राष्ट्रपति निवास पुगेर केपी ओलीले पेस गरे प्रधानमन्त्रीमा दाबी

0Shares

राष्ट्रपति निवास पुगेर केपी ओलीले पेस गरे प्रधानमन्त्रीमा दाबी

थाङमिचागु डटकम संवाददाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारै राष्ट्रपति निवास पुगेर नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले शीतल निवास पुगेर दाबी पेस गरेका हुन्।

दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बराल लगायत शीतल निवास पुगेका थिए।

दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष केही बेरअघि दाबी पेस गरिएको कांग्रेस र एमालेद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए।

राष्ट्रपति पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदलाई नै कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *