नवलपरासीको बाबा बर्दगाेरीया धाममा उत्खननका क्रममा भेटिए शिखर शैलीका भग्नावशेषहरू

0Shares

नवलपरासीको बाबा बर्दगाेरीया धाममा उत्खननका क्रममा भेटिए शिखर शैलीका भग्नावशेषहरू

सुरेश यादव,नवलपरासी/जेठ ३२ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ स्थित श्री बाबा बर्दगाेरीया धाम विकाश संस्थामा शिखर शैली मन्दिरका भग्नावशेषहरू भेटिएका छन् । दुई हप्तादेखि पुरातात्विक विभागले साे क्षेत्रमा गरेको उत्खननका क्रममा त्यस्ता किसिमका भग्नावशेषहरू फेला परेकाे हाे ।

पुरातत्व विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको चार सदस्यीय टोलीले मन्दिर क्षेत्रको तीन स्थानबाट उत्खनन् सुरु गर्दा शिखर शैली मन्दिरमा प्रयोग हुने वस्तुहरूका अंश (गजुरहरू, कार्नेसहरू, एसडीहरू, पिलर, बेस लगायतका सामान र संरचना ) हरू फेला परेको पुरातत्वविद् ज्ञवालीले बताउनुभयाे ।

शिखर शैली मन्दिरका भग्नावशेषसँगै त्यस क्षेत्रको उत्खननका क्रममा झण्डै १ मिटर लम्बाइ, २० सेमि चौडाइ र ५ सेमि मोटाई भएको इँटाबाट बनेको इनार र देवीका मूर्तिहरू फेला परेका छन् । मन्दिर क्षेत्रको सांस्कृतिक इतिहास केलाउँदा यहाँ पाइएका प्राचीन वस्तुहरू १५ देखि १६ औं शताब्दीका रहेको ज्ञवालीले बताउनुभयाे ।

शिखर शैली मन्दिरको भग्नावशेष अहिले यत्रतत्र फैलिएकोले अब यस क्षेत्रको भौतिक सर्वेक्षण (जियोफिजिक्स) गरी क्षेत्रफल यकिन गर्न तत्काल आवश्यक रहेको पुरातत्वविद् ज्ञवालीले बताउनुभयाे । १६ सेन्टिमिटर खनेपछि बाट नै शिखर शैली मन्दिरका भग्नावशेष भेटिन थालेपछि उत्खननकाे काम राेकिएकाे छ ।

टोलीले जियोफिजिक्स आवश्यक रहेको रायसहितको प्रतिवेदन विभागमा दिइने ज्ञवालीले बताउनुभयाे । पहिलो पटक यसवर्ष उत्खनन् सुरु गरिएकाले प्रतिवेदनका आधारमा अर्को वर्षदेखि पुनः उत्खनन् हुन सक्ने उहाँले भनाइ छ । यहाँ फेला परेका वस्तुअंशहरूलाई टोलीले मन्दिर व्यवस्थापन समितिको जिम्मा लगाएर जाने छ ।

स्थानीयले देवीका मूर्तिहरू पाउनुअघि मन्दिर क्षेत्र नजिक रहेको भलुही खोला किनारमा २०५२ सालमा प्राचीन ताम्रपत्र भेटिएको थियो । त्यस ताम्रपत्रलाई पुरातात्विक विभाग पठाइएको थियो । १२ बुँद्दाको अक्षराकांश पद्दतिमा रहेको उक्त ताम्रपत्रमा उल्लेख भएका तत्कालीन राजा त्यस समयमा भएको अभिलेख नपाइएकाले त्यो पुष्टि हुन नसकेको र अनुसन्धान भइरहेको पुरातत्वविद्ध ज्ञवालीले बताउनुभयाे ।

मन्दिर नजिकै रहेको अमर पोखरीको जलले नुहाएमा चर्म रोग निको हुने विश्वासले पनि यस क्षेत्रको महत्व थप रहेको पाण्डेले भनाइ छ । यस श्री बाबा बर्दगाेरीया धाम विकाश संस्थामा विशेषगरी तीज र शिवरात्रिमा ठूलाे मेला लाग्ने गर्छ जहाँ नेपालका विभिन्न ठाउँदेखि मात्र नभई भारतसम्मका तीर्थालुहरू यस मन्दिरमा दर्शनका लागि आउने गर्दछन् ।

ताम्रपत्र पाएपछि स्थानीयले चासो दिएर खोजी गर्न थालेपछि त्यहाँ देवीका विभिन्न मूर्तिहरू फेला पर्न थालेका हुन् । किंवदन्ती अनुसार त्यस क्षेत्रमा विजय नाम गरेका राजा बस्ने र उनले सयौं गाईहरू पाल्ने गरेको उल्लेख छ । त्यस क्षेत्रमा निर्माण गरिएको मन्दिरमा बसाहा (साँढे) रहेको थियो । पछि त्यसलाई शिवधामका रूपमा विस्तार गरिएको किंवदन्तीमा उल्लेख भएको बाबा बर्दगोरिया धाम संरक्षण समितिका अध्यक्ष नरपति पाण्डेले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *