दार्जिलिङ मेलो टी फेस्टमा थाङ्मी समुदायको सांस्कृतिक पहिचानको भव्य प्रदर्शन सम्पन्न

0Shares

दार्जिलिङ मेलो टी फेस्टमा थाङ्मी समुदायको सांस्कृतिक पहिचानको भव्य प्रदर्शन सम्पन्न

थाङ्मीचागु डटकम सम्बादाता

९ पुष मंगलबार २०८१

[सन्तोष ठान्टी थाङ्मी]

दार्जिलिङ, भारतमा सम्पन्न मेलो टी फेस्ट मा थाङ्मी समुदायले आफ्नो ऐतिहासिक पहिचान र सांस्कृतिक धरोहरलाई भव्य रूपमा प्रस्तुत गरेको छ। यो कार्यक्रम थाङ्मी समुदायको मौलिकता, परम्परा, र सांस्कृतिक जीवनशैलीलाई उजागर गर्ने ऐतिहासिक अवसर बनेको छ।

थाङ्मी समुदायको प्रस्तुतिबारे जानकारी दिँदै दार्जिलिङका थाङ्मी अगुवा सुस्मिता रिस्मीले थाङ्मी चागु डट कमलाई बताउनु भयो, “यस पटक थाङ्मी समुदायको परम्परा र मौलिकतालाई झल्काउने प्रस्तुति गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ। हाम्रो पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पाउनु थाङ्मी समुदायका लागि गर्वको कुरा हो।”

कार्यक्रममा थाङ्मी समुदायका कलाकारहरूले परम्परागत नृत्य र गीतमार्फत आफ्नो संस्कृति प्रस्तुत गरे। विशेष गरी थाङ्मी समुदायको मौलिक भेषभूषामा सजिएर गरिएको प्रस्तुतीले दर्शकहरूको मन जित्यो। परम्परागत बाजागाजा र गीतहरूले थाङ्मी समुदायको जीवनशैली र सांस्कृतिक मौलिकता झल्काएका थिए।

यसका साथै, थाङ्मी हस्तकलाका सामग्रीहरूको प्रदर्शनीले थाङ्मी समुदायको परम्परागत सीप र जीवनशैलीलाई पनि देखाएको थियो। हस्तनिर्मित भाँडा, डोको, खुङ्लो, परम्परागत आभूषण, र सांस्कृतिक महत्व झल्काउने अन्य वस्तुहरूले प्रदर्शनीमा आकर्षण थपेका थिए।

सुस्मिता रिस्मीले थप जानकारी दिँदै भन्नुभयो, “थाङ्मी समुदायको संस्कार र संस्कृति हाम्रा पुर्खाहरूले हस्तान्तरण गरेको धरोहर हो। यो मेलो टी फेस्टजस्तो अन्तर्राष्ट्रिय कार्यक्रममा आफ्नो पहिचान र मौलिकता देखाउन पाउनु हाम्रो समुदायका लागि ऐतिहासिक छ। हामीले आफ्नो परम्परालाई जगेर्ना गर्न र नयाँ पुस्तालाई यसमा जोड्न प्रेरणा दिन चाहन्छौँ।”

कार्यक्रममा सहभागी भएका स्थानीय दर्शकहरूले थाङ्मी समुदायको परम्परा र मौलिकताको खुलेर प्रशंसा गरे। उनीहरूले यस्तो प्रकारका गतिविधिहरूले समुदायबीच सहकार्य र आपसी सम्मान बढाउनेमा विश्वास व्यक्त गरे।

यो प्रस्तुति थाङ्मी समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्न मात्र सीमित नभई, अन्य समुदायहरूसँगको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न र आफ्नो मौलिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न प्रेरणादायी कदम भएको छ।

थाङ्मी समुदाय
दोलखा, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *