सुस्ताको बाँध पुनर्निर्माणमा विद्यार्थी नेता मैदानमा दीपक धामीसहितको टोलीले गर्‍यो श्रमदान

0Shares

सुस्तामा SSB ले भत्काएको बाँध पुनर्निर्माणमा विद्यार्थी नेताको श्रमदान अध्यक्ष दीपक धामीसहितको टोली जुट्यो
विनोद अविरल सुस्ता ।

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

नवलपरासी बर्दघाट–सुस्ता पश्चिम को सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल SSB ले भत्काएको भनिएको बाँध पुनर्निर्माणका लागि विद्यार्थी नेताहरू श्रमदानमा जुटेका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु का अध्यक्ष दीपक धामीसहित विद्यार्थी नेताहरू सुस्ता पुगेर स्थानीयसँगै बाँध पुनर्निर्माणको काममा श्रमदान गरेका हुन्।

सीमा क्षेत्रमा रहेको बाँध भत्किएपछि स्थानीय बासिन्दालाई वर्षायाममा बाढी तथा डुबानको जोखिम बढेको भन्दै त्यसको तत्काल पुनर्निर्माण गर्नुपर्ने आवश्यकता देखिएको थियो। स्थानीयको समस्या समाधानमा ऐक्यबद्धता जनाउँदै विद्यार्थी नेताहरूले श्रमदानमार्फत पुनर्निर्माण अभियानमा साथ दिएका हुन्।

श्रमदानका क्रममा विद्यार्थी नेताहरूले स्थानीयवासीसँग प्रत्यक्ष रूपमा छलफल गर्दै सीमा क्षेत्रका समस्या, बाँधको अवस्था तथा वर्षायाममा हुने सम्भावित जोखिमबारे जानकारीसमेत लिएका थिए।

सुस्ता क्षेत्र लामो समयदेखि सीमा विवाद, नदी कटान, बाढी तथा डुबानजस्ता समस्याबाट प्रभावित हुँदै आएको क्षेत्र हो। स्थानीयका अनुसार बाँध तथा तटबन्ध कमजोर हुँदा नारायणी नदीको बहाव बढेको समयमा बस्ती र खेतीयोग्य जमिनमा क्षति पुग्ने जोखिम रहन्छ।

अनेरास्ववियुका अध्यक्ष धामीले सीमा क्षेत्रका नागरिकको समस्या राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिँदै स्थानीयको सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए।

विद्यार्थी नेताहरूको श्रमदानले बाँध पुनर्निर्माणमा स्थानीयलाई समेत थप उत्साहित बनाएको स्थानीयले बताएका छन्। उनीहरूले सीमा क्षेत्रको संरक्षणसँगै स्थानीयको सुरक्षा र आधारभूत आवश्यकताको दीर्घकालीन समाधानका लागि सरकारसँग पहल गर्न माग गरेका छन्।

बाँध पुनर्निर्माणको कामलाई निरन्तरता दिँदै स्थानीय, विद्यार्थी संगठन तथा सम्बन्धित निकायको समन्वयमा थप संरचना निर्माण र संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *