प्रचण्डसँग सवालजवाफ गर्न खोज्ने युवक पक्राउ, स्थानीयको विरोध

0Shares

प्रचण्डसँग सवालजवाफ गर्न खोज्ने युवक पक्राउ, स्थानीयको विरोध

थाङमिचागु डटकम संवाददाता

नुवाकोट, जेठ १७ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सार्वजनिक कार्यक्रममा सवालजवाफ गर्न खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका युवक नुवाकोटको सूर्यगढी गाउँपालिका–२, बोहोरेका जनार्दन अधिकारी हुन्।

शनिबार सूर्यगढी–३ चोकदेस्थित बागेश्वरी माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा बोल्दै गर्दा प्रचण्डसँग प्रश्न राख्न खोज्दा अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यक्रममा प्रचण्ड मन्तव्य दिइरहेका बेला अधिकारी उठेर “मेरो तपाईंसँग एउटा प्रश्न छ?” भनेका थिए। त्यसपछि प्रचण्डले “यो समय सवालजवाफ गर्ने होइन” भन्दै पत्रकार सम्मेलनमा उपस्थित नभएको तर्क गरे।

प्रचण्डको भनाइ सकिन नपाउँदै उनका पीएसओले युवकलाई बाहिर जान निर्देशन दिए र प्रहरी आएर उनलाई पक्राउ गर्‍यो। पाँच मिटर जति टाढा लैजाँदा युवकमाथि केही व्यक्तिले हातपात समेत गरेका थिए। घटनाका बीच प्रचण्डलाई आयोजकले मायाको चिनो प्रदान गरे र उद्घोषकले कार्यक्रम “सभ्य र भव्य” रूपमा सम्पन्न भएको घोषणा गरे।

दर्शकदीर्घाबाट केहीले विरोध जनाउँदै “प्रश्न राख्छु भन्दैमा लछारपछार गर्न पाइन्छ त?” भन्ने अभिव्यक्ति दिएका थिए। प्रहरी घेरामा रहेका अधिकारीले केही मुक्काको पनि सामना गर्नुपर्‍यो।

बागमती प्रदेशका पूर्वमन्त्री तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले “प्रश्न सोध्दैमा हातपात गर्नु गलत हो” भन्दै सार्वजनिक रुपमा आपत्ति जनाए। यता प्रहरी अधिकारीहरूले जनार्दन अधिकारीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छन्। स्थानीयवासीहरूले अधिकारीलाई तत्काल रिहा गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *