‌अदालतको आदेश हामीलाई होईन, सरकारलाई हो । अध्यक्ष लक्ष्मी किशोर सुवेदी

0Shares

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सर्वोच्च अदालतले दिएको आदेश आफूहरूको पक्षमै भएको दावी गरेका छन्।

शुक्रबारको विशाल शिक्षकहरुको विरोध प्रर्दशनलाई सम्बोधन गर्दै सर्वोच्चो अदालतको आदेश सरकारका लागि भएको र आफूहरूका लागि नभएको बताए। उनले आन्दोलन निष्कर्षमा नपुगि नरोकिने पनि बताए।

‘कति साथीले आन्दोलन ३ दिनमा रोकिने भयो। उपलब्धि भएको छैन। गाउँ फर्किएर घरपरिवार र साथीभाइलाई के भन्ने होला भन्ने संशय व्यक्त गर्नुभएको छ।’ उनले भने, ‘अदालतको आदेश विपक्षीका नाममा जारी भएको हो। विपक्षी भनेको नेपाल सरकार हो। सम्मानित अदालतको आदेशले तीन दिन भित्र शिक्षक कर्मचारीलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई भनेको छ। यो आदेश हाम्रो पक्षमै छ भन्ने हाम्रो बुझाइ हो।’

अदालतको आदेशबाट विचलित नहुन र शिक्षक कर्मचारीको पक्षमा आएको भन्दै थप सक्रिय हुन उनले शिक्षक कर्मचारीलाई अपिल पनि गरे।

सर्वोच्च अदालतले बिहीबार आन्दोलनरत शिक्षकका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा आवश्यक निर्णय गरी ३ दिनभित्र विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सरकारलाई आदेश दिएको थियो ।

उनले आफूहरू वार्ता विरोधी नभएको भन्दै वार्ताका नाममा अल्मल्याउने खेलप्रति सचेत रहेको बताए।

‘हामीले भन्दै आएका छौं, शिक्षक महासंघ वार्ता विरोधी होइन। विश्वयुद्धहरू त वार्ताबाट रोकिन्छ भने पेशाकर्मीको आन्दोलन वार्तामा टुंगिने हो।’ उनले भने, ‘हामीले नयाँ कुरा गरेका छैनौं। हिजो भएका सहमति कार्यान्वयन गरेर ऐन ल्याइदिनुस् हामी थपक्क विद्यालय फर्कन्छौं।

विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले शुक्रबार २४ औं दिन पनि प्रदर्शन जारी राखेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *