कवाडी बेचेर विद्यार्थीले राहत कोषमा दिए १० हजार १५० रुपैयाँ

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

दोलखा । बिगु गाउँपालिका–५, लोटिङ चिलंखास्थित देवीटार माध्यमिक विद्यालयका विद्यार्थीहरूले पुराना किताब–कापी तथा कवाडी सामग्री बिक्री गरेर संकलन भएको रकम प्रधानमन्त्री राहत कोषमा १० हजार १५० रुपैयाँ सहयोग गरेका छन्।

देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि विद्यार्थीहरूले आफ्नो तर्फबाट सकेको योगदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हुन्। विद्यालयमा प्रयोग भइसकेका पुराना किताब–कापी, कागज तथा अन्य कवाडी सामग्री संकलन गरी बिक्री गरेर प्राप्त रकम राहत कोषमा जम्मा गरिएको हो।

विद्यार्थीहरूले ठूलो रकम नभए पनि आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिएका छन्। उनीहरूको यो पहलले ‘थोरै–थोरै सहयोगले पनि विपद्मा परेका नागरिकका लागि ठूलो राहत बन्न सक्छ’ भन्ने भावना उजागर गरेको छ।

पढाइसँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र सहयोगको भावना विकास गर्ने उद्देश्यले विद्यार्थीहरूले गरेको यो कार्य विद्यालय परिवार तथा स्थानीय समुदायका लागि समेत प्रेरणादायी बनेको छ।

विद्यार्थीहरूको यस मानवीय कार्यको प्रशंसा गर्दै विद्यालयले आगामी दिनमा पनि सामाजिक सेवा तथा विपद्का समयमा सहयोग गर्ने अभियानमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *