धनगढीमाईको नैंनपुरमा स्वास्थ्य भवन निर्माणको कार्य तीब्र गतिमा अगाडि– बिरामीलाई राहत, संरचना आधुनिक र बलियो ।।।

0Shares

धनगढीमाईको नैंनपुरमा स्वास्थ्य भवन निर्माणको कार्य तीब्र गतिमा अगाडि– बिरामीलाई राहत, संरचना आधुनिक र बलियो ।।।

थाङमिभागु डटकम संवाददाता


सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–९, नैंनपुर (मुसहर्निया) मा निर्माणधीन स्वास्थ्य भवनको कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ । लामो समयदेखि स्वास्थ्य सेवाको पहुँच नपुगेको यो क्षेत्रका स्थानीयवासी अब भने आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशामा छन् ।

नगरपालिकाको पहलमा अघिल्लो चालु आर्थिक वर्षको योजना अनुसार सुरु गरिएको भवन निर्माण कार्यले हालसम्म भौतिक पूर्वाधारको अधिकांश भाग पूरा गरिसकेको छ । नगरको प्राविधिक टोलीले नियमित अनुगमन गरिरहेकाले काम गुणस्तरीय र मापदण्ड अनुसार भइरहेको पाइएको छ । अनुगमनको क्रममा भवनको संरचना बलियो, टिकाउ र आधुनिक प्रविधिमा आधारित रहेको प्रष्ट देखिएको छ ।

धनगढीमाई नगरपालिकामा स्वास्थ्यसेवाको अभावकै कारण विशेष गरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरू उपचारका लागि टाढासम्म धाउनु पर्ने बाध्यता थियो । विशेष गरी वेडको अभावमा स-साना समस्या लिएर आएका बिरामीहरू समेत नियमित सेवा नपाउँदा थप सास्ती बेहोर्नुपरेको थियो ।

तर अब भवन सम्पन्न भएपछि आधारभूत उपचार सेवा, सामान्य शल्यक्रिया, सुत्केरी सेवा, बालबालिका जस्ता सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले स्थानीयवासीको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक असर पार्नेछ ।

उक्त स्वास्थ्य भवन निर्माणको जिम्मा लिएको Synergy/Subedhi J.V, Kuleshwor–14, Kathmandu निर्माण कम्पनीका प्रतिनिधि सुभाष भट्टराईका अनुसार भवनको सम्पूर्ण डिजाइन आधुनिक प्रविधिमा आधारित छ । निर्माण कार्यमा गुणस्तरीय सामग्रीको प्रयोग गरिएको छ भने समयमै काम सम्पन्न गर्ने लक्ष्यका साथ टोली परिचालित रहेको बताइएको छ ।

धनगढीमाई नगरपालिकाले नगरवासीको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ । यसै अनुरूप नैंनपुरको यो भवन निर्माण कार्यले नगरको स्वास्थ्य क्षेत्र सुधारको यात्रा थप मजबुत बनाएको छ । नगरप्रमुखदेखि वडा अध्यक्ष, जनप्रतिनिधि र कर्मचारी सबैको समन्वयमा काम अघि बढिरहेको जनाइएको छ ।

नगरवासी अहिले भवनको छिटो सम्पन्नता र सेवा सुरू हुने पर्खाइमा छन् । स्थानीयहरूको भनाइमा यो भवनको निर्माणले मुसहर्निया क्षेत्रको समग्र स्वास्थ्य अवस्था रूपान्तरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *