प्रिय जेन्जी नानीबाबुहरूलाई केपी शर्मा ओलीको खुला पत्र : व्यवस्था जोगाउनु नै मेरो जीवनको मूल उद्देश्य हो”

0Shares

“प्रिय जेन्जी नानीबाबुहरूलाई केपी शर्मा ओलीको खुला पत्र : व्यवस्था जोगाउनु नै मेरो जीवनको मूल उद्देश्य हो
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज शिवपुरीस्थित सुरक्षाघेराभित्रबाट जेन्जी पुस्ताका युवापुस्तालाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन्।

ओलीले सेनाका जवानहरूको बीचमा बसेर लेखिएको उक्त पत्रमा आफ्ना व्यक्तिगत अनुभव, विगतका संघर्ष र शान्तिप्रतिको अडानलाई उल्लेख गर्दै, वर्तमान आन्दोलनका घटनाहरूमा बाह्य षड्यन्त्र लुकेको बताएका छन्।

उनले भनेका छन्, “म सधैँ शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेको छु। दोस्रो दिनको आन्दोलनमा भएको विध्वंस तिमीहरूको निर्दोष हातबाट होइन, गहिरो षड्यन्त्रबाट भएको हो।”

पत्रमा ओलीले आफ्नो व्यक्तिगत पीडा पनि सुनाएका छन्। उनले व्यवस्था परिवर्तनको संघर्षकै क्रममा पाएका यातनाका कारण आफ्ना सन्तान नभएको उल्लेख गर्दै पनि, सधैं ‘बा’ बन्ने रहर बाँचेको बताए। आन्दोलनमा प्रहरीको गोलीले युवाको मृत्यु भएको घटनाले आफूलाई गहिरो पीडा दिएको स्मरण गरेका छन्।

ओलीले जेन्जीलाई सचेत रहन आग्रह गर्दै भनेका छन्, “आज तिमीहरूले आवाज उठाउन पाएका छौ भने यो व्यवस्थाको देन हो। यही व्यवस्थाको कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा संवेदनशील हुन जरुरी छ।”

शिवपुरीबाट पठाइएको पत्रमा उनले आफ्नो राजनीतिक जीवनका जिद्दीपनलाई पनि स्मरण गराएका छन्। उनले भनेका छन्, “लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी गरेको हुँ। भगवान् श्रीराम नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मसँग थुप्रै अवसरहरू आउँथे।”

अन्त्यमा उनले पद, प्रतिष्ठा वा व्यक्तिगत फाइदाभन्दा व्यवस्थाको रक्षा नै आफ्नो जीवनको मूल उद्देश्य भएको स्पष्ट पारेका छन्।
ओलीले भनेका छन्, “व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्नेमा म दृढ छु। व्यवस्था जोगाउनु नै मेरो जीवनको मूल उद्देश्य हो।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *