मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
बुद्धस्थलबाट देखिएका हिमाल
कपिलवस्तु — बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुप, जगदीशपुर र निग्रोधाराबाट देखिएका हिमालका तस्बिर प्रदर्शनी गरिएको छ । गच्छामि मिडिया ग्रुप र कपिलवस्तु टुरिज्मले ‘बुद्धले देखेको त्यो हिमाल’ थिममा निग्रोधारामा प्रदर्शनी गरेका हुन् ।
पर्यटनविद् विक्रम पाँडेकाजीले हिमालमुनि भैंसीको तस्बिर अनौठो मान्दै हेरिरहे । हिमाली पर्यटन प्रवर्द्धनमा लागिपरेका उनले हिमालमुनि प्रशस्त याक र चौरी देखेका थिए । गोठालाले भैंसी चराउँदै गरेको तस्बिर देख्दा रमाइलो
माने । उनले भने ‘फोटो प्रदर्शनीले पर्यटन विकासको छुट्टै ढोका खोल्छ ।’ उनीजस्तै अवधी लोककला विशेषज्ञ पशुपतिमणी त्रिपाठी चिनियाँ पैदलयात्री ह्वेयङ साङ तिलौराकोट आउँदा उनले लेखेको यात्रा विवरणमा उल्लेख भएजस्तै तस्बिर देख्दा आल्हादित बने । ‘तिलौराकोटमाथि झुन्डिएजस्तो धौलागिरि हिमाल देख्दा खुसी भएँ,’ उनले भने, ‘तस्बिरले तिलौराकोटको मनमोहकतालाई थप उजागर गरेको छ ।’
तस्बिर प्रदर्शनीमा तराईको जनजीवन, पुरातात्त्विक स्थलको पृष्ठभूमि र खुला आकाशसँगै देखिएका अन्नपूर्ण प्रथम, धौलागिरि दोस्रो, तेस्रो र चौथो तथा गुर्जा हिमालका तस्बिर राखिएको थियो । बादलको पर्दा हटेर झुल्केको शुभ्र हिमाल हाँसेको देख्दा बुद्धस्थल मुस्कुराइरहेको भान हुन्थ्यो । फोटोपत्रकार मनोज पौडेल र बृजेश जयसवालले खिचेका १० वटा तस्बिर प्रदर्शनीमा थियो । दुई वर्षयता निकै मिहिनेत गरेर फोटो खिचेको जयसवालले बताए । अवलोकनमा आएकाहरूले आनन्द मानेका थिए । तौलिहवाको तौलेश्वर महादेव मन्दिरसँगै देखिएका हिमालका तस्बिर राम्रो लागेको स्थानीय दीपक गुरुङले बताए ।





