आफ्नो घर जोखिममा परेपछि छिमेकीकोमा सरे, त्यही घर पुरियो पहिरोले

0Shares

आफ्नो घर जोखिममा परेपछि छिमेकीकोमा सरे, त्यही घर पुरियो पहिरोले

थाङमिचागु डटकम संवाददाता

शनिबार दिउँसो स्याङ्जाको बिरूवा गाउँपालिका- २ लामाखेतस्थित ईश्वरी लम्सालको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा सोही वडाको माझकोट बस्ने ६५ वर्षीया गुञ्जेश्वरी शर्मा मरासिनी, ६७ वर्षीया हरिमाया शर्मा र ७१ वर्षीय माधव शर्मा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

पहिरोले घर पुरिँदा पाँच जना घाइते भएको डिएसपी रानाले जानकारी दिए।

घाइतेहरूमा ५३ वर्षीया ईश्वरी लम्साल, ५५ वर्षीय तीर्थ लम्साल, हरि लम्साल, चन्द्रा केसी र रेनुका लम्साल छन्।

उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

डिएसपी रानाका अनुसार मृतक तीनै जना ईश्वरीका छिमेकी हुन्। उनीहरू ६ नम्बर वडाकै स्याङ्दी भन्ने स्थानका हुन्।

शनिबार बिहान उनीहरूको घरमाथि पहिरो गएपछि वडाको समन्वयमा प्रहरी सहितको टोलीले तीन जनालाई स्थानान्तरण गरी ईश्वरीको घरमा राखिएको थियो।

बिरूवा गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण बहादुर क्षेत्रीका अनुसार उक्त पहिरो आउने सम्भावना नरहेको निश्चय गरेर वडाले तीनै जनालाई ईश्वरीको घरमा राखेको थियो।

वडाध्यक्ष क्षेत्रीका अनुसार माधव र गुञ्जेश्वरी श्रीमानश्रीमती हुन्। हरिमाया उनीहरूका छिमेकी। माधव र गुञ्जेश्वरीका एक छोरा सँगै बस्थे। हरिमायाका दुई छोरा रोजगारीका लागि भारतमा छन्।

शनिबार पहिरो जाँदा हरिमायाका नाति पनि सँगै घरबाट भागेका थिए। १४ वर्षका उनी ७ कक्षामा पढ्छन्।

वडाध्यक्ष क्षेत्रीले दिउँसो खाना खाने क्रममा घरमाथिबाट अकस्मात पहिरो खसेर स्याङ्दीबाट स्थानान्तरण गरी ल्याइएकाहरूकै मृत्यु भएको बताए।

‘हामीले सुरक्षित भनेर यहाँ ल्याएर राख्यौं, पहिरो जान्छ भनेर एक प्रतिशत पनि सोचेका थिएनौं। नसोचेको घटना भयो,’ उनले भने।

घरमाथि सामुदायिक वन र तल ज्याग्दी खोला छ।

पहिरो जाँदा हरिमायाका नाति र माधवका छोरा साथीहरूसँग खेल्न बाहिर गएका थिए।

‘घरबाहिर भएर उहाँहरू बाँच्नुभयो,’ वडाध्यक्ष क्षेत्रीले भने।

घटनाबाट गाउँ स्तब्ध बनेको उनले बताए।

ज्याग्दी खोलाको कटानले अन्यत्र पनि बाढी पहिरोको जोखिम रहेको र त्यस्ता ठाउँका बासिन्दाहरूलाई सतर्क गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *