नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
“तीन दिनभित्र सरकारले ऐन जारी गरे विद्यालय फर्कन्छौँ ।” शिक्षक नेता

काठमाडौँ- आन्दोलनरत शिक्षक नेताहरूले सरकारले सर्वोच्च अदालतको आदेशको पालना गर्दै तीन दिनभित्र शिक्षा ऐन जारी गरे मात्र विद्यालय फर्किने प्रतिक्रिया दिएका छन्।
आन्दोलनको २३ औं दिन बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र आन्दोलनरत शिक्षकले उठाएका जायज माग पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई अन्तरिम आदेश दिएको थियो।
आदेशमा ‘आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएको मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ उल्लेख छ।
नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा शिक्षक आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले सर्वोच्च अदालतको आदेश शिक्षकहरूलाई नभई सरकारलाई लक्षित भएको बताउँदै भनिन्,‘आदरणीय साथीहरू, सर्वोच्चको आदेश पुरै पढ्न जरुरी छ। यो आदेश सरकारलाई जारी गरिएको हो।’
नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले सर्वोच्च अदालतको आदेशले शिक्षकहरूको मागलाई थप सुदृढ बनाएको बताएका छन्। उनले भने,‘सर्वोच्च अदालतको आदेश हामीलाई होइन सरकारलाई हो। हामी सर्वोच्चको आदेशको पक्षमा छौं। सरकारलाई दबाब पर्याे। हाम्रा माग पूरा गरेर तीन दिनभित्र विद्यालय फर्काउने वातावरण सरकारले गर्नुपर्याे। हाम्रो आन्दोलन सशक्त हुन्छ।’
नेपाल राष्ट्रिय शिक्षक संगठन (NNTA) का अध्यक्ष विष्णुप्रसाद भण्डारीले सर्वोच्च अदालतको आदेश सरकार र आन्दोलनरत दुबै पक्षले मान्नुपर्ने बताए। उनले भने,‘अदालतको आदेश सरकारले मान्नुपर्छ। हामीले पनि मान्नुपर्छ। वार्ताको विकल्प छैन। ऐन आउने सुनिश्चित हुनुपर्छ। मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हाम्रा मागहरूमा यथाशीघ्र निर्णय हुनुपर्छ। हामी विद्यालय फर्किन तयार छौं।’
त्यस्तै, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले अदालतको आदेशले आन्दोलनरत शिक्षकहरूको मागलाई पुष्टि गरेको बताए। ‘सम्मानित सर्वोच्च अदालत! यदी सरकारले तीन दिनभित्र ऐन दिए हामी विद्यालय फर्किन्छौं,’ उनले भने।
गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा जारी छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले शिक्षा ऐनको माग गर्दै आन्दोलन चर्काएका हुन्। आन्दोलनको कारण देशभरका विद्यालयमा पठनपाठन प्रभावित भइरहेको छ। शिक्षा क्षेत्रको सुधार र स्थायित्वको मागसहित सुरु गरिएको आन्दोलन आज २४औं दिनमा प्रवेश गरेको छ।





