साउदीको एउटा कम्पनीमा ३० नेपालीको बिचल्ली

0Shares

साउदीको एउटा कम्पनीमा ३० नेपालीको बिचल्ली
‘एक जना साथी सुतेकै ठाउँमा बिते, ९ जना भागे, हाम्रो पनि बिजोग छ’

थाङमिचागु डटकम संवाददाता

आइतबार साँझ सामाजिक सञ्जाल ह्वाट्सएपमा अपरिचित नम्बरबाट फोन आयो।

रामेछापका राजु मुंगरातीले साउदीबाट फोन गरेका रहेछन्।

उनको आवाज कापिरहेको थियो। ‘एक जना साथी सुतेकै ठाउँमा बिते। म्याम हामी पनि सकुशल फर्कन सकिएला जस्तो अवस्था छैन। पानी पिउन नपाएरै मरिन्छ होला। लौन कसरी हुन्छ हाम्रो उद्धारका लागि पहल गरिदिन पर्‍याे’ उनले एकै सासमा सुनाए।

काठमाडौंको सिनामंगलमा रहेको न्यू एसभी इन्टरनेसनल प्रालि र सामाखुसीमा रहेको अल अमल ओभर्सिज प्रालिबाट उनीसहित विभिन्न जिल्लाका ४० जना युवाहरू सफाइ ‘क्लिनर’ कामका लागि साउदी गएका हुन्। 

म्यानपावरले जेद्धास्थित अल मदिना कन्स्ट्रक्सन कन्ट्र्याक्टिङ कम्पनीमा त्यहाँको सरकारी निकायअन्तर्गत सडक सफाइको काम सुनाएको थियो।

‘नेपालमा महानगरपालिका अन्तर्गत सडक सफाइको काम जस्तै साउदीको सरकारी निकायमार्फत सफाइको काम भनेर हामीसँग कसैसँग १ लाख ८० हजार, कसैलाई दुई लाख ५० हजारसम्म लियो तर भनेको जस्तो काम छैन,’ राजुले भने। 

अहिले उनीहरूलाई अर्को सिटी क्लिनिङ नामक सप्लाई कम्पनीमा लगेर जेल सफा गर्ने, भाँडा माझ्ने तथा ठूलाठूला भारी बोक्ने काम लगाएको उनीहरूको गुनासो छ।

‘कमाइ पनि महिनामा १३ सय रियाल (लगभग ४५ हजार नेपाली रूपैयाँ) भनेको थियो। खान बस्न अरू केही खर्च गर्नु पर्दैन भनेको थियो। सुरूका केही महिना त तलब नै दिएन। अहिले नाै सय रियाल (३१ हजार नेपाली रूपैयाँ)  दिन्छ। काम पनि आफ्नो ज्यानले नधान्ने भारी बोक्नुपर्छ अनि जेल सफा गर्नुपर्छ,’  उनले सुनाए। 

राजुका अनुसार उनीहरू ४० जना गएकोमा अहिले ३० जना मात्रै त्यहाँ छन्। एक जना साथी त सँगै सुतेको बेलामा बिहान मृतक भेटिए। दोलखाका ४३ वर्षीय तहल बहादुर थामी सुतेकै अवस्थामा ओछ्यानमा मृत फेला परेका थिए। थामीको दिनभरी कामको पेलान र खानपिन राम्रो नभएकै कारण मृत्यु भएको राजुको भनाइ छ। 

‘यहाँको गर्मी कस्तो हुन्छ भनिरहनु नपर्ला यस्तो टन्टलापुर घाममा भारी बोकेर भनेको बेला पानी पिउन पनि पाइँदैन। खाना पनि राम्रो खान सकिँदैन। तनाव र यहाँ गतिलो खानपिन नभएरै रातीसँगै सुतेका साथी बिहान उठेनन्,’ उनले भने। 

राजुका अनुसार तहलबहादुर धेरै मेहनत गर्थे। काम चर्को गर्मीमा भारी काम थियो। सुरूमा त तलब नै पाएका थिएनन्। पछि तलब भनेको जति नहुँदा निकै चिन्तित देखिन्थे। 

‘परिवारको धेरै चिन्ता लागेको छ। ऋण छ भन्थे। सबैभन्दा छिटो उठ्ने उनी एक बिहान अबेरसम्म पनि उठेनन्। कोल्टे फेरेर सुतेका थिए। काममा जाने बेला भयो भनेर धेरै बोलायौं। के बोल्थे। उठेनन्। अनि कम्पनीलाई खबर गर्‍याैं,’ उनले भने।

तहलबहादुरको मृत्यु भएको महिना दिन बितिसक्दा पनि शव अझै नेपाल आएको छैन। गफिँदै सँगै सुतेका साथीको भोलिपल्ट मृत्यु भएको देख्दा उनीहरू पनि अतालिएका छन्।

‘केही राम्रो व्यवस्था छैन। हामी पनि कुन दिन सुतेको सुतै भइने हो भन्ने पीर लाग्छ कति साथी त केही उपाय नलागेपछि कम्पनी छाडेर भागिसके,’ सर्लाहीका अजमद अन्सारीले भने।

उनीहरूका अनुसार त्यहाँको दुःख झेल्न नसकेर उनीहरूसँगै काम गरिरहेका ९ जना कम्पनीबाट भागे। 

समस्या समाधान गरिदिन सुरूदेखि नै उनीहरूले कम्पनीसँग कुरा गरेको तर कम्पनीले नसुने झैं गरेको उनले बताए।

‘हामीले म्यानपावरलाई पनि भन्यौं। म्यानपावरले पैसा पाइहाल्यो अब के सुन्थ्यो वास्ता गरेन। हामी मरे पनि बाँचे पनि उनीहरूलाई मतलब नहुने रहेछ,’ उनले भने। 

उनीहरूका अनुसार त्यहाँ एक जार पानीको दुई रियाल ७० रूपैयाँ पर्छ। तर खाना पकाउने, नुहाउने, शौचालय जाने लगायत सबै पानी किन्दा पानीमै धेरै खर्च हुन्छ। ‘खान बस्न अरू केही खर्च गर्नु पर्दैन’ भनेको थियो,’ म्यानपावर कम्पनीलाई उद्धृत गर्दै राजुले भने,’ यहाँ मरिमरी काम गर्दा पनि आधा कमाइ त पानी किन्न मै सकिन्छ। ऋण काडेर कमाउन आएको यति दुःख गर्दा पनि पेटभरी खान्छु भन्न पनि सोच्नुपर्छ अनि कसरी बाँच्नु?’

राजु पहिलो पटक वैदेशिक रोजगारीका लागि साउदी पुगेका हुन्। त्यहाँ जाँदा पनि ऋणपान गरेर म्यानपावरलाई दुई लाख ५० हजार रूपैयाँ बुझाएको उनले बताए।

गाउँमै ज्यालादारी काम गरिरहेका उनले विदेशमा राम्रो कमाइ हुने सुनेपछि श्रीमती र छोरालाई पनि काठमाडौंमा राखेका छन्। तर, अहिले काठमाडौंमा छोरा पढाउन स्कुल फी तिर्ने खर्च पठाउन नसक्दा निकै चिन्तित छन्। मनमा भक्कानो फुटाउँदै काम गर्छन्। बरू त्यहाँबाट फर्काइदिए नेपालमै केही काम गरेर छोरा पढाउने खर्च जोहो गर्न सक्थेँ कि भन्ने विचार उनलाई आएको छ।

राजु मुंगरातीसमेत शंकर मण्डल, सुशीलकुमार मण्डल, राम मण्डल, हरि माझी, नकिम मिया, अजय साह, रामलोचन महतो, नवीनकुमार राम, कुलदीप चौधरी, मोहमद बसिरूद्दिन मिया, सुदिशकुमार यादव, रामदरेश राय, रामविश्वास महरा, भुनेश्वर बैठा धोबी, शिवराम साह तेली, निरञ्जनराम यादव, रामेश्वर महतो, सुजन तिमल्सिना, किसुन सहनी, जिबछ ठाकुर बरही, मोहमद अजमत अन्सारी, उमेश महतो, अनवर अन्सारी, जितेन्द्र अधिकारी, कृष्णबहादुर राना, मैते तामाङ, पेम्बा तामाङ र मनबहादुर थापा मगर छन्।

नेपालमा गरेको करार सम्झौतामा साउदीको अल मदिना कन्स्ट्रक्सन कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्ने भनिएको छ। करार सम्झौता पत्रमा पारिश्रमिक मासिक बेसिक नै एक हजार साउदी रियाल भनिएको छ।

त्यसमा खान बस्न भत्ता ३०० रियाल गरी १३ सय हुने म्यानपावरले आफूहरूलाई विश्वास दिलाएर चर्को रकम असुलेको उनीहरू बताउँछन्।

आतेजाते टिकट कम्पनीले उपलब्ध गराउने, भिसा शुल्क नलाग्ने, म्यानपावरको सेवाशुल्क कामदारले सरकारले तोकेको अनुसार मात्रै तिर्नुपर्ने उल्लेख छ। सरकारले साउदी जान १० हजार रूपैयाँ सेवाशुल्क तोकेको भए पनि आफूले म्यानपावरलाई दुई लाख ५० हजार बुझाएको उनले बताए।

‘तर प्रमाण दिएको छैन। अहिले म्यानपावरले फ्रि भिसा फ्रि टिकटमा पठाएको भन्छ,’ अन्सारीले भने। 

अजमद अन्सारीसँग गरिएको सम्झौता पत्रमा भवनको छत सफा गर्ने काम भनेर उल्लेख गरिएको छ। अहिले उनलाई सम्झौता अनुसार काम छैन। तलब पनि सुख्खा मासिक ९०० साउदी रियाल मात्रै छ। त्यो पनि नियमित आउँदैन। सुरूमा त तीन महिना तलब नै नदिएको उनीहरू बताउँछन्। 

‘अहिले पनि नियमित तलब आउँदैन। एक महिनाको तलब तीन महिना झुलाएर दिन्छ। खाना पानी किन्न पनि कहिलेकाहीँ पैसा हुँदैन। यस्तो दुःखले बाँच्नु परेको छ। हामीलाई जतिसक्दो नेपाल फर्काइयोस्,’ उनले भने। 

आफूहरूलाई जति सक्दो छिटो देश फर्काइदिन गुहार गर्दै उनीहरूले साउदी जेद्धास्थित नेपाली कन्सुलेट जनरलमा उजुरी दिएका थिए।

२१ अप्रिल २०२४ मा कन्लेसुलेट जनरलमा गुनासो पुगेपछि दूतावासले २२ अप्रिलमै यसबारे सम्बन्धित म्यानपावर कम्पनीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो। र, समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको थियो। त्यसपछि पनि समस्या समाधान नभएपछि दूतावासको टोलीले रोजगारदाता र श्रमिकहरूसँग छलफल गरेको थियो।

छलफलका क्रममा रोजगारदातासँग श्रमिकले श्रम सम्झौतामा संलग्न कागजातमा उल्लेख भएभन्दा कम तलबमा काम गर्न सहमति गर्न बाध्य भएको उल्लेख गर्दै कन्सुलेट जनरलले विभागलाई पत्र पठाएको छ। त्यस्तै, दुई महिनाको तलब पनि नपाएको उल्लेख गरेको छ। श्रमिकहरूको अकामाको म्याद पनि गुज्रिएको र नवीकरण नगरी कम्पनीले काम लगाएको उल्लेख छ। 

त्यस्तै, श्रमिकहरूको बीमा समेत नगरी काम लगाएका कारण उपचारमा समस्या देखिएको, श्रमिकहरू बिरामी भएर उपचार गर्नुपर्ने अवस्थामा उनीहरूको कमाइले नधान्ने अवस्था रहेको कन्सुलेट नजरलले औंल्याएको छ।

गत असार १६ गते कन्सुलेटले विभागलाई लेखेको पत्रमा त्यहाँ एक जनाको मृत्यु भएको र एक जना श्रमिक मात्रै भागेको उल्लेख छ। कन्सुलेटले सम्बन्धित म्यानपावरलाई जबाफदेही बनाउन वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छ। 

विभागका अधिकारीहरू यसबारे अनुसन्धान भइरहेको बताउँछन्।

यसबारे सम्बन्धित म्यानपावर कम्पनीहरूसँग कुरा गर्दा म्यानपावर कम्पनीहरूले सहजीकरणका लागि त्यहाँका रोजगारदातासँग पहल गरिरहेको बताएका छन्। न्यू एसभी मेनपावरका सञ्चालक गङ्गा श्रेष्ठले सहजीकरणका लागि यहाँबाट प्रतिनिधि पठाइसकेको बताए। 

‘पानीको समस्या समाधानका लागि हामीले कुरा गरिरहेका छौं। तलबको कुरा त हामीले नाै सय रियाल नै भनेर पठाएका हौं। उनीहरूले ओभरटाइम भएन भनेर कराएका हुन्। अरू त्यस्तो समस्या होइन क्लिनर काम भनेपछि जे सफा गर्न लगाउँछ त्यो गर्नुपर्‍यो नि होइन र?,’ उनले भने। 

उनले श्रमिकहरूलाई फ्रि भिसामा पठाएको दाबी समेत गरे।

उनले श्रमिकहरूलाई नाै सय रियाल पारिश्रमिक भनेर लगेको बताए पनि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति गराउँदा बेसिक एक हजार रियाल भनेरै गराएको देखिन्छ। आफ्नो प्रतिनिधि त्यहाँ पुगिसकेकाले केही दिनमा नेपाल फर्काउने वा त्यहाँको समस्या समाधान गरेर काम लगाउने भन्ने निर्क्यौंल गरिने बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *