कालिञ्चोक गाउँपालिका वडा नं १ मा सडक सुचारू हुन सकेन, डोजर तोडफोडले सरसफाई कार्य प्रभावित

0Shares

कालिञ्चोक गाउँपालिका वडा नं १ मा सडक सुचारू हुन सकेन, डोजर तोडफोडले सरसफाई कार्य प्रभावित

समाचार:

शनिबार ३ कार्तिक २०८१

थाङ्मीचागु डटकम सम्बादाता

कालिञ्चोक गाउँपालिका वडा नं १ का स्थानीय बासिन्दाहरू अझै पनि सडक समस्या झेल्न बाध्य छन्। हालसम्म यो क्षेत्रमा बाटो सुचारू हुन नसक्दा दैनिक जीवनयापनमा कठिनाइ आइरहेको छ।

२०८१ साल असोज ३० गते दिउँसो करिब १२ बजेदेखि बेलुका ७ बजेको समयमा ठुलो JCB (बा १ ग ३५४४ नं) को डोजर यावाल खोलामा राखिएको अवस्थामा तोडफोड गरिएको थियो। यो घटनामा संलग्न व्यक्तिहरू अहिलेसम्म पत्ता लाग्न सकेका छैनन्। घटनाको बारेमा तुरुन्तै स्थानीय प्रहरी चौकी र कालिञ्चोक गाउँपालिकामा जानकारी गराइएको छ।

तोडफोड भएको डोजर हाल वडा कार्यालय वेगुम्पामा राखिएको छ, तर उक्त डोजरको बकेट लापिलाङमा रहेको हुँदा बाटो सरसफाई गर्न सकिएको छैन। स्थानीय प्रशासनले यो समस्या समाधान गर्न प्रयास गरिरहेको भए पनि ठूला उपकरणको अभावमा काम अघि बढ्न सकेको छैन। गाउँपालिकाले सडक सरसफाईका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको भए पनि दशैंअघि नै सडक सफाई कार्य सम्पन्न गर्न असम्भव भएको छ।

हालै तिहारसम्म सडक सरसफाईको काम सम्पन्न गर्न आवश्यक सामग्रीहरू जस्तै तेल, बकेट, ग्रच, र ईस्काभेटरको व्यवस्था गर्न प्रयास भइरहेको छ। ती उपकरण र साधनहरूको व्यवस्थापन भएमा मात्रै काम सुचारू हुन सक्ने स्थानीय अधिकारीहरूको भनाइ छ।

कालिञ्चोक गाउँपालिकाको वडा नं १ सबैभन्दा टाढाको दुर्गम क्षेत्र भएकाले यसलाई पालिकाले पहिलो प्राथमिकतामा राख्नुपर्ने माग उठिरहेको छ। यस क्षेत्रमा यातायात सेवा राम्रोसँग सञ्चालन गर्न नसक्दा स्थानीयहरूलाई दैनिक आवागमन र सामान ढुवानीमा कठिनाइ भएको छ।

वडा नं ३ सम्म सुनखानी साङ्वा सडक कालोपत्रे भइसकेको छ तर सिगटीदेखि माथिको सडक अझै स्तरउन्नति गर्नुपर्ने अवस्था छ। स्थानियहरूले पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, तथा अन्य कार्यपालिका सदस्यहरूलाई दुर्गम क्षेत्रका १ र २ नं वडाहरूलाई प्राथमिकतामा राखेर शीघ्र विकासका योजना कार्यान्वयन गर्न आग्रह गरेका छन्।

अहिलेको प्राथमिकतामा वडा नं १ का बासिन्दाहरूले तिहार अघि बाटो सफा र सुचारू गराउन सहयोगी प्रयासको अपेक्षा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *