बगेको बग्यै छ प्रेमबहादुरको सम्पत्ति!

0Shares

बगेको बग्यै छ प्रेमबहादुरको सम्पत्ति!

थाङमिचागु डटकम संवाददाता

यही साल असार ३० गते प्रेमबहादुर दनुवार मेलम्ची बजारबाट घर फर्किँदै थिए। उनको घर मेलम्ची नगरपालिका-९ मा पर्छ। त्यस दिन उनको मन अनौठो प्रकारले उराठ भएको थियो तर कारण थाहा थिएन।

सधैं निद्रा नलागेर छटपटी हुन्थ्यो, त्यो रात ८ बजे नै निद्राले छोप्यो। उनी प्रायः जसो खोलाबाढीको डरले जागा हुन्थे। त्यस रात भुसुक्कै निदाएछन्।

मध्यरातको १२:५० बजे उनको फोन बज्यो। स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष केदार कार्कीले फोन गरेका रहेछन्।

उनले सूचित गरे – इन्द्रावती नदीमा बाढी आएको छ, सुरक्षित स्थानमा जानू।

प्रेमबहादुर पनि त्यही स्थानीय विपद व्यवस्थापन समितिमा सदस्य छन्। चार मिनेटपछि फेरि केदारकै फोन आयो।

उनी छिटोछिटो बोले – कुनै पनि सामान झिक्ने प्रयास नगर्नू, ठूलो बाढी आएको छ, तुरून्तै भागिहाल्नू, ज्यान बचाउनू।

प्रेमबहादुर र उनकी श्रीमती नागरिकता प्रमाणपत्र र लालपूर्जा राखेको झोला बोकेर तुरून्तै घरबाट एक कान्लामाथि चढे।

एकैछिनमा हेर्दाहेर्दै आफ्नो घर र कृषि फार्म बाढीले छोप्यो। धन्य! ज्यान जोगियो।

केदारको घरबाट तलतिर रहेको प्रेमबहादुरको घर पुग्न हिँडेर करिब २० मिनेट लाग्छ। त्यस दिन बाढीलाई पाँच मिनेट लाग्यो।

दनुवार दम्पतीलाई केदारको फोनले पुनर्जीवन दियो। यसपटक त ज्यान जोगियो, आउने दिनहरू उत्तिकै जोखिमयुक्त छन्। थप विपत्तिले घेर्ने पक्का छ। अनिश्चितता र अस्थिरताको कालो बादल चाँडै फाट्ने सम्भावना छैन।

उमेरले ६० शिशिर-बसन्त भोग्दै गरेका प्रेमबहादुरको जीवनमा सुखका भन्दा दुःखका कथाव्यथा धेरै छन्। असार ३० मध्यरातको बाढीले उनलाई विगतको तितो घाउ सम्झाइदिएको छ।

द्वन्द्वको घाउ

तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा प्रेमबहादुरका दाइ माओवादीबाटै मारिए। दाइको शव लिन जाँदा परिवारका सबैलाई कारबाही गर्ने धम्की आयो।

त्यसपछि परिवारका सबै सदस्य गाउँ छाडेर हिँडे। जे पाइन्छ त्यही काम गरेर ज्यान पाले। प्रेमबहादुरले काठमाडौंमा एउटा कागज कारखानामा मजदुरी गरे। केही महिनामा त्यो कारखाना बन्द भयो।

काम खोज्दै उनी बनेपा पुगे। त्यहाँ काठ उद्योगमा मजदुरी गरे। धेरै कष्ट भोगे। गाउँबाट विस्थापित भएपछि छोराछोरीले पढ्न पाएनन्। यसमा उनलाई ठूलो दुःख लागेको छ।

प्रेमबहादुरको परिवार २०६५ सालमा आफ्नै थातथलो रामपुर दनुवारगाउँ फर्क्यो। थोरै बारी थियो, उत्पादनले तीन महिना पनि खान नपुग्ने, बाँदरको बिगबिगी त्यतिकै थियो। अलिकपछि त्यो थातथलो छोडेर भञ्ज्याङ भन्ने ठाउँमा सरे। केही गैरसरकारी संस्थाको सहयोगमा तरकारी खेती सुरू गरे। अर्गानिक खेती सिके, त्यसैमा दिल बस्यो। परिवारको हातमुख जोर्ने राम्रो उपाय भयो।

विपदका घाउ

द्वन्द्वको घाउचोट बिसेक हुँदै थियो। थोरैतिनो जोरजाम गरेर एउटा घर बनाएका थिए। जिन्दगीले गोरेटो समाउन थालेको थियो। तरकारी खेती राम्रो हुँदै थियो। त्यसैबीच २०७२ वैशाख १२ गते मध्याह्न भूकम्प आयो। दुःखले बनाएको घर भत्कियो। सबै नष्ट भयो। सुन्दर सपनाको जग भत्कियो।

भूकम्पको चोट र पीडाबाट उठेर प्रेमबहादुरको परिवार काफ्ले खोला सर्‍यो। सिँचाइको सुविधा भएको खोलाकिनारमा राम्रो उत्पादन हुने अपेक्षाका साथ तरकारी खेती सुरू भयो। सोचेजस्तै भयो। उत्पादन राम्रो भयो, अर्गानिक तरकारीले बजार पनि पायो।

ठीकठाक चल्दै थियो। त्यसैबीच २०७८ साल असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा एकाएक बाढी आयो। तरकारी खेती सबै बगायो।

उनको ६ जनाको परिवार तरकारी खेतीले नै चलेको थियो। २०७८ सालको बाढीले सबै स्वाहा बनाइदियो।

प्रेमबहादुर तरकारी खेतीमा पोख्त भइसकेका थिए। गरिखाने पेसा भन्नु त्यही थियो। उनी इन्द्रावती नदीबाट केही उच्च ठाउँमा सरे। जग्गा भाडामा लिएर फेरि तरकारी खेती सुरू गरे। कृषि विकास बैंकबाट पाँच लाख रूपैयाँ ऋण लिए। उत्पादन बढाउन प्लास्टिक टनेलहरू बनाए, खेतीको क्षेत्रफल पनि बढाए।

गएको असार ३० गते बाढी आयो। घर र कृषि फार्म रहेन। घर नरहेपछि लत्ताकपडा, भाडाकुँडा, अन्न सबै नष्ट भयो। ट्याक्टर, पानी तान्ने मोटर, कृषि औजार सबै बाढीले बगायो।

फलामको बार हालेका आठ वटा र बाँसको बार हालेका चार वटा प्लास्टिक टनेल बगे। बजार पठाउन तयार राखेको काँक्रो, गोलभेँडा, करेला, च्याउ र मकै सबै क्षति भयो। कृषि कर्मका सबै उपकरण बगे।

के भयो असार ३० मा?

दिउँसोसम्म मेलम्ची क्षेत्रमा घाम लागेको थियो। हेलम्बु र पाँचपोखरी क्षेत्रको हिमाली भागमा भने अपराह्न तीन बजेदेखि राति ११ बजेसम्म ठूलै वर्षा भएको थियो।

गौरीशंकर हिमशृंखला क्षेत्रमा १२५ मिलिमिटिर (मिमी) वर्षा भएको थियो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले राखेको गञ्जलापास स्टेसनमा ३१.६ मिमी वर्षा देखिएको थियो। उक्त स्टेसन चार हजार मिटरमाथिको उच्च भूभागमा छ।

यसपालिको र २०७८ सालको बाढी मिल्दोजुल्दो छ। २०७८ सालमा पनि हिमाली क्षेत्रमा ठूलो वर्षा भएको थियो। गत असार ३० को वर्षाले पनि भिरालो हिमाली क्षेत्रको माटो बगायो। उच्च गतिसहितको डेब्रिस फ्लो (ग्रेग्रानसहितको बाढी) ले ससाना पहिरोहरू सिर्जना गर्‍यो।

इन्द्रावती नदीको मुहान रहेको लार्केखोला क्षेत्रमा पहिरो गयो, लार्केखोला थुनियो। लार्केखोला थुनिने र विस्फोट हुने क्रम चलिरह्यो। परिणामस्वरूप इन्द्रावती नदीमा बाढी आयो।

प्रेमबहादुरले उनको कृषिफार्म भएको क्षेत्र वरपर खोला नियन्त्रण र भूसंरक्षणका लागि योजना आएको कुरा सुनेका थिए तर काम भएन। जग्गा धनीहरू र सम्बन्धित कार्यालयका प्राविधिकहरू विभिन्न विषयमा असहमतिका कारण उक्त योजना अन्तै गयो।

प्रेमबहादुर भन्छन्, ‘त्यो योजना कार्यान्वयन भएको भए मेरो फार्ममा यसरी क्षति हुने थिएन।’

अहिले उनलाई कृषि विकास बैंकको ऋण र ब्याजको चिन्ता छ। आफ्नो थोरै जग्गा पनि बैंकले लिलामी गरिदिएर सुकुम्बासी बनाइदिने हो कि भन्ने डर पलाएको छ। बाढीलगत्तै स्थानीय सरकार र रेडक्रसले आपतकालीन राहत सहयोग गरे। स्थानीय सरकारका प्रमुखले सुरक्षित स्थानमा कृषि कर्म गर्न सहयोगको गर्ने आश्वासन दिएका छन्।  

प्रेमबहादुरले साउनमा बाढी आउन सक्ने अनुमान गरेका थिए। अत्यावश्यक केही सामग्री माथिल्लो भागमा रहेका आफन्तहरूको घरमा राख्ने विचार पनि गर्दै थिए तर त्यसो गर्न नपाई बाढी आयो।

राज्यको भूमिका के?

राज्यको सहयोग चाहिने गरिब भुइँमान्छेहरूलाई हो। प्रेमबहादुर गरिबी र विपत्तिको भुमरीमा पुग्नुमा राज्य जिम्मेवार छ। राज्यले आँखा चिम्लिदिँदा उनी पटकपटक विपत्तिको भुमरीमा परेका हुन्।

प्रेमबहादुर एक प्रतिनिधि पात्र हुन्। यस्ता परिवार देशभरि छन्। यस्ता परिवार सामाजिक, आर्थिक, राजनीतिक, सांकृतिक संकटासन्नताको जञ्जिरले बाँधिएको अवस्थामा छन्। संकटसन्नता यस्तो अवस्था हो जहाँ कुनै पनि व्यक्ति वा समूहसँग सम्भावित प्रकोप रोकथाम गर्ने, सामना गर्ने र पुनर्स्थापना हुने स्रोतसाधन हुँदैन। यस्ता व्यक्ति वा समूह सधैं जोखिममा हुन्छन्।

प्रेमबहादुरले सम्भावित जोखिम थाहा पाउन सकेनन्। जोखिममा रहेका व्यक्ति तथा समूहहरूको संकटासन्नताको अवस्था अन्त्य गर्न सकिएन भने विपदका घटनाहरू भइरहन्छन्। मानिसहरू पीडामा परिरहन्छन्।

सबैसामु तेर्सिएका केही प्रश्न

कृषि विकास बैंकले प्रेमबहादुरको ऋण भुक्तानीमा कसरी, कस्तो सहुलियत देला?

जनताको समीपमा रहेको स्थानीय सरकारले प्रेमबहादुरको दैनिक जीवन कसरी पूर्ववत् लयमा फर्काउला?

सीमान्तकृत अल्पसंख्यक जनजातिको उत्थानमा खोलिएका संघसंस्था र अन्य गैरसरकारी संस्थाहरूले प्रेमबहादुरको पुनःस्थापनमा कसरी योगदान गर्लान्?

छरछिमेकी र गाउँलेहरूले प्रेमबहादुरको मुहारमा हाँसो ल्याउन कस्तो सहयोग गर्लान्?

सबैको परीक्षाको घडी आएको छ।

अन्त्यमा, राज्यको चरित्र समता र समन्यायमा आधारित हुनुपर्छ। यस्तो चरित्रले मात्र आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक संकटासन्नताको जालो भत्काउन सक्छ। विपदको सम्मुखमा रहेका भुइँमान्छेहरूको जोखिम घटाउन सक्छ।

संकटासन्नताको अवस्थामा रहेका भुइँमान्छेहरूले जोखिमको पहिचान र न्यूनीकरण गर्न सक्नुपर्छ। तब मात्र भुइँमान्छेहरूसँग विपत्तिको भेट हुँदैन। विपदबाट क्षति हुँदैन। राज्य र समाजले भुइँमान्छेहरूको क्षमता अभिवृद्धि गर्नु अत्यावश्यक भएको छ। यसो भए मात्र भुइँमान्छेहरू विपत्तिबाट मुक्त हुन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *