कैलालीमा भेटेको १५ दिनमै प्रेम सम्बन्ध, अर्कोसँग कुरा गरेको भन्दै युवतीको हत्या

0Shares

कैलालीमा भेटेको १५ दिनमै प्रेम सम्बन्ध, अर्कोसँग कुरा गरेको भन्दै युवतीको हत्या

थाङमिचागु डटकम संवाददाता

कैलाली — कैलालीको बर्दगोरिया गाउँपालिकामा भेटेको १५ दिनमै प्रेम सम्बन्धमा रहेका एक युवकले आफ्नी प्रेमिकाको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका छन्।

बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवालको शनिबार हत्या गरिएको हो। उनी बौनिया बजारस्थित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा वेटरका रूपमा कार्यरत थिइन्। सोही होटलमा कुकको रूपमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउदसँग उनको चिनजान भएको थियो।

प्रहरीका अनुसार सेजुवाल र साउदबीच भेट भएको १५ दिनमै प्रेम सम्बन्ध सुरु भएको थियो। वैवाहिक सम्बन्धविच्छेद गरिसकेका दुई सन्तानका पिता साउदले शनिबार कामकै क्रममा भान्साकोठामा याचनासँग भनाभनपछि नजिकैको चक्कु प्रयोग गरी उनको घाँटीमा प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी याचनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

हत्या पछि फरार भएका साउदलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिई हिरासतमा राखेको जनाएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

स्थानीयवासी र अधिकारकर्मीहरूले युवतीको हत्या घटनालाई प्रेमको नाममा बढ्दो असहिष्णुता र मानसिक समस्याको गम्भीर प्रतिबिम्बका रूपमा लिएका छन्।

याचनाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमै राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *