमा पुगेर केहीबेर दर्शन गर्यौँ। त्यसपछि यात्रा अगाडि बढाउँदै छिन्चु बजार पुग्यौँ। त्यहाँ खाजा खाएर फेरि बाटो समात्यौँ।
भेरी नदीको पुलमा केहीबेर विश्राम गर्यौँ। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जतर्फ लाग्यौँ। बबई नदीको पुलको दृश्य क्यामेरामा सङ्गाल्दै जङ्गलैजङ्गल छिचोल्दै अगाडि बढिरह्यौँ।
रारा क्षेत्रको चिसो पहाडी वनबाट अब सालका रूखले ढाकिएको तराईको वनतर्फ यात्रा बदलिएको थियो। सालका अग्ला रूखहरू बाटोको दुवैतिर उभिएका थिए। सडक जङ्गललाई चिर्दै अघि बढिरहेको थियो।
हिजो हिमालको चिसोमा काँपेको शरीर अब तराईको न्यानो हावासँग परिचित हुँदै थियो। बर्दिया पार गरेर कोहलपुर आइपुग्यौँ।
कोहलपुर पार गरेको केही समयपछि साथीको मोटरसाइकलमा समस्या आयो। समस्या समाधान गरेपछि यात्रा पुनः अघि बढ्यो।
लमही बजारमा पुगेर खाना खायौँ। सकेसम्म गल्छीसम्म पुग्ने योजना थियो। त्यसैले यात्रालाई निरन्तरता दियौँ।
महेन्द्र राजमार्गमा सडक निर्माणको काम भइरहेको हुँदा चनौटाबाट दक्षिणतर्फ भित्र छिरेर लुम्बिनी हुँदै भुमहीतर्फ लाग्यौँ। भुमहीदेखि चितवनसम्मको बाटो तुलनात्मक रूपमा राम्रो थियो। तर सूर्यदेवले बिदा मागिसकेकाले सावधानीपूर्वक अगाडि बढ्यौँ।
राति अबेर नारायणगढ पुगेर होटल खोजी बास बस्यौँ।
होटलको कोठामा झोला राखेर बस्दा शरीरले अब सातौँ दिनको बाटो पनि बाँकी रहेको सम्झायो। शरीर यात्राले थाकिसकेको थियो, तर घरको दूरी निकै छोटो भइसकेको थियो।
अघिल्ला दिनका दृश्यहरू नयनमा घुमाउँदै रात बिताएँ।
सातौँ दिन : साथीहरू छुटे, म एक्लै राजधानीतर्फ
नारायणगढको बिहान अलि फरक थियो। अब रारा जाने बाटो थिएन, घर फर्किने बाटो थियो।
मुग्लिन पार गर्दा पहाडका घुम्तीहरूले यात्राको सुरुआत सम्झाइरहेका थिए। केही दिनअघि यही भूगोल पार गर्दै हामी टाढा जाँदै थियौँ। आज त्यही बाटोले हामीलाई घरतिर फर्काउँदै थियो।
गल्छी पुग्दा सात दिनअघि सुरु भएको यात्राको एउटा पूर्ण चक्र पूरा भयो।
गल्छीमा साथीहरू छुट्टिए। अब बाँकी बाटो एक्लै थियो। गल्छीबाट काठमाडौँसम्मको यात्रा मैले स्कुटीमा एक्लै तय गरेँ।
स्कुटीको ह्यान्डल समातेँ। सडक अगाडि थियो। अब साथमा साथीहरूको आवाज थिएन, तर पछाडि सात दिनका अनगिन्ती आवाजहरू थिए।
गल्छीको सडक, दाउन्नेको खाना, अमिलियाको खाजा, तुलसीपुरको बाटो, कर्णालीको किनार र नदीको गर्जन।
मोटरसाइकलको इन्जिन, राराको पानीमा डुंगाको छाल, मुर्मा टपको हावाको सुस्केरा र साथीहरूको हाँसो।
नाग्मकी आमाको अनुपम उपहार स्याउ, खलंगाको अँध्यारो, राराको किनारमा साथीहरूले लगाइदिएको दशैँको टीका, गणेश सरको परिवारले दिएको माया र सागर सरसँगको भेट।
मुगुको कच्ची बाटो, भुलभुलेको अँध्यारो, खलंगाको थकान र अन्ततः गल्छीबाट एक्लै फर्किएको बाटो।
सबै सम्झना एकैपटक मनमा आए।
शरीरले यात्रा पूरा गर्दै थियो, तर मन भने अझै राराकै किनारमा थियो।
रारा : आँखाले देखेकोभन्दा मनले बुझेको
रारा पुग्नुअघि मलाई लाग्थ्यो—म एउटा सुन्दर ताल हेर्न जाँदैछु।
फर्किएपछि बुझें—रारा एउटा ताल मात्र रहेनछ।
त्यहाँ पुग्ने कठिन बाटो पनि रारा रहेछ। कर्णालीको किनार पनि रारा रहेछ। हिमालका काखमा बसेका बस्तीहरू पनि राराका कथा रहेछन्। स्याउका बोट र भेडाका बथान पनि त्यही यात्राका सौन्दर्य रहेछन्।
बाटोमा भेटिएकी आमाको निःस्वार्थ स्याउ पनि रारा रहेछ। गणेश उपाध्याय सरको परिवारको आत्मीयता पनि रारा रहेछ। सागर सरका मामाको आत्मीय निम्तो पनि रारा रहेछ।
मुर्मा टपमा नेपालको झन्डा बोकेर उभिएको त्यो गर्विलो क्षण पनि रारा नै रहेछ।
राराको किनारमा साथीहरूले लगाइदिएको दशैँको टीका र हजुरआमाको सम्झनामा रसाएका आँखा पनि यही यात्राका अमूल्य अनुभूति रहेछन्।
त्यसैले रारालाई केवल आँखाले हेरेर फर्किन सकिँदैन रहेछ। रारालाई त मनमा लिएर फर्किनुपर्दोरहेछ।
यात्रा गन्तव्यमा पुगेर मात्र सकिँदैन रहेछ। बाटोमा भेटिएका मानिस, पार गरेका घुम्ती, भोगेका कठिनाइ र अचानक मन छोएर जाने दृश्यहरूमा यात्रा लामो समयसम्म बाँचिरहँदो रहेछ।
मेरो रारा यात्रा पनि त्यस्तै भयो—सात दिन, दैनिक बाह्र–तेह्र घण्टासम्मको मोटरसाइकल यात्रा, हजारौँ घुम्ती, कच्ची र पक्की सडक, हिमालका काखमा बसेका बस्ती, कर्णालीको वेग, चिसो हावा, साथीहरूको साथ र अनगिन्ती सम्झना।
अन्तिम शब्द : सात दिनको बाटो सकियो, मन अझै रारामै छ
सात दिनपछि काठमाडौँ फर्किएँ।
शरीर थाकेको थियो, तर मनमा एउटा अनौठो शान्ति थियो।
मैले एउटा ताल देखेर मात्र फर्केको थिइनँ। मैले आफ्नो देशको एउटा फरक अनुहार देखेर फर्किएको थिएँ—कठिन सडकभित्र लुकेको सौन्दर्य, दुर्गमताभित्र बाँचेको आत्मीयता र अभावबीच पनि उदार रहन जाने मानिसहरूको संसार।
रारा आज पनि त्यहीँ छ—हिमालको काखमा नीलो पानी बोकेर।
तर मेरो मनमा रहेको रारा भने त्यो तालभन्दा अलि फरक छ। त्यहाँ सात दिनसम्म शरीरले भोगेको लामो बाटो छ। साथीहरूको साथ छ। अपरिचित मानिसहरूले दिएको आत्मीयता छ। हजुरआमाको सम्झना छ। राराको किनारमा निधारमा परेको दशैँको टीका छ र मुर्मा टपमा देखिएको अविस्मरणीय सूर्योदय छ।
सायद यही नै नियात्राको सुन्दरता हो—गन्तव्यमा पुगेपछि पनि यात्रा मनभित्र चलिरहन्छ।
राराले मलाई त्यही दियो—एउटा नीलो तालभन्दा धेरै ठूलो सम्झना।
सात दिनको बाटो सकियो, तर रारासम्म पुगेको त्यो मन अझै फर्किएको छैन।
राराको नीलो आँखामा, मेरो मनको यात्रा अझै जारी छ।
लेखक : अमन एकल रामकृष्ण पाण्डे





मेरो नियात्रालाई स्थान दिनुभएकोमा हार्दिक धन्यवाद
यो यात्रा केवल यात्रा मात्रै रहेन अनुभवको एउटा बेग्लै पाटो बन्यो जस्ले सदैव बिकट जिल्लाका रुपमा चिनिएको कालिकोट मुगु जुम्ला जस्ता जिल्लाहरुका गाउँ र बस्ती हरु नियाल्न पाईयो ति बाटो गोरेटो र घोडेटो हरुमा आफैले पाईला चलाउदै अनुभवका पाना पल्टाउन पाईयो त्यहि अनुभव सबैलाई सेयर गर्न पाए हार्दिक धन्यवाद