सप्तरीबाट १३ जना सडकआश्रित मानवहरूको उद्धार

0Shares

सप्तरीबाट १३ जना सडकआश्रित मानवहरूको उद्धार

थाङािचागु डटकम संवाददाता

राजविराज, सप्तरी
मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौं दिन, शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरी जिल्लाबाट १३ जना सडकआश्रित मानवहरूको उद्धार गरिएको छ। ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु गरिएको उद्धार यात्रामा ११ जना पुरुष र २ जना महिलाको उद्धार भएको हो।

उद्धार टोलीले राजविराज नगरपालिका वडा-७ बाट ४ जना, वडा-६ बाट ३ जना र वडा-१ बाट १ जनालाई उद्धार गरेको छ, भने सप्तकोशी नगरपालिका-१ बाट ५ जनालाई उद्धार गरिएको छ। उद्धार गरिएका सबैलाई सर्लाहीस्थित मानवसेवा आश्रमको सेवाकेन्द्रमा पुनर्स्थापनाका लागि लगिएको छ।

उद्धार यात्राको क्रममा शुक्रबार बिहान राजविराज नगरपालिकामा सचेतनामूलक र्‍याली निकाल्दै नगर परिक्रमा गरिएको थियो। त्यसपछि नगरपालिकाको प्राङ्गणमा जम्मा भई राष्ट्रिय उद्धार यात्राको उद्देश्यबारे जानकारी गराइएको थियो।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले चाडपर्वको समयमा सडकआश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण, र पारिवारिक पुनर्मिलन गराउने उद्देश्यले यात्रा सञ्चालन गरिएको बताउँदै सबै सरोकारवालाहरूलाई सहयोगका लागि आग्रह गर्नुभयो। उहाँले यात्राका क्रममा जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, र विभिन्न संघसंस्थाबाट पाएको माया र सहयोगका लागि आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका नेता एवम् पूर्वमन्त्री महेश प्रसाद यादवले उद्धार कार्यमा संलग्न अभियन्ताहरूलाई धन्यवाद दिँदै प्रदेश सरकारको तर्फबाट हुने सहयोगमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा लगायतका विशिष्ट व्यक्तित्वहरू कार्यक्रममा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *