बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको निरन्तर उद्धार अभियान, बालबालिकादेखि वृद्धासम्म सुरक्षित उद्धार

0Shares

बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको निरन्तर उद्धार अभियान, बालबालिकादेखि वृद्धासम्म सुरक्षित उद्धार

थाङमिचागु डटकम संवाददाता

काठमाडौं, असोज १९।
अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँगको सहकार्यमा उद्धार कार्य तीव्र पारेको छ।सेनाले आज बेलुकी ६ बजेसम्मको उद्धार विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा सयौं नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याएको जानकारी दिएको छ।

मोरङ

मोरङको कटहरी गाउँपालिका–४, नयाँबजारस्थित लोहन्द्रा खोलामा आएको बाढीले सुकुम्बासी टोल डुबानमा परेको थियो। उक्त क्षेत्रमा खटिएको शिवदल गणको टोलीले ६ जना बालबालिकालाई सुरक्षित स्थानमा सार्न सफल भएको सेनाले जनाएको छ।

झापा

झापा नगरपालिका–१, मिलनबस्तीमा डुबानमा परेका १५ जना (१० पुरुष र ५ महिला) लाई अरिदमन गणको टोलीले मोटरबोटको सहायतामा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। त्यसैगरी माई खोलाले हुलाकी राजमार्ग कटाउँदा करिब ७०–८० जना स्थानीय फसेका थिए।

काठमाडौँबाट खटिएको नेपाली सेनाको हेलिकोप्टरसहितको उद्धार टोलीले १६ जनालाई हवाईमार्ग र २० जनालाई मोटरबोटमार्फत उद्धार गरेको छ। बाँकी व्यक्तिहरुको उद्धार कार्य निरन्तर जारी छ।

झापा नगरपालिका–२ को सडक बस्ती र वडा नं. ६, स्वर्णमति युवा टोलमा डुबानमा परेका २४ जना (१३ महिला, ११ पुरुष) लाई पनि सेनाको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ।

इलाम

इलाम नगरपालिका–६, घोस इलाकामा पहिरोमा पुरिएका व्यक्तिहरुको खोज तथा उद्धार कार्यमा रणशार्दुल गण खटिएको छ। उक्त टोलीले ५ जनाको शव फेला पारेको र एक जनालाई जीवितै उद्धार गरी जिल्ला अस्पताल इलाम पठाएको छ। सेनाका अनुसार बाँकी फसेका व्यक्तिहरु सुरक्षित उद्धार नहुँदासम्म उद्धार कार्य निरन्तर जारी रहनेछ।

नेपाली सेनाले जनताको जीवन र सुरक्षाका लागि गरेको यो निरन्तर प्रयासले विपद् व्यवस्थापनमा सेनाको भूमिका पुनः उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *