नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीद्वारा आयोजित पाँचौं “दशैं धमाका” कार्यक्रम भव्यताका साथ सम्पन्न

0Shares

नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीद्वारा आयोजित पाँचौं “दशैं धमाका” कार्यक्रम भव्यताका साथ सम्पन्न

सोमबार २८ असोज २०८१

थाङ्मीचागु डटकम सम्बादाता

नेपाली महिला समाज कुर्दिस्तान, सुलेमानीले आयोजना गरेको “नेपाली हिन्दुहरुको चाड विजयादशमीको पावन अवसरमा शुभकामना आदानप्रदान तथा दशैं धमाका कार्यक्रम २०८१” भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा करिब ३०० जना नेपालीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई झनै आकर्षक र सफल बनायो।

कार्यक्रमको संयोजन सरिता बल तामाङको नेतृत्वमा सम्पन्न भएको थियो भने अध्यक्षता श्रीमती सोभा भुजेलले गर्नुभएको थियो। प्रमुख अतिथिका रुपमा प्रवासी एकता समाज सुलेमानीका अध्यक्ष सनम सिंह तामाङको उपस्थिति रहेको थियो। साथै, विभिन्न संघ-संस्थाका प्रमुख र प्रतिनिधिहरूले पनि आ-आफ्नो उपस्थिति जनाएर कार्यक्रमलाई थप गरिमामय बनाएका थिए।

कार्यक्रमको प्रमुख आकर्षण राष्ट्रिय कलाकार सुरेश लामाको सशक्त सांगीतिक प्रस्तुति थियो। लामाले नेपाली सांगीतिक धुन र लोकप्रिय गीतमार्फत उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरे। त्यससँगै, स्थानीय कलाकारहरूको प्रस्तुति पनि विशेष रह्यो, जसले नेपाली संस्कृति र परम्परालाई प्रवासी भूमिमा पनि जीवन्त राख्न मद्दत पुर्यायो।

उद्घाटन मन्तव्यका क्रममा प्रमुख अतिथि सन्मसिंह तामाङले प्रवासी भूमिमा यस्ता चाडपर्वले समुदायलाई कसरी एकत्रित र सशक्त बनाउन सक्छ भन्ने विषयमा प्रकाश पार्दै आयोजक टोलीलाई कार्यक्रमको सफलताका लागि धन्यवाद दिनुभयो। उहाँले नेपाली चाडपर्वले हाम्रो सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रमको संयोजक सरिता बल तामाङले कार्यक्रम सफल बनाउन अहोरात्र खटिने सम्पूर्ण सहयोद्धा साथीहरू र आफ्नो टोलीलाई विशेष धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा पनि अझ सशक्त रूपमा यस्ता कार्यहरूमा लाग्न सबैलाई आह्वान गर्नुभयो। उहाँले नेपाली महिला समाज कुर्दिस्तानको यो प्रयासले प्रवासी नेपाली समुदायबीच आपसी सद्भाव, एकता, र सांस्कृतिक पहिचानलाई मजबुत बनाउन योगदान पुर्‍याएकोमा गर्व व्यक्त गर्नुभयो।

यो कार्यक्रमले प्रवासी भूमिमा रहेका नेपालीहरूको लागि आफ्नो मौलिक चाडपर्वको जगेर्ना गर्दै आपसी भाइचारा र एकता सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *