नेपालका प्रमुख दलका प्रतिनिधिहरू क्यामबोडियामा १२ औं ICAPP अधिवेशनमा सहभागी हुन प्रस्थान
2024-11-21इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20भगैतसहित कार्तिक स्नान सम्पन्न, कमला नदीका घाटमा भक्तजनको घुइँचो ।।।
भगैतसहित कार्तिक स्नान सम्पन्न, कमला नदीका घाटमा भक्तजनको घुइँचो ।।।
थाङमिचागु डटकम संवाददाता
विनोद मण्डल, सिरहा, कार्तिक ३० ।
सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको पवित्र कमला नदीमा आज कात्तिक शुक्ल पूर्णिमाको अवसरमा परम्परागत कार्तिक स्नान विशेष भक्तिभावसहित सम्पन्न भएको छ । यस अवसरमा स्थानीयवासी तथा टाढाटाढाबाट आएका भक्तजनहरू नदीका विभिन्न घाटहरूमा पुगेर स्नान गर्दै धार्मिक परम्परा निर्वाह गरेका छन् ।
कमला नदीका उत्तरवाहिनी, सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका प्रसिद्ध घाटहरूमा भक्तजनहरूको बिहानैदेखि भिड लागेको थियो । कार्तिक स्नानलाई धार्मिक रूपमा शुद्धता र पवित्रताको प्रतीक मानिँदै आएको छ ।
स्नानसँगै धामी र झाँक्रीहरूले पहेँलो धोती र सारीमा सजिएर परम्परागत ढंगले आफ्नो कुलदेवताको पूजा गरेका छन् । माटोले बनेको ढकनामा दियालो (सरर) राखेर बलिरहेको आगो हातमा लिएर, “जय बीस,” “गोरैया के आसन डोलई छई बाबु” जस्ता मन्त्रोच्चारण गर्दै बेतको लाठीसहित नदी किनारमा परिक्रमा गरेका छन् ।
धामीझाँक्रीहरूले मादल, झ्याली, ढोल-मृदङ, र पिपही जस्ता बाजागाजासहित नदीमा पुगेर तान्त्रिक विधि सम्पन्न गरेका थिए । पवित्र गंगा नदी र कमला नदीलाई पवित्रस्थल मान्दै यस प्रकारका धार्मिक कर्महरू गरिएको स्थानीयको विश्वास छ ।
कार्तिक स्नानको समयमा गाइने लोक गीतहरूलाई “भगैत” भनिन्छ । भगैतमा धार्मिक भावनाका साथै सामाजिक र सांस्कृतिक पक्षको समिश्रण पाईन्छ । घाटमा संकलित भीडले भगैतको गायनलाई साथ दिँदै विशेष वातावरण निर्माण गरेको थियो ।
यस धार्मिक परम्पराले धार्मिक सहिष्णुता, समाजमा एकता र संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । भक्तजनहरू यसलाई आफ्नो जीवनमा शुद्धता र पवित्रताको प्रतीकका रूपमा मान्दै हर्षोल्लासका साथ सहभागी हुने गर्दछन् ।
यस वर्ष पनि कार्तिक स्नानले सिरहा र धनुषा क्षेत्रमा धार्मिक र सांस्कृतिक एकताको अद्भुत दृश्य प्रस्तुत गरेको छ ।