गणतन्त्रबाट फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली

0Shares

गणतन्त्रबाट फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली

थाङमिचागु डटकम संवाददाता

काठमाडौं, जेठ १८ — प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले संघर्ष गरेर ल्याएको गणतन्त्रबाट पछि फर्किन नसकिने स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले निरङ्कुश हुकुमी शासन अन्त्य गरेर स्थापना गरिएको गणतन्त्रलाई उल्ट्याउने प्रयास सफल नहुने बताएका हुन्।

“प्रधानमन्त्रीलाई लखेट्छौँ भनेर शान्तिपूर्ण आन्दोलन सम्भव होला?” भन्दै ओलीले अढाइ सय वर्षसम्म कायम रहेको राजतन्त्रको अवधिमा देशको अवस्था के थियो र अहिलेको अवस्था के छ भन्ने प्रश्न गर्दै जनतालाई सम्हालिएर सोच्न आग्रह गरे।

उनले राजतन्त्र फर्काउने अभियानमा लागेकाहरूको आलोचना गर्दै भने, “पहिलो दिन पैसा दिएर मान्छे जम्मा गर्‍यो, दोस्रो दिन घट्यो, तेस्रो दिन झन् घट्यो।” प्रधानमन्त्री ओलीले यस्तो अभियानको स्थायित्व नभएको बताउँदै देशलाई अब सुशासन र विकासको बाटोमा अघि बढाउनु पर्ने आवश्यकता औँल्याए।

“घोडा अगाडि हिँड्न खोजेको छ, त्यसलाई पछाडि फर्काउन खोजे लात्ताले हान्न सक्छ,” भन्दै प्रधानमन्त्री ओलीले संविधानमाथि बसेर फेरि राजतन्त्रको वकालत गर्नेहरूलाई लाज मान्नुपर्ने धारणा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आफूले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न सबै नागरिकहरू उभिनुपर्ने बताए। साथै, प्रणालीमा सुधार आवश्यक भए त्यसलाई अझ सुन्दर लोकतन्त्र बनाउनतर्फ परिवर्तन गर्न सकिने उल्लेख गर्दै उनले उपलब्ध लोकतान्त्रिक संरचना सुदृढ पार्न सबैको सहकार्य आवश्यक रहेको धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *