झुटा विवरण पेश गरी भूमिहीनको नाममा जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा साउन १९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा नक्कली कागजात पेश गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

समितिले जारी गरेको सूचनाअनुसार जग्गा प्राप्त गर्ने उद्देश्यले आफ्नो वास्तविक विवरण लुकाउने, गलत सूचना उपलब्ध गराउने वा नक्कली कागजात तथा अभिलेख पेश गर्ने, साथै त्यस्ता विवरणका आधारमा जग्गा वा संरचना प्राप्त गरेको वा प्राप्त गर्ने प्रयास गरेको पाइएमा सम्बन्धित व्यक्तिविरुद्ध कानुनबमोजिम कारबाही अघि बढाइनेछ।

समितिले झुटा विवरण प्रमाणित भएमा त्यस्ता विवरण सिफारिस गर्ने सिफारिसकर्तासमेत कानुनी कारबाहीको दायरामा आउने स्पष्ट पारेको छ।

सूचनामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२(घ) बमोजिम यस्ता कसुरमा सजायको व्यवस्था रहेको उल्लेख गरिएको छ।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र कानुनसम्मत बनाउन सबै सरोकारवालाले सत्य, सही र प्रमाणित विवरण मात्र पेश गर्न समितिले आग्रह गरेको छ। साथै, झुटा विवरण पेश गर्ने वा गराउने कार्य कानुनविपरीत भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *