काठमाडौंमा निम्सदाइसहित ब्रोड पिक दुर्घटनाका १० पर्वतारोहीप्रति दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली
2026-08-04झुटा विवरण पेश गरी भूमिहीनको नाममा जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने
2026-08-04
सिराहाको धनगढीमाई–१४ लगायत उत्तरी भेगमा धान रोपाइँ सम्पन्न, वर्षा र मल अभावले किसान चिन्तित
सिराहाको धनगढीमाई–१४ लगायत उत्तरी भेगमा धान रोपाइँ सम्पन्न, वर्षा र मल अभावले किसान चिन्तित
थाङमिचागु डटकम संवाददाता

सिराहा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने धनगढीमाई नगरपालिका–१४ लगायत आसपासका ग्रामीण बस्तीहरूमा यस वर्षको धान रोपाइँ सम्पन्न भएको छ। तर समयमै पर्याप्त वर्षा नहुनु र रासायनिक मलको अभावका कारण किसानहरू उत्पादन घट्ने चिन्तामा परेका छन्।
दुर्गम क्षेत्रका रूपमा परिचित गागण, मागन, अमले, मैनामैनी, राईरइनी, दलमे, खुट्टी, महाजनी, मड्यान, देउसे, मोतीश्री, अमिल्टार, हात्तीढुङ्गा, करमचौरी, कसाईटार, कुम्राहा, कालापानी, सिम्ले, असारी, डावर, विष्णुपुर, भसुवा, भमुरे, मुकसार, गोला र घुर्मीलगायतका गाउँबस्तीमा किसानहरूले धान रोपाइँ सम्पन्न गरेका हुन्।
स्थानीय किसानका अनुसार यस क्षेत्रमा केहीले ब्याडबाटै धान रोप्ने गरेका कारण खेती समयमै सम्पन्न हुन्छ भने केहीले खाउर (ब्याडबाट बिरुवा उखेलेर पुनः रोप्ने विधि) प्रयोग गर्ने भएकाले साउन महिनाभरि नै रोपाइँको काम चल्ने गर्दछ।
धान रोपाइँ सम्पन्न भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा किसानहरू निराश बनेका छन्। खेतीको मुख्य समयमा रासायनिक मलको चरम अभाव झेल्नुपरेको र समयमै पानी नपरेकाले यस वर्ष धान उत्पादनमा उल्लेख्य कमी आउने उनीहरूको अनुमान छ।
स्थानीय किसानहरू भन्छन्, “खेतीको मुख्य समयमा न पर्याप्त पानी पर्यो, न समयमा मल नै पाइयो। जसोतसो रोपाइँ त सकियो, तर उत्पादन घट्ने निश्चितजस्तै देखिएको छ।
सिँचाइको पर्याप्त सुविधा नभएकाले आकाशे पानीकै भरमा खेती गर्नुपर्ने धनगढीमाईको उत्तरी दुर्गम भेगका किसानहरूका लागि प्राकृतिक प्रतिकूलता र कृषि सामग्रीको अभाव वर्षेनि मुख्य चुनौती बन्दै आएको छ। यस वर्ष पनि यिनै समस्याले धान उत्पादनमा प्रत्यक्ष असर पर्ने देखिएको छ। किसानहरूले समयमै मल उपलब्ध गराउने, सिँचाइ सुविधा विस्तार गर्ने तथा कृषि क्षेत्रमा प्रभावकारी सरकारी सहयोग आवश्यक रहेको बताएका छन्।





