मेची राजमार्ग अवरुद्ध: गोलाखर्क–राजदुवालीमा सडक भासिँदा इलाम–झापा सडक सम्पर्क ठप्प

0Shares

मेची राजमार्ग अवरुद्ध: गोलाखर्क–राजदुवालीमा सडक भासिँदा इलाम–झापा सडक सम्पर्क ठप्प

इलाम, असार २९ — लगातारको अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को गोलाखर्क–राजदुवाली क्षेत्रमा सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सडकको अवस्था अत्यन्त जोखिमपूर्ण बनेपछि सबै प्रकारका सवारीसाधन सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको हो। यसअघि सीमित रूपमा मोटरसाइकल सञ्चालन भइरहेको भए पनि सडक थप कमजोर बन्दै गएपछि यात्रुको सुरक्षालाई मध्यनजर गर्दै पूर्ण रूपमा आवतजावत बन्द गरिएको प्रशासनले जनाएको छ।

सडक अवरुद्ध भएसँगै इलाम सदरमुकाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मुख्य सडक सम्पर्क विच्छेद भएको छ। जसका कारण सयौँ यात्रु, मालवाहक सवारीसाधन तथा अन्य सार्वजनिक र निजी सवारी विभिन्न स्थानमा रोकिएका छन्।

यता, वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन तथा केचना–कञ्चनजङ्घा सडकको पुवा खोलास्थित डाइभर्सन पनि बाढीले बगाएपछि आवतजावत झन् कठिन बनेको छ।

सडक बन्द भएपछि अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारणसमेत समस्यामा परेका छन्। केही यात्रु जोखिम मोलेर भासिएको सडकखण्ड पैदल पार गर्दै गन्तव्यतर्फ जान बाध्य भएका छन्।

सम्बन्धित निकायले सडक मर्मत तथा वैकल्पिक यातायात व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ। निरन्तर वर्षा भइरहेकाले पहाडी जिल्लामा यात्रा गर्दा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *