एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, आजै केन्द्रीय कमिटीको चौथो बैठक बस्ने ।।।

0Shares

एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, आजै केन्द्रीय कमिटीको चौथो बैठक बस्ने

संवाददाता : थामीचागु डटकम

मिति : २०८३ मंसिर ३ गते, बिहीबार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दुईदिने राष्ट्रिय भेला आज बिहीबार समापन हुँदैछ। काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलाको दोस्रो दिन आज विभिन्न राजनीतिक तथा सांगठनिक विषयमा छलफल र शीर्ष नेताहरूको सम्बोधनपछि औपचारिक रूपमा समापन गरिने भएको छ।

भेलाको दोस्रो दिन पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उपाध्यक्ष थापाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका विषयमा धारणा राख्नेछन् भने भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

भेलाको पहिलो दिन अध्यक्ष ओलीले उद्घाटन सम्बोधन गरेका थिए। त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। उपाध्यक्ष विष्णु पौडेलले एमाले सरकारमा सहभागी हुँदा देश र जनताका पक्षमा भएका काम तथा उपलब्धिबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

भेलामा देशभरबाट ३ हजार ४१४ जना प्रतिनिधिको सहभागिता रहेको छ। केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, स्थानीय तहका पार्टी प्रतिनिधि, जनसंगठनका प्रतिनिधि तथा विभिन्न तहका जनप्रतिनिधिहरू भेलामा सहभागी छन्।

भेलामा पार्टीको संगठनात्मक सुधार, नेता–कार्यकर्ताको भूमिका र आचरण, समसामयिक राजनीतिक परिस्थिति तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल भइरहेको छ। आज समसामयिक प्रस्तावहरू पारित गरी दिवा भोजनपछि राष्ट्रिय भेलाको औपचारिक समापन गरिने जनाइएको छ।

यसैबीच, राष्ट्रिय भेला समापनलगत्तै आजै दिउँसो ३ बजे सोही स्थानमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ।

बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव, पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

थामीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *