माधव नेपालले गठबन्धन बैठकमा राखेका तीन प्रस्ताव’एकीकृत समाजवादीलाई कम्तीमा एक मुख्यमन्त्री चाहिन्छ’ ।।।

0Shares

माधव नेपालले गठबन्धन बैठकमा राखेका तीन प्रस्ताव
‘एकीकृत समाजवादीलाई कम्तीमा एक मुख्यमन्त्री चाहिन्छ’ ।।।

थाङ्मी चागु डट कम संवाददाता
काठमाडौं, चैत १८
सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान राखेको छ।

आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धन पाँच दलका दलका शीर्ष नेताहरूको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ७ मध्ये एउटा प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेका हुन्।

अध्यक्ष नेपालको उक्त अडानमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहमत भएनन्। सत्ताघटक एमाले र माओवादी नै अध्यक्ष नेपालका अडानमा सहमत नदेखिएपछि गठबन्धन बैठक बिनानिष्कर्ष सकिएको थियो।

बैठकमा अध्यक्ष नेपालले कम्तीमा एउटा प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री चाहिनेसहित विभिन्न दाबी पेस गरेका थिए।

संवैधानिक निकायका नियुक्तिमा गठबन्धन दलहरूको समान भागबन्डा हुनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो। ‘नत्र यथास्थितिमा प्रदेश सरकार गठन गर्न र जोगाउन हाम्रो कुनै भूमिका हुने छैन,’ अध्यक्ष नेपालका भनाइ उद्धृत गर्दै एक नेताले भने।

एकीकृत समाजवादीले आफूहरूलाई कम्तीमा एक मुख्यमन्त्री, संवैधानिक निकाय र राजनीतिक नियुक्तिहरूमा समान हिस्सेदार बनाउनुपर्ने अडान राखेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताघटक दलहरू कुनै सहमतिमा पुग्न नसक्दा त्यसको असर बागमतीमा देखिएको छ। बागमती मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिने तयारी गरेका छन्। तर एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत दिन नसकिने बताएको छ।

एकीकृत समाजवादी बागमती संसदीय दलको बैठकले यथास्थितमा मुख्यमन्त्री जम्कट्टेलाई विश्वासको मत नदिने निष्कर्ष निकालेको हो।

थाङ्मी चागु डट कम सँग कुरा गर्दै एकीकृत समाजवादी बागमती संसदीय दल नेता कृष्ण खनालले यो गठबन्धन कुनै विधि, प्रक्रिया र सिद्धान्तका आधारमा नबनेको र विशुद्ध सत्ताका लागि भएकाले सत्ता भागबण्डामा आफूहरूको हिस्सेदारी हुनुपर्ने बताए।

उनले आइतबार बिहान काठमाडौंमा भएको गठबन्धनका पाँच दलका पाँच अध्यक्षको बैठकमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसबारे पार्टीको प्रष्ट धारणा राखिसकेको पनि बताए।

‘हाम्रो अध्यक्षज्यूले बालुवाटारको बैठकमै प्रष्ट कुरा राख्नु भएको छ। त्यहाँ दलहरूबीच कुरा नमिलेपछि हामीले बागमतीमा यथास्थितिमा माओवादी नेतृत्वको सरकारलाई विश्वास मत नदिने निष्कर्ष निकालेका हौं,’ उनले भने।

समाजवादीबाट कोशीमा ४, मधेसमा ७, बागमतीमा ७, गण्डकी एक (दीपक मनाङ्गे), कर्णालीमा १, लुम्बिनीमा १ र  सुदुरपश्चिममा ४ जना सांसद छन्।

यसअघि  एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्डबीच प्रदेशका मुख्यमन्त्रीहरूबारे सहमति भएको थियो। सहमतिअनुसार कोशी, गण्डकी र कर्णालीमा एमाले, बागमती र लुम्बिनीमा माओवादी, मधेसमा जसपा मुख्यमन्त्री बन्ने तय भएको थियो।

नागरिक उन्मुक्ति पार्टी सहमत भए उक्त पार्टीबाट सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउने सहमति दुई अध्यक्षले गरेका थिए। सोहीअनुसार बागमतीका मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिने तयारी गरेका थिए। तर समाजवादी अध्यक्ष नेपालको अडानले बागमतीमा जम्कट्टेलको सत्ता निरन्तरता धरमरमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *