गरुडदल गणको १४६औँ वार्षिकोत्सव: छात्रावासका बालिकासँग बिहानी भोजन

0Shares

वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै गरुडदल गणद्वारा आमाको माया छात्रावासमा विशेष बिहानी भोजन

थाङमिचागु डटकम संवाददाता

दोलखा, साउन १८ | थाङमिचागु डटकम

नेपाली सेनाको चरिकोटस्थित गरुडदल गणले आफ्नो १४६औँ वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै भिमेश्वर नगरपालिका–६ रामकोटस्थित आमाको माया छात्रावासमा आश्रित बालिकाहरूसँग विशेष बिहानी भोजन कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार गणपति कर्णेल लोकसागर कटुवालको नेतृत्वमा पुगेको नेपाली सेनाको टोलीले छात्रावासमा आश्रित करिब ४० जना बालिकासँग सामूहिक रूपमा बिहानी भोजन गरेको थियो। सो क्रममा सेनाका अधिकारीहरूले बालिकाहरूको स्वास्थ्य अवस्था, शिक्षा, दैनिक जीवन तथा आवश्यकताबारे जानकारी लिँदै उनीहरूसँग आत्मीय संवाद गरेका थिए।

कार्यक्रममा सेनाका अधिकारी र बालिकाबीच हाँसो–खुसी, सद्भाव र आत्मीयता साटासाट भएको थियो। वार्षिकोत्सवलाई औपचारिक समारोहमा मात्र सीमित नराखी सामाजिक सेवामार्फत समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

सहभागीहरूले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले बालबालिकामा आत्मविश्वास र उत्साह थप्नुका साथै नेपाली सेना र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *