कालिञ्चोक गाउँपालिका स्तरीय विज्ञान प्रदर्शनीमा कालिका मावि उत्कृष्ट

0Shares

थाङमिचागु डटकम संवाददाता
२९ मंसिर २०८२, सोमबार
चरिकोट, दोलखा

कालिञ्चोक गाउँपालिका स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा कालिका माध्यमिक विद्यालय, सुन्द्रावतीका विद्यार्थीहरू उत्कृष्ट भएका छन्।

आइतबार कालीनाग माध्यमिक विद्यालय, सुनखानीमा सम्पन्न पालिकास्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा कालिका माविले प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा कालिका माविका विद्यार्थीहरूले वातावरणीय सन्तुलन कायम गर्दै ऊर्जा उत्पादन तथा वितरणसम्बन्धी एकीकृत प्रणाली विषयमा आधारित परियोजना प्रस्तुत गरेका थिए।

प्रतियोगितामा कालीनाग माध्यमिक विद्यालय, सिंगटी दोस्रो तथा कालीनाग माध्यमिक विद्यालय, सुनखानी तेस्रो स्थानमा रहेका छन्। कालिञ्चोक गाउँपालिकाभित्र रहेका ११ माध्यमिक विद्यालयमध्ये पाँच विद्यालयका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

विद्यार्थीहरूले हरित ऊर्जा, खगोल विज्ञान, स्मार्ट सिटीलगायत विषयमा घरायसी प्रयोगमा आउने सामग्री प्रयोग गरी तयार पारिएका नवप्रवर्तनात्मक आविष्कारहरू प्रदर्शनीमा राखेका थिए।

पालिकास्तरीय प्रतियोगितामा उत्कृष्ट ठहरिएका विद्यालयका विद्यार्थीहरू सोमबार चरिकोटमा आयोजना हुने जिल्लास्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा सहभागी हुने कालिञ्चोक गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु आचार्यले जानकारी दिनुभयो।

प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

गाउँपालिकाका सामाजिक विकास प्रमुख तथा वडा नं. ७ का वडाध्यक्ष राम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष सूर्यबहादुर आचार्य, कालीनाग माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण शिवाकोटी, प्रधानाध्यापक ऋषिराम शर्मा, सहभागी विद्यालयका विज्ञान शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *