मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
नेपाल थामी समाज मलेसियाद्वारा आयोजित उधौली भूम्या पूजा २०८२ गरिमामय रूपमा सम्पन्न
नेपाल थामी समाज मलेसियाद्वारा आयोजित उधौली भूम्या पूजा २०८२ गरिमामय रूपमा सम्पन्न
थाङमिचागु डटकम संवाददाता

क्वालालम्पुर, १४ डिसेम्बर २०२५ — नेपाल थामी समाज मलेसियाद्वारा आयोजित उधौली भूम्या पूजा २०८२ धार्मिक, सांस्कृतिक तथा सामाजिक गरिमाका साथ आज सफलतापूर्वक सम्पन्न भएको छ। थाङ्मी समुदायको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा मलेसियास्थित विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा नेपाली जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सभा अध्यक्षता नेपाल थामी समाज मलेसियाका अध्यक्ष सन्तोष ठान्ठी थाङ्मीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल राजदूतावास मलेसियाकी कार्यवाहक प्रमुख मुदिता बज्राचार्य रहनुभएको थियो।
यसैगरी, विशिष्ट अतिथिहरूमा नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका अध्यक्ष पदमराज लिम्बु, गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाका उपाध्यक्ष बालध्वज लिम्बु तथा नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका वरिष्ठ सल्लाहकार बिपिन राई रहनुभएको थियो।
कार्यक्रमका विशेष अतिथिहरूमा नेपाल शेर्पा सङ्घ मलेसियाका अध्यक्ष नावाङ नुरी शेर्पा तथा नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष विक्रम वाइबाको उपस्थिति रहेको थियो। साथै विभिन्न संघ–संस्थाबाट प्रतिनिधित्व गर्दै अतिथिहरूले ड्यासमा आसन ग्रहण गर्नुभएको थियो।
कार्यक्रम स्थानीय कलाकार, सञ्चारकर्मी तथा नेपाली जनसमुदायको उल्लेखनीय सहभागितामा सम्पन्न भएको थियो। कार्यक्रममा थाङ्मी समुदायको मौलिक संस्कृति, परम्परागत नृत्य, गीत, वेशभूषा तथा धार्मिक विधिहरू प्रस्तुत गरिनुका साथै विभिन्न किराती सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक र अर्थपूर्ण बनाएको थियो।
कार्यक्रमकै अवसरमा नेपाली समाजप्रति विशिष्ट योगदान पुर्याउनु भएका व्यक्तित्वहरूलाई तीन विधामा सम्मान गरिएको थियो।
उत्कृष्ट पत्रकारिता सम्मानबाट दोए मिल दोङ तामाङ र घनश्याम चौधरी सम्मानित हुनुभएको थियो।
त्यसैगरी, उत्कृष्ट समाजसेवा सम्मानबाट बालध्वज लिम्बु सम्मानित हुनुभएको थियो।
यसै क्रममा, नेपाल थामी समाज मलेसियाको संस्थागत विकास तथा दीर्घकालीन योजना निर्माणमा उल्लेखनीय योगदान पुर्याउनु भएको भन्दै पल ठान्ठी थाङ्मीलाई संस्थाको तर्फबाट उत्कृष्ट सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमको समापन समारोहमा बोल्दै नेपाल थामी समाज मलेसियाका अध्यक्ष सन्तोष ठान्ठी थाङ्मीले उधौली भूम्या पूजा २०८२ कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, संघ–संस्थाहरू, कलाकारहरू, सञ्चारकर्मीहरू तथा शुभेच्छुकहरूप्रति नेपाल थामी समाज मलेसियाको तर्फबाट गहिरो आभार व्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो। साथै उहाँले आगामी दिनहरूमा पनि थाङ्मी समुदायको धर्म, संस्कृति र पहिचान संरक्षणका लागि सबै पक्षको निरन्तर सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले उधौली भूम्या पूजाले थाङ्मी समुदायबीच आपसी एकता, सामाजिक सद्भाव र सांस्कृतिक चेतनालाई थप सुदृढ बनाएको उल्लेख गर्दै यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।





