नेकपा एसले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन आयोजना गर्ने

0Shares

नेकपा एसले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन आयोजना गर्ने

‘मुलुकको रूपान्तरणकारी एजेन्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गरिने’
काठमाडौँ — नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको छ । मंगलबारदेखि सुरु भएको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले मुलुकको रूपान्तरणकारी एजेन्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गरिने पनि बताए ।

प्रवक्ता खतिवडाले बैठकले पार्टीमा युवा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशनअगावै युवा विद्यार्थीलक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले देशभर पार्टीको विस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरूमा बहुमत ल्याउन सक्नेगरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र साङ्गठनिक प्रयासहरू त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडाहरुमा कमिटी गठन र सबै कमिटीहरुले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले जानकारी दिए ।

१५ दिन पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनैपनि तहका कमिटीका अध्यक्ष र सचिवहरुलाई उक्त जिम्मेवारीबाट मुक्त हुनका लागि आग्रह गरिने र त्यस्ता पदाधिकारीलाई अन्य जिम्मेवारी प्रदान गरी निर्णय कार्यान्वयन गरिने उनले बताए ।

बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ । बैठकले देशका विभिन्न स्थानहरुमा दलितको घर जलाउने, निर्माणाधीन घर भत्काउने, अन्तरजातीय विवाह गर्नेहरूलाई झुटा मुद्दामा फसाउनेलगायतका दलितमाथि हुने जातीय छुवाछुत र भेदभावको घटनाको भर्त्सना गरेको छ । जातीय छुवाछुत जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न आवश्यक कदम नेपाल सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *