प्रेस कार्डको दुरुपयोग गरी आपराधिक गतिविधि गर्नेमाथि कारबाहीको माग : पत्रकार महासंघ सिराहाको ध्यानाकर्षण ।।।

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

नेपाल पत्रकार महासंघ सिराहा शाखाले पत्रकारको परिचयपत्र (प्रेस कार्ड) को दुरुपयोग गरी आपराधिक गतिविधिमा संलग्न हुने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा लागूऔषध नियन्त्रण ब्युरोले सार्वजनिक गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ब्युरोका अनुसार ‘जनजागरण खबर’को न्यूज रिपोर्टर परिचयपत्र बोकेका उमेश कुमार यादव लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ परेका थिए।

विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै प्रेस परिचयपत्रको आडमा कुनै पनि प्रकारका गैरकानुनी वा आपराधिक गतिविधिमा संलग्न हुने जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने महासंघले स्पष्ट पारेको छ।

महासंघले पछिल्लो समय सिराहा जिल्लामा केही पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यम तथा युट्युब च्यानलको नाममा सरकारी तथा निजी कार्यालयमा अनावश्यक दबाब सिर्जना गर्ने, आर्थिक लाभ लिन खोज्ने, सीमा क्षेत्रमा प्रेस कार्डको दुरुपयोग गर्ने तथा शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने गुनासा पटक–पटक प्राप्त भएको उल्लेख गरेको छ।

प्रेस कार्ड प्रयोग गर्ने सबै व्यक्ति पत्रकार नहुने स्पष्ट गर्दै महासंघले पत्रकारिता जिम्मेवार, मर्यादित र आचारसंहितामा आधारित पेशा भएको जनाएको छ। पत्रकारिताको नाम, सञ्चारमाध्यमको परिचय वा प्रेस कार्डको दुरुपयोग गरी गरिने कुनै पनि गैरकानुनी तथा अनैतिक गतिविधि स्वीकार्य नहुने महासंघको भनाइ छ।

महासंघले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायलाई यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडा निगरानी, निष्पक्ष अनुसन्धान तथा कानुनी कारबाही गर्न आग्रह गरेको छ। साथै, पत्रकारिताको आवरणमा गैरकानुनी कार्य गरेको पाइए त्यस्ता व्यक्तिको वास्तविक पत्रकारिता हैसियतसमेत छानबिन गर्न सम्बन्धित निकायसँग अनुरोध गरेको छ।

नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बन्ता यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिताप्रति महासंघ प्रतिबद्ध रहेको उल्लेख गर्दै पत्रकारिताको नाममा अपराध गर्ने जो–कोहीलाई कानुनको कठघरामा उभ्याउन राज्यका निकायसँग पूर्ण सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *