मानवशास्त्री ढकालको ‘इतिहासअघिको इतिहास’ सार्वजनिक

0Shares

मानवशास्त्री ढकालको ‘इतिहासअघिको इतिहास’ सार्वजनिक

थाङमिचागु डटकम संवाददाता

१८ साउन, काठमाडौं । मानवशास्त्री सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास’ शुक्रबार राजधानीको प्रज्ञा प्रतिष्ठान, कमलादीमा विमोचन गरिएको छ ।

अध्येताहरू अनुभव अजीत, कैलाश राई, सञ्जय शर्मा, सविन निङलेखु र लेखकले सयुंक्त रूपमा किताब विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा अनुभव अजीतले यो किताबले पाठकहरूलाई आजभन्दा लाखौं वर्षअघिको मान्छेको इतिहासतिर पुर्‍याउने बताए । ‘गलत राजनीतिले इतिहासलाई कसरी तोडमोड गर्छ र गलत इतिहास स्थापित हुन्छ भन्ने वियषमा किताबले विमर्श गर्छ’, अजीतले भने, ‘नेपाली भाषामा यो किताब छापिनु एउटा सुन्दर पक्ष बनेको छ ।’ महिलाको नलेखिएको र लुकाइएको इतिहास पनि किताबले बुझ्न सघाउने उनले बताए ।

कैलाश राईले किताबले रोचक शैलीमा प्रागैतिहासिक कालको समय र मान्छेको कथा बुझाउने बताइन् । उनले भनिन्, ‘मान्छेको संस्कृतिको उद्विकास बुझ्न किताबले निकै सघाउँछ । मानव विकासको रोचक र रोमान्चकारी इतिहास सायदै यसअघि नेपालीमा लेखिएको थियो । त्यसैले किताब एक महत्वपूर्ण दस्तावेज हो ।’

मुन्दुमको विषय अघि सार्दै कैलाशले भनिन्, ‘लिखित इतिहासभन्दा अघिको समयलाई प्रागैतिहासिक काल मान्ने हो भने मन्धुमजस्ता श्रुति परम्परामा आधारित ज्ञानलाई पनि त्यही भनिनुपर्छ ।’

सविन निङलेखुले नेपाली सभ्यता र प्रागैतिहासिक काल बुझ्न किताब विशिष्ट सन्दर्भ सामग्री बन्न सक्ने बताए । ‘मानवशास्त्र अध्ययन, मान्छेको उद्भव किताबले पढाउँछ’, उनले भने ।

यस्तै सञ्जय शर्माले किताबले आगो आविष्कारदेखि पांग्राको आविष्कारसम्मको इतिहास र इतिहासको राजनीतिमाथि गम्भीर विमर्श गर्ने बताए । ‘प्रागैतिहासिक कालमा धर्म–महिला, नेपालको पुरातत्व, विश्वास परम्पराको इतिहास पनि किताबले सरल रूपमा बुझ्न सघाउँछ,’ उनले भने ।

आफ्नो किताबले मानव विगतको अध्ययनतर्फ थोरै भए पनि पाठकलाई रुचि जगाउन सके र विगतका अनेकन रहस्यजस्ता लाग्ने विषयमा केही जानकारी दिन सके आफू सफल भएको ठान्ने लेखक सुरेश ढकालले बताए ।

नेपाली भाषामा प्रकाशित ढकालको यो पहिलो किताबले सांस्कृतिक उद्विकासको निरन्तरता, क्रम र अवधिबारे प्रत्येक कालखण्डमाथि विमर्श गर्छ । किताब सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त हो । इन्डिगो इन्कले प्रकाशन गरेको किताबको मूल्य ५९९ रुपैयाँ छ ।

इतिहासअघिको इतिहास मानवशास्त्री ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *