मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
पीएनसीसी मलेसियाद्वारा अध्यागमन कानुन र श्रम स्वीकृति नवीकरण विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
पीएनसीसी मलेसियाद्वारा अध्यागमन कानुन र श्रम स्वीकृति नवीकरण विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
क्वालालम्पुर। प्रवासी नेपाली समन्वय समिति (PNCC) मलेसियाको आयोजनामा “मलेसियाको अध्यागमन कानुन” तथा “श्रम स्वीकृति नवीकरण” विषयक दुई दिने अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम मिति ३१ जनवरी (शनिबार) र १ फेब्रुअरी (आइतबार) मझेरी रेस्टुरेन्टको सभाहल, क्वालालम्पुरमा आयोजना गरिएको हो।
विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागितामा सम्पन्न पहिलो दिनको कार्यक्रम “मलेसियाको अध्यागमन कानुन” विषयमा केन्द्रित रहेको थियो। कार्यक्रममा बार काउन्सिल सदस्य तथा अध्यागमन कानुन क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएका मिस्टर सिआर सिल्भा स्रोत व्यक्तिका रूपमा सहभागी रहनुभएको थियो। उहाँले इमिग्रेसन एक्ट अन्तर्गतका सेक्सन ५१(५)(६), सेक्सन ३४ तथा सेक्सन ३५ सम्बन्धी कानुनी प्रावधानहरूबारे विस्तृत जानकारी दिँदै सहभागीहरूलाई कानुनी सचेतना प्रदान गर्नुभयो।
त्यसैगरी, दोस्रो दिन अर्थात् १ फेब्रुअरी आइतबार सम्पन्न कार्यक्रम “श्रम स्वीकृति नवीकरण” विषयमा केन्द्रित थियो। उक्त कार्यक्रममा नेपाली राजदूतावास, मलेसियाका श्रम काउन्सिलर एवं उपसचिव कृष्ण भुसाल प्रमुख स्रोत व्यक्तिका रूपमा रहनुभएको थियो। करिब सवा चार लाख नेपाली श्रमिकहरूको अभिभावकत्वको जिम्मेवारी सम्हाल्दै आउनुभएका भुसालले श्रम स्वीकृति नवीकरण प्रक्रिया, यसको आवश्यकता, लाभ तथा व्यवहारिक पक्षहरूबारे विस्तृत जानकारी दिनुभयो। साथै, दूतावासको संरचना, कार्यशैली तथा श्रमिकसँग सम्बन्धित विविध समस्याहरूमाथि सहभागीहरूले उठाएका प्रश्नहरूको स्पष्ट जवाफ समेत प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै मेरिड्यु परियोजना संयोजक रेखा लिङदमले नेपाली श्रमिकलाई लक्षित गर्दै यस्ता अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रमहरू पीएनसीसीको मेरिड्यु परियोजना अन्तर्गत निरन्तर सञ्चालन हुँदै आएको र आगामी दिनहरूमा पनि यसलाई अझ प्रभावकारी ढंगले निरन्तरता दिइने जानकारी दिनुभयो।
दुई दिने कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै पीएनसीसी मलेसियाका संयोजक पूर्ण सुब्बाले भन्नुभयो,
“संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरू माझ यस प्रकारको कार्यक्रम आयोजना गर्नुको उद्देश्य यहाँ प्राप्त ज्ञान र जानकारी सम्बन्धित समुदायसम्म पुर्याउनु हो। सहभागी प्रतिनिधिहरूले त्यो भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास पीएनसीसीले लिएको छ।
कार्यक्रमले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई कानुनी तथा प्रशासनिक विषयमा सचेत बनाउँदै सुरक्षित र मर्यादित श्रम जीवनतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




