नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विवादास्पद

0Shares

नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विवादास्पद

थाङमिचागु डटकम संवाददाता

काठमाडौँ – सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि देशभर बहस सुरु भएको छ।

सामाजिक सञ्जाल बन्दसँगै लाखौँ युवा बेरोजगार हुने, अरबौँको राजस्व घट्ने र नेपाल टेलिकमजस्ता संस्थाहरू घाटामा पर्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्। नेपालमा भित्रिने ठूलो मात्रामा रेमिट्यान्ससमेत प्रभावित हुने आकलन गरिएको छ।

हाल करिब १ करोड नेपाली विदेशमा रहेका छन्। काम, अध्ययन वा अन्य कारणले परदेशिएका ती नेपालीले परिवारसँग सम्पर्क गर्ने प्रमुख माध्यम सामाजिक सञ्जाल नै हो। तर सञ्जाल बन्द भएपछि सम्पर्कमा समस्या आउने, वैकल्पिक उपाय खोज्नुपर्ने अवस्था देखिएको छ।

सञ्जाल बन्द भएपछि धेरैले भर्चुअल प्राइभेट नेटवर्क (VPN) प्रयोग गर्न थालेका छन्। तर सस्तो वा असुरक्षित VPN प्रयोग गर्दा मोबाइल ह्याक हुने, बैंक खाता रित्तिने जस्ता जोखिम बढ्ने विज्ञहरूले बताएका छन्।

विशेषज्ञहरूले नेपाललाई चीनसँग तुलना गर्दै भनेका छन्, “चीनले सामाजिक सञ्जाल बन्द गरे पनि आफ्ना नागरिकलाई सूचना पहुँच दिन WeChat जस्ता वैकल्पिक एप विकास गरेको छ। तर नेपालमा सूचना पहुँचका लागि त्यस्तो वैकल्पिक प्लेटफर्म निर्माण गरिएको छैन।”

सर्वोच्च अदालतले यसअघि नै सरकारलाई सामाजिक सञ्जाल व्यवस्थित गर्न कानुन बनाउन निर्देशन दिएको भए पनि सरकारले कानुन बनाउनुभन्दा सञ्जाल नै बन्द गर्नेतर्फ ध्यान दिएको भन्दै आलोचना भइरहेको छ। यसैबीच बिहीबारदेखि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्जनौँ रिट दर्ता भइसकेका छन्।

विश्लेषकहरूका अनुसार, सामाजिक सञ्जाललाई सूचीकरण गर्ने प्रावधान ल्याउन सरकारले विज्ञापन प्रतिबन्धजस्ता वैकल्पिक उपाय अपनाउन सक्थ्यो। किनभने सामाजिक सञ्जाल कम्पनीहरूको प्रमुख आम्दानी विज्ञापन नै भएकाले यस्तो कानुन बने विज्ञापन चलाउन बाध्य भई सूचीकरण गर्न आइपुग्थे। तर सरकार नियन्त्रण र आलोचना रोक्नेतर्फ लागेको आरोप लागेको छ।

सरकारले हाल सार्वजनिक गरेको विवरणअनुसार, विदेशी सामाजिक सञ्जालमध्ये केवल एक्स (ट्विटर) ले संचार मन्त्रालयसँग सम्पर्क गरेको छ भने बाँकी २४ सञ्जालले अझै सम्पर्क नगरेको बताइएको छ।

संविधानले नागरिकलाई दिइएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्ने सरकारको प्रयास असंवैधानिक हुने प्रष्ट संकेत गर्दै विज्ञहरूले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय दीर्घकाल टिक्न नसक्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *